हिन्दु सम्राट बन्ने मोदीको अहंकार तोडियो
भारतको जनताले २०२४ को लोकसभा चुनावमा लोकतन्त्रलाई फेरि अर्थपूर्ण बनाएको छ। लोकतन्त्र भनेको एउटै विचार र आवाजको पूर्ण वर्चस्व होइन, यही यस लोकसभा चुनावको नतिजाको सन्देश हो। भारत जस्तो बहुधार्मिक र बहुसांस्कृतिक देशमा कुनै एक धर्मका मान्नेहरूलाई अलग-थलग पारेर उनीहरूको विरुद्धमा बहुसंख्यकवादी बहुमत जम्मा गर्ने विचार अझै पनि, बहुसंख्यकवादी हिन्दुत्वको १० वर्षको शासनपछि पनि भारतीय जनतालाई स्वीकार्य छैन, यो यस चुनावको नतिजाले स्पष्ट पारेको छ।
पछिल्लो १० वर्षदेखि निरंकुश बहुमतका साथ नरेन्द्र मोदीको नेतृत्वमा संघीय सरकार चलाइरहेको भारतीय जनता पार्टीलाई यस पटक जनताले बहुमत दिन अस्वीकार गरे। ५४३ सीट भएको संसदमा बहुमतका लागि आवश्यक २७२ भन्दा भाजपा धेरै टाढा छ। उसले जम्मा २४० सीट प्राप्त गरेको छ। ऊ अझै पनि सबैभन्दा ठूलो संसदीय दल हो र सम्भवतः आफ्ना सहयोगीहरूसँग मिलेर कुनै तरिकाले सरकार बनाउन सक्छ, तर यो स्पष्ट छ कि जनादेश नरेन्द्र मोदीको चुनावी अपीलको विरुद्धमा छ।
मोदीले बारम्बार हरेक संसदीय क्षेत्रमा जनतालाई भने कि उनीहरू अरू कसैलाई होइन, उनलाई नै मत दिइरहेका छन्। अर्थात् उनी नै हरेक क्षेत्रबाट चुनाव लड्दैछन् र जनताले मत दिँदा अरू कसैलाई होइन, उनलाई नै चुन्नेछन्। उनको यो अपील अस्वीकार भयो।
मोदीले आफ्ना मतदाताहरूसँग मुसलमान विरोधी जनादेश मागेका थिए। उनले आफ्ना मतदाताहरूलाई यो भनेर तर्साएका थिए कि विपक्षी दल कांग्रेसले उनीहरूको सम्पत्ति र अन्य संसाधनहरू खोसेर मुसलमानहरूलाई दिनेछ। आफ्नो चुनाव अभियानलाई मोदीले मुसलमानहरूको विरुद्धमा घृणा प्रचारमा बदले र भने कि विपक्ष हिन्दू विरोधी हो। भाजपालाई पूर्ण बहुमत नमिल्नु यसको संकेत हो कि यो घृणाको राजनीतिको वर्चस्व भारतमा निकै कठिन छ।
भारतको जनताले स्पष्ट भनेका छनु कि उसलाई प्रधानमन्त्रीको रूपमा कुनै सम्राट चाहिँदैन। मोदीले पछिल्लो १० वर्षमा आफूलाई एक हिन्दू सम्राटको रूपमा नै प्रस्तुत गरेका छन्। जनतालाई विभिन्न तरिकाले बुझाउने प्रयास गरियो कि मोदी वास्तवमा मुगलहरूको अत्याचारको बदला लिइरहेका छन् र पहिलो पटक भारतमा हिन्दूहरूको राज्य स्थापित भइरहेको छ। यो चुनाव अभियान पूर्ण रूपमा हिन्दुत्ववादी अपीलका साथ चलाइएको थियो। तर मोदीको भाजपालाई पूर्ण बहुमत नदिएर भारतको मतलाताले कि उसलाई यो स्वीकार्य नभएको स्पष्ट पारेका छन्।
यो चुनावको परिणाम धेरै दृष्टिकोणबाट असाधारण छ। चुनाव अघि सबैभन्दा ठूलो विपक्षी दल कांग्रेसको खाताबाट सरकारी निकायहरूले जबरजस्ती पैसा निकाले र पछि उसको बैंक खाता सिल गरियो। झारखण्ड र दिल्लीका मुख्यमन्त्रीहरूलाई गिरफ्तार गरियो र विपक्षी दलहरूका धेरै नेताहरूमाथि छापा मारियो र उनीहरूमाथि मुद्दा दायर गरियो।
चुनावको ठीक अघि सर्वोच्च अदालतको हस्तक्षेपपछि चुनावी बन्डको विवरण जारी गर्न सरकार बाध्य भयो। तब थाहा भयो कि भाजपालाई यी बन्डहरू मार्फत ६ हजार करोड रुपैयाँभन्दा बढी दिइएको छ। स्रोतको मामिलामा सारा विपक्ष मिलेर पनि उसभन्दा धेरै पछाडि थिए। यसरी एक साधनहीन विपक्षले धनबलयुक्त भाजपा विरुद्धमा चुनाव लड्नुपर्यो।
पछिल्लो १० वर्षदेखि भारतको ठूला मिडिया भाजपाको प्रचार तन्त्रमा बदलिएको थियो। यस चुनावको बेलामा पनि मिडियाले लगातार सरकार र भाजपाको प्रचार विभागको जस्तै विपक्षको विरुद्धमा अभियान चलाए।
यी सबैको साथमा भारतको इतिहासमा पहिलो पटक चुनाव आयोगले पनि खुलेआम भाजपाको पक्षमा काम गर्यो। उ मोदी र भाजपाद्वारा चुनाव आचार संहिताको बारम्बार उल्लंघन गर्दा पनि मौन बस्यो। विभिन्न ठाउँमा मतदाता सूचीमा हेरफेर गरिएको देखियो, धेरै ठाउँमा मुसलमानहरूलाई मत दिनबाट रोकियो, उनीहरूमाथि हिंसा गरियो, मतदान सुस्त पारियो।
यो भीषण प्रतिकूलताको बाबजुद पहिलो पटक एक अर्काको प्रतिद्वन्द्वी विपक्षी दलहरू एकसाथ आए र उनीहरूले एकसाथ 'इंडिया' गठबन्धनको ब्यानरमुनि चुनाव लडे। उनीहरू आफ्ना मतदाताहरूलाई विश्वास दिलाउन सफल भए कि यो चुनाव साधारण होइन र यस पटक भारतको संवैधानिक लोकतन्त्र खतरामा छ।
भाजपाका धेरै नेताहरूले भने कि उनीहरूलाई ४ सय सीट चाहिन्छ ताकि उनीहरूले संविधान बदल्न सकून्। भारतका दलित र वञ्चितहरूले बुझे कि संविधान मार्फत उनीहरूलाई जुन अधिकारहरू मिलेका छन्, ती सबै खोसिनेछन् र उनीहरूले भाजपाको ४ सय सीटको योजनामा पानी खन्याइदिए ।
जति हिन्दू युवाहरूसँग मेरो कुरा भयो, ती सबैले भने कि हिन्दू राष्ट्रको सपना देखाएर उनीहरूको वर्तमानलाई मोदी सरकारले नष्ट गरिदिएको छ। कुनै प्रकारको काम छैन, जागिर छैन। युवाहरूले देखे कि मोदी बढाइचढाइ र मुसलमान विरोधी घृणामा अल्झिएर आफ्नो निकम्मापनलाई लुकाइरहेका छन्। ठूलो संख्यामा युवाहरूले यस सरकारलाई गद्दीबाट उतार्नका लागि अभियान चलाए। जनताले विपक्षसँग मिलेर चुनाव लड्यो र भाजपालाई निरंकुश बहुमतभन्दा अघि नै रोक्यो।
मोदी र भाजपा नेताहरूको गालीगलौज र अपमानजनक भाषाको विरुद्धमा जनताले शालीनता, सभ्यता र सम्मान फिर्ताका लागि मतदान गरे। उनीहरुले त्यो खतरालाई पहिचान गरे जो मोदी नेतृत्वको भाजपाको रूपमा भारतको संवैधानिक विचारलाई नष्ट गर्न तत्पर छ।
यो सत्य हो कि विपक्षलाई पनि पूर्ण बहुमत मिलेको छैन। तर जनताले उसलाई लड्ने ताकत दिएको छ। यो जनादेश भारतमा धर्मनिरपेक्षतालाई सुरक्षित राख्न, अल्पसंख्यकहरूको अधिकारको रक्षा गर्न र एक बहुलवादी समाजको सम्मान गर्नका लागि हो। वा समानता, स्वतन्त्रता, न्याय र बन्धुत्वका मूल्यहरूको पक्षमा दिइएको जनादेश हो।
आशा छ कि भारतको संवैधानिक संस्थाहरूले यसको अर्थ बुझ्नेछन् र आफ्नो संवैधानिक दायित्व पूरा गर्ने हिम्मत पाउनेछन्।
यो जनादेश भारतीय जनता पार्टीका लागि पनि अवसर हो कि ऊ आफूलाई नरेन्द्र मोदीको अहंकारपूर्ण कब्जाबाट मुक्त गरोस् र एक सामान्य राजनीतिक दलको रूपमा काम गर्न थालोस्। अहिले भाजपामा सबै नरेन्द्र मोदीका अनुयायी मात्र रहेका छन्।
यी चुनाव नतिजाहरूले मौका दिएको छ कि भारत जो पछिल्लो १० वर्षमा हिन्दुत्वद्वारा नराम्ररी क्षत-विक्षत पारिएको छ, आफ्ना घाउहरूको उपचार गर्न सकोस्। यो उसको स्वास्थ्यको वापसीको सुरुवात हो।
(यो द वायर मा प्रकाशित दिल्ली विश्वविद्यालयका प्राध्यापक अपूर्वानंदको लेखको अनुवाद हो। हेडलाइन भने परिवर्तन गरिएको छ)
जेठ २३, २०८१ बुधबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।