लक्ष्मी मोटरको हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, प्रधानमन्त्रीले गरे उद्घाटन

लक्ष्मी मोटरको हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं : लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले नवलपरासीस्थित रामग्राममा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन गरेको छ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदूत  पार्क ते यन्ग, हुन्डाई मोटर भारतका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम लगायतको उपस्थितिमा प्लान्टको उद्घाटन गरिएको हो। 

कम्पनीको अनुसार ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी ह्युण्डाई मोटर एसेम्बली प्लान्ट, जसमा १४ हजार वर्ग मिटरको निर्माण क्षेत्र रहेको छ। त्यस्तै, ५ हजार इकाइको वार्षिक क्षमता भएको यस संरचनाले ह्युण्डाई मोटर कम्पनी (एचएमसी) को सबै मापदण्डको पालना गर्दै नेपालभर ह्युण्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य राखेको छ। 

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा  कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाई रहेको छ। 

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए। 

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए। 
‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ।’

प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीले सस्तोमा गाडी चढ्न पाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री नवलपरासी रामग्राम–६ मा रहेको एसेम्ब्ली प्लान्टमा पुगेर हुन्डाईको एसेम्बल गाडी पनि चढे। लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ।

प्रधानमन्त्रीले पहिलो उत्पादित भेन्यू गाडी चढेका हुन्। बजारको माग अनुसार नयाँ मोडलका गाडीहरू उत्पादन हुने कम्पनीले जनाएको छ।

२८ बैशाख, २०८१, २१:०८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।