आईपीएलमा रेकर्डमाथि रेकर्ड बनाउँदै हैदरावाद, १० ओभरमै पछ्यायो १६६ रनको लक्ष्य

आईपीएलमा रेकर्डमाथि रेकर्ड बनाउँदै हैदरावाद, १० ओभरमै पछ्यायो १६६ रनको लक्ष्य

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ।

बुधबार राति भएको खेलमा हैदरावादले लखनऊ सुपर जायन्ट्सले दिएको १६६ रनको लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो। जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ। रनरेटमा पनि सुधार गरेको हैदरावादले प्लेअफमा पुग्ने सम्भावना बढाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली लखनऊका निकोलस पुरन र आयुष बडोनीको उत्कृष्ट साझेदारीका कारण लखनउले हैदरावादलाई १६६ रनको लक्ष्य दिएको छ। हैदरावादका लागि ओपनिङ ब्याट्सम्यानले यो लक्ष्य १०औं ओभरको चौथो बलमै पूरा गरेर इतिहास रचे।

पहिला ब्याटिङ गर्दा लखनऊ सुपर जाइन्ट्सले पावरप्लेको ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र जोडेको थियो। ओपनर क्विन्टन डी कक २ रन बनाएर सुरूमै आउट भए भने मार्कस स्टोइनिसले ३ रन मात्र बनाउन सके।

कप्तान केएल राहुलले मध्यक्रममा सुस्त पारी खेल्दै ३३ बलमा २९ रन मात्र बनाए। राहुललाई कप्तान प्याट कमिन्सले पेभेलियनको बाटो देखाए। त्यसपछि २४ रनमा ब्याटिङ गरिरहेका क्रुणाल पाण्ड्या रनआउट भए। एक समय लखनउले ६६ रनमा ४ विकेट गुमाएको थियो भने आयुष बडोनी र निकोलस पुरनले पाचौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए।

निकोलस पूरनले २६ बलमा ६ चौका र १ छक्का सहित ४८ रन बनाए भने आयुष बडोनीले ९ चौका प्रहार गर्दै ५५ रनको महत्वपूर्ण इनिङ खेले। यी दुई ब्याट्सम्यानबीच ९९ रनको उत्कृष्ट साझेदारी थियो। निर्धारित ओभरमा लखनऊले ४ विकेटको नोक्सानीमा १६५ रन बनायो। सनराइजर्स हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट लिए भने प्याट कमिन्सले एक विकेट लिए।

१६६ रनको लक्ष्य पछ्याउने क्रममा ट्राभिस हेड र अभिषेक शर्माले तुफानी पारी खेले। पावरप्लेको पहिलो ६ ओभरमा दुवै ब्याट्सम्यानले १०७ रन बनाए भने लक्ष्य ९.४ ओभरमा पूरा गरे। अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का सहित ७५ रन बनाए।

अर्को छेउमा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाए। हेडले आफ्नो इनिङ्समा ८ चौका र ८ छक्का प्रहार गरे। हेड र अभिषेकको अगाडि लखनउका सबै बलर प्रभावहीन साबित भएका थिए।

२७ बैशाख, २०८१, ०७:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।