पारिवारिक रिसइबी साँध्न ३ वर्षीय बालिकालाई बिस्कुट खुवाएर फकाउँदै घाँटी थिची हत्या, छिमेकी आमाछोरी पक्राउ

पारिवारिक रिसइबी साँध्न ३ वर्षीय बालिकालाई बिस्कुट खुवाएर फकाउँदै घाँटी थिची हत्या, छिमेकी आमाछोरी पक्राउ

काठमाडौं : नाबालिका हत्या गरेको आरोपमा छिमेकी आमाछोरी पक्राउ परेका छन्। 

सिराहाको सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका रमेशकुमार यादवकी ३ वर्षीय छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका छिमेकी ४७ वर्षीय सोनादेवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको हो। 

उनीहरूलाई गत वैशाख १४ मा घरैबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए।

उनका अनुसार दुवै आमाछोरीविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा सिराहा जिल्ला अदालतबाट वैशाख १५ गतेदेखि लागू हुने गरी पहिलोपटक सात दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार वैशाख १२ गते बिहानदेखि हराएकी नाबालिका खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि खोजतलास गर्ने क्रममा ३ दिनपछि राति करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने मसुरोको झ्याङ्टाभित्र नाबालिकाको शव कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो।  

पछिल्लो एक वर्षदेखि पारिवारिक झै-झगडाको रिसइबी साँध्न धनिकलालको घर-आँगनमा खेल्दै पुगेकी नाबालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पुर्याएर आमा छोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

छिमेकी धनिकलाल भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ।  

२० बैशाख, २०८१, १५:२६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।