उपनिर्वाचनको तयारी तीब्रता, सेना परिचालन गर्न स्वीकृति

उपनिर्वाचनको तयारी तीब्रता, सेना परिचालन गर्न स्वीकृति

काठमाडौं : यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्। राष्ट्रपति पौडेलले यही शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन। 

प्रवक्ता भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो। नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ।

प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि तयारी धमाधम भइरहेको छ। 

इलाम २ लागि जिल्ला निर्वाचन कार्यालयले बिहीवार राखेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको छ। बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो। 

अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ।

संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको ब्लुबुक र लाइसेन्सको फोटोकपी पेस गरेमा पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ। मतदानको गोपनीयता भंग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ।

एक सय ४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत गरी तीन सय सात जनालाई सक्रिय गराएको छ। 

कर्मचारीलाई मतदान केन्द्रमा पुगेपछि कसरी मतदानस्थल निर्माण गर्ने, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिको मतदान कसरी व्यवस्थापन गर्ने, मतपेटिका निर्माण, मतपेटिका देखिने गरी कसरी राख्ने, मतदान सम्पन्न भएपछि तयार पारिने मुचुल्का, मतपोटिका बन्दलगायत विषयमा कर्मचारीहरूलाई तालिम दिइसकेको बताइएको छ।

इलाम २ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन्। यो क्षेत्रमा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका गरी छ स्थानीय तहका ४२ वटा वडा छन्। यो क्षेत्रमा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष र अन्य दुई गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्।

बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भइसकेको छ। 

१३ बैशाख, २०८१, १४:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।