EXCLUSIVE : गौरका कुख्यात कुखुरा तस्कर मोतिम जोसँग प्रहरी पनि डराउँछ
रौतहट (गौर) : २०८० फागुन ३, रौतहटको इशानपुर–५ मोतीपुरमा धमाधम भारतबाट साइकलमा जिउँदो कुखुरा ल्याइरहेका थिए। १३ देखी १८ वर्षका किशोर समूहले ल्याएका कुखुरा रहिस खानले सञ्चालन गरेको आलम पोल्ट्री फर्ममा लगे।
भारतीय सीमा जोडिएको रौतहटका अधिकांश पोल्ट्री फर्मको धन्दा खुल्ला सिमानाको दुरुपयोग गर्दै भारतबाट कुखुरा ल्याउने, यता नेपालमा रहेको आफ्नो खोर भर्ने अनि बिहान नहुँदै नेपाली उत्पादन भनेर बजारमा पठाउने गरेको खुल्यो।
करिब पाँच दिनको रिपोर्टिङकोक्रममा रौतहटमा भारतबाट कुखुरा तस्करी गर्नेमा भोला पोल्ट्री फर्म (बोधिमाई नगरपालिका) राजु पोल्ट्री फर्म, आलम पोल्ट्री फर्म (राजपुर नगरपालिका) मुस्कान पोल्ट्री फर्म संलग्न देखिए।
यी मध्ये राजु पोल्ट्री फर्मका सञ्चालक मोतिम मियाँ राकी, रहिस खान, राम प्रवेश साह बढी सक्रिय देखिए।
रौतहट सरुअठामा कुखुरा व्यवसायी रञ्जित रामका अनुसार मुल्तिमको तस्करीको जालो ठुलो छ। *मोतिमले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नामका आधारमा तस्करीको जालो फैलाएको देखियो।
‘मोतिम कुखुरा, भैँसी, लत्ताकपडा, खाध्यानको सामान समेत तस्करी गर्छन्। मुस्लिम गाउँमा घर छ, कोही बोल्न सक्दैनन्। प्रहरी प्रशासनलाई पैसा दिएर सामान ओसार पसार गर्छन्। ठुलो नेटवर्क छ मोतिमको’ उनले दाबी गरे।
मोतिमले उकेरासँग आफू कुनै तस्करीमा संलग्न नरहेको दाबी गर्दै प्रमाण देखाउन भने। मोतिमबारे जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझ्दा ४ पटक उजुरी परेको देखियो। २०६१ भदौ २९, २०७४ चैत्र २९, २०७५ मंसिर ११ गते सार्वजनिक अपराध (तस्करी सम्बन्धी) र २०७९ भदौ ८ मा ज्यान मार्ने उद्योगमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रौतहटमा तथ्याङ्क देखियो। उनले निर्बाध रूपमा अहिले पनि उस्तैगरि तस्करी गरिरहेका र यसबारे प्रहरी पनि जानकार देखियो।
रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी दिलीप घिमिरेले मोतिम नामुद तस्कर भएको बताए।‘मोतिम विरुद्ध विभिन्न समयमा उजुरी परेका छन्। तर मुद्दा चलेको छैन। उनी नामी तस्करी रैछन्’ उनले भने।
रौतहटमा रहेको नाका गौर–बर्गेनियाको मुख्य गेट लगायत सहायक नाकाबाट पनि सहजै कुखुरा तस्करी हुने गरेको देखियो।
उकेराकर्मीले राजपुर नगरपालिका ५ मोतीपुरको नाकाबाट रहिस खानले सञ्चालन गरेको आलम पोल्ट्री फर्ममा लग्दै गरेको कुखुराबारे उक्त नाकाका सीमा सुरक्षा बलमा कार्यरत हवलदार मित्र कोइरालालाई मुख्य नाकाबाट कुखुरा गइरहेको जानकारी गराउँदा उनले नाकाबाट नगएको दाबी गरे।
तर पछि भिडियो प्रमाण देखाउँदा उनले मुख्य बाटोबाट नभई अगाडि, वा पछाडिको बारीबाट कुखुरा गएको हुनसक्ने जवाफ दिए।
‘हामी यहाँ बसिरहेका छौँ। मुख्य बाटो भएर गएको छैन। अलि परबाट गएको होला। अब त्यता खेद्न जाँदा मूल बाटोबाट आउने सामान चेक गर्न पाइँदैन’ उनले दाबी गरे।
तस्करीमा ‘पत्रकार’देखी ‘स्थानीय’ डिलरसम्म
रौतहटमा कुखुरा तस्करीको जालोबारे उकेराले गरेको खोजमा रौतहट एक्सप्रेसका पत्रकार महम्मद मुजविल्लाह जोडिए, उनी पत्रकारिता भन्दा पनि तस्करको सहयोगी बढी देखिए।
उकेराकर्मीले इशानपुर–५ मोतीपुरमा भारतबाट तस्करी भएको कुखुराको भिडियो बनाउने क्रममा उनै महम्मदले उकेराकर्मीमाथि हातपात समेत गरे। उनले ‘किन भिडियो खिचेको, काँ को पत्रकार होस्, तँलाई कसले दियो अधिकार’ भन्दै करिब ४ सय बढीको उपस्थितिमा उकेराकर्मीमाथि हातपात गरेका थिए।
पाठशाला डटकमका पत्रकार तथा सञ्चालक दिपु मिश्रले मुजविल्लाह पत्रकारिताको आवरणमा गलत गतिविधिमा संलग्न रहेको बताए।
त्यस्तै, मोतीपुरका केही स्थानीयले बालबालिकाकाको प्रयोग गरेर भारतबाट साइकलमा विभिन्न खाद्यदेखि मासुजन्य वस्तु तस्करी हुने गरेको देखियो। उक्त स्थानमा प्रहरी प्रशासनको उपस्थिति शून्य बराबर देखियो।
रिपोर्टिङकाक्रममा फोटो खिच्दा उकेराकर्मीको मोबाइल स्थानीयले नियन्त्रणमा लिए। यसबारे राजपुर प्रहरी चौकीका असई परमानन्द यादवलाई भन्दा उनले आफ्नो ज्यान बचाउन सुझाव दिँदै भने ‘तपाईँको मोबाइल पछि ल्याइदिन्छौ, अहिले यहाँबाट आफ्नो ज्यान बचाउनु, यो ठाउँमा हामी त आउन डराउँछौँ।’
जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत डिएसपी एलिजा गिरीलाई तस्करी भएको जानकारी गराउँदा प्रहरी पठाएर अवैध कुखुरा नियन्त्रणमा लिनुको साटो उल्टो मोतीपुरमा किन गएको लगायतका प्रश्न गरिन्।
‘तपाईँहरू किन मोतीपुर गएको, त्यो ठाउँमा अलि अस्ति मात्रै मुर्ती सेलाउने क्रममा ८ सय प्रहरी लगेर सेलाएका थियौँ’ उनले भनिन्।
भारतबाट खुल्ला रूपमा तस्करी भइरहेकोबारे उनलाई जानकारी गराउँदा गिरीले आफ्नो काम कुखुरा तस्करी रोक्ने मात्रै नभएको’ जवाफ दिइन्।
‘कुखुरा तस्करी मात्रै रोक्ने हाम्रो काम होइन, अरू पनि हेर्नुपर्छ‘ उनले भनिन्।
भारतीय कुखुरा यसरी नेपाली बन्छ
नेपाल– भारतको खुल्ला सीमाको कारण भारतीय कुखुरा सहजै नेपाल प्रवेश गर्छ। भारतमा हुर्किएका वा आधार हुर्किएका कुखुरा रातारात नेपाल भित्रिएर नाका नजिकै नेपालतिर रहेका स्थानीयको खोरमा राखिन्छ। अनि चल्ला राखेको लगायतका नेपाली बिल बनाएर तस्करीको कुखुरा नेपाली बनेर मुख्य सहरका पसल, कोल्डस्टोरहरुमा पुग्छ।
भारतबाट मासुजन्य वस्तु आयात नेपालमा प्रतिबन्धित छ। तर भारतसँग नाका जोडिएको जिल्लाबाट ठुलो मात्रामा कुखुरा, चल्ला, तयारी मासु, अण्डा तस्करी भइरहेको छ। कुखुराजन्य मासुको उत्पादनमा संलग्न व्यवसायीहरूका अनुसार हरेक वर्ष भारतबाट नेपालमा १५ अर्ब बराबरको भारतीय कुखुरा बजारमा पुग्ने गरेका छन्।
सीमामा सशस्त्र प्रहरी अनि नेपाल प्रहरी नखटिएका हैनन्। अधिकांश स्थानमा तस्करीको बाटो र तस्करीमा संलग्नहरूबारे उनीहरू जानकार देखिए। कतै राजनीतिक संरक्षण, कतै जोखिमपूर्ण बस्ती त कतै उनीहरूकै मिलेमतोमा तस्करी भइरहेको देखियो।
बोधिमाइ नगरपालिका ५ मा सञ्चालित राजु पोल्ट्री फर्ममा उकेराकर्मीले भारतको पूर्वी चम्पारणमा सञ्चालित हरियाणा चिकेन सेन्टरबाट कुखुरा ल्याएको बिल नै फेला पारेको थियो। बिलको परिणाम थोरै देखिन्छ। तर दिनभर पटक-पटक तस्करीहुँदा मात्रा धेरै हुन्छ।0
उकेराको खोज रिर्पोटिङमा रौतहटमा भारतबाट कुखुरा ल्याउन नत सुरक्षा निकाय सक्रिय देखिए न स्थानीय कुखुरा व्यवसायीहरू नै।
रौतहटको नेपाल- भारत सीमामा नेपाली कुखुरा पाल्ने व्यवसायीको भन्दा पनि तस्करको रजगज देखियो। तस्करीबारे सामान्य कुराकानी गर्दा पनि स्थानीय भेला भएर कुट्न आउने अनि राजपुर नगरपालिकाको नेपाल भारत सीमा नाका नजिक अपरिचितलाई प्रवेशमा समेत प्रतिबन्ध देखियो। सुरक्षाकर्मीसँग यसबारे जिज्ञासा राख्दा पूर्व जानकारी दिएर, सुरक्षाकर्मीसहित मात्र जान सुझाव दिएका थिए।
नेपाली चल्ला पाल्ने फर्महरू बन्द
बोधिमाइ नगरपालिकामा भेटिएका राजकुमार गुप्ताले पहिला कुखुरा व्यवसाय गरे पनि १ वर्षदेखि कुखुरा पाल्ने छोडेको खुल्यो। रौतहटको रामपुरखाँप अपरोहा ५ सञ्चालित गुड्डु पोल्ट्री फर्ममा ५ वर्षदेखि कुखुरा पाल्ने गरिएको थियो। तर उनको व्यवसायी ७ महिनादेखि बन्द छ।
यसको कारण भारतबाट तस्करी भएर आउने कुखुराको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नु देखियो।
पोल्ट्री फर्मका सञ्चालक गुड्डु साहका बाबु भारतबाट तस्करी भएर आउने कुखुरा र नेपालमा दानाको भाउ बढ्दा फर्म नै बन्द गरेको बताए।
‘नेपालमा दानाको भाउ बढ्यो, चल्लाको भाउ बढ्यो, भारतीय कुखुरा हामीले ल्याएनौँ। त्यही भएर फर्म बन्द गर्नुपर्यो,’ उनले भने’ तस्करी गर्न मन लागेन। धेरै घाटा खाइयो। घाटा खानु भन्दा फर्म नै बन्द गर्नु उचित लाग्यो।’
अर्का कुखुरा व्यवसायी सुवास चन्द साहले पनि भारतीय कुखुराको कारण नेपाली कुखुराले बजारै नपाउने गरेको बताए।
‘रौतहटमा कुखुरा व्यवसायीहरूको कुनै संस्था छैन। यदि त्यस्तो संस्था भएको भए, कसको खोरबाट कति कुखुरा निस्क्यो भन्ने जानकारी हुन्थ्यो,’ उनले भने’ भारतबाट हुने चोरी कम हुन्थ्यो। तर व्यवसायीक संस्था नभएको कारण नाका नजिकको सबैले भारतबाट नै ल्याउँछन्, सुरक्षा निकायले पनि केही गर्दैन। सबैभन्दा सजिलो तस्करी सायद रौतहटमा हुन्छ होला।’
रौतहटको बालचनपुरमा सञ्चालित त्रिशक्ति पोल्ट्री फर्मका सञ्चालक जितेन्द्र कुस्वाहले नेपालमा अभाव भएको बेला ठुला व्यवसायीले नै भारतीय कुखुरा ल्याउन लगाउने बताए। उनी डिलर समेत हुन्।
‘काठमाडौँका जति पनि डिलरहरू छन् उनीहरूले नेपालमा कुखुरा अभाव भएको बेला भारतबाट नै ल्याउन आग्रह गर्छन्। हामी त डिलरवाला हो। हाम्रो पेसा भनेकै व्यवसायी गर्ने, त्यसैले अभावको समयमा भारतबाट पनि ल्याउँछौँ। होइन भने, मेरो डिलरमा सर्लाहीबाट आउँछ’ उनले भने।
सुरक्षा निकायको उपस्थिति नभएको होइन, गौर–बर्गेनिया मूल गेट, बेलविछवा, औरैया, रामपुरखाप, सरमुजवा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छन्। तर यी विओपीबाट तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालेको देखिएन। अब तस्करीबारे जानकारी दिँदा हामीलाई नसोधी किन गएको भन्ने नेपाल प्रहरीको स्थानीय युनिटको प्रभावकारीबारे त के भन्नु! उनीहरूको मिलेमतो पुष्टिका लागि उनीहरूको जवाफै काफी छ।
*मोतिम हुनुपर्नेेमा मुल्तिम भएकोमा सच्च्याइएको छ।
वैशाख १०, २०८१ सोमबार १९:१३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।