गगन थापाको ग्यारेन्टी : 'एमाले-माओवादी गठबन्धन २०८१ को माघ कट्दैन'

गगन थापाको ग्यारेन्टी : 'एमाले-माओवादी गठबन्धन २०८१ को माघ कट्दैन'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले-माओवादीको गठबन्धनको आयु लामो नभएको दाबी गरेका छन्। 

यही वैशाख १५ गते हुन् लागेको इलाम २ को उपनिर्वाचनका लागी शनिबार इलामको चोकबजार पुगेका थापाले चुनावअघिको गठबन्धन मतदाताका लागि धोका भएको बताए।  चुनावअघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनको भनाइ छ। 

'म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज। अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरूको बीचमा फेरि जवाफ दिन आउनेछु', आमसभालाई सम्बोधन गर्दै उनले भने, 'चुनावको अगाडि गठबन्धन जनतालाई धोका र बेइमानी हो। चुनावअघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन हो। त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ।' 

उपचुनाव सरकार बनाउन नभएको भन्दै उनले यसमा मतदाता सचेत हुनुपर्ने बताए।

'एमाले–माओवादी मतदातालाई आह्वान गर्न चाहन्छु– गठबन्धन केही वर्ष अघिबाट प्रारम्भ भयो, यहाँ आएर खतम भयो भनेर जवाफ दिने बेला आएको छ', उनले भने। 

उनले सुवास नेम्वाङलाई आफूले संविधानसभा अध्यक्ष र गणतन्त्र आवश्यक छ भनेर वकालत गर्ने व्यक्तिका रूपमा सम्झिने गरेका बताए। 

'म पात्रको कुरा गर्दिनँ तर पुत्र वा पुत्री भएकै कारण अवसर पाउँछ भने त्यो गणतन्त्र होइन,' उनले भने, 'कुनै पनि व्यक्तिले आफ्नो मिहिनेतले उभिनुपर्छ। इलाममा राजतन्त्र फर्किएको हो? गणतन्त्र कि राजतन्त्रको पक्षमा मतदान गर्ने हो? प्रश्न गर्ने बेला तपाईंको हो।' 

८ बैशाख, २०८१, १४:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।