'हामी संघीयता भत्काउन आएका हैनौँ तर प्रदेशका ५८५ सांसदको कामै छैन, यसलाई सुधार गर्छौ'

'हामी संघीयता भत्काउन आएका हैनौँ तर प्रदेशका ५८५ सांसदको कामै छैन, यसलाई सुधार गर्छौ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै रास्वपाले अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्ने दाबी गरेका छन्। 

काठमाडौंमा बिहीबार आयोजित इलाम संवाद कार्यक्रममा उनले प्रादेशिक ढाँचा बोझिलो र खर्चिलो भएकाले शान्तिपूर्ण विद्रोहबाट नै परिवर्तन गर्ने बताए। 

उनले भने, ‘हामी संघीयताविरोधी होइनौं। अहिलेको प्रादेशिक ढाँचा अलि बोझिलो भयो, खर्चिलो भयो। यो चाहिँ हामी सुधार गर्छौ। यो सबै भत्काउन आएका हैनौँ। वर्तमान व्यवस्थालाई नै सुधार संविधानमा लेखिएको धाराहरुमा टेकेर हामीले प्रादेशिक संरचना झ्यालैपिच्छे मन्त्रालय छ, ८ सय ८४ जना सांसद पालिरहेका छौं। ५ सय ८५ सांसद त प्रदेशमा नै छन्। उनीहरुको काम देखिएको छैन। उथलपुथल नगरी यही सिस्टममा टेकेर एक थोपा रगत नबगाइकन शान्तिपूर्ण विद्रोहबाट नै हाम्रो संख्या र सामर्थ्य पुगेको दिन अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौ। ’

उनले राजनीतिलाई पुरै समयको पेसा, कमाइ खाने भाँडोको रुपमा मात्रै हेर्न नहुने बताए। युवा मात्र होइन समावेशी अनुहार पनि चाहिन्छ भन्ने उद्देश्य लिएर इलामको उपनिर्वाचनमा पार्टीले उम्मेदवार चयन गरेको उनको भनाइ छ। 

उनले भने, ‘राजनीतिलाई पुरै समयको पेसा बनाउन चाहन्न। यसलाई कमाई खाने भाँडो मात्रै बनाउन चाहन्न। यसलाई देश सेवाको रुपमा काम गर्न चाहन्छु भन्नेहरूलाई स्थान दिनेगरी रास्वपा उपलब्ध भएको छ। हाम्रो विविधतापूर्ण समाज छ। जनजाति साथीहरू पनि अटाउनु पर्छ, महिला पनि  हुनुपर्छ। इलाममा चुनाव जितिएला नजितिएला तर जनजाति समुदायमा पनि पार्टीमा हामी स्थान दिन चाहन्छौं भनेरै उम्मेदवारी दिएका छौं। एउटा युवा मात्र होइन समावेशी अनुहार लिएर हामी त्यहाँ गएका हौं।’  

६ बैशाख, २०८१, १७:३६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।