नेविसंघले मसाल जुलुस निकाल्दै गृहमन्त्रीलाई भन्यो- छोटे माओवादी मुर्दावाद !

नेविसंघले मसाल जुलुस निकाल्दै गृहमन्त्रीलाई भन्यो- छोटे माओवादी मुर्दावाद !

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।

बुधबार सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि राजीनामा दिनुपर्ने भन्दै नेविसंघ आरआर क्याम्पस इकाईले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा उनीहरूले 'गृहमन्त्री राजीनामा दे, जीवी राई कहाँ छ, रवि लामिछानेलाई थाहा छ, छोटे माओवादी मुर्दावाद, सहकारी ठगीको अनुसन्धान गर' लगायतका नारा लगाएका थिए। त्यस्तै, उनीहरूले गृहमन्त्री लामिछानेको पुतला दहनसमेत गरेका थिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।

सत्ता गठबन्धन बदलिएसँगै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै पटक पटक संसद अवरुद्ध गर्दै आएको थियो। तर, सरकारले संसदीय छानबिन समिति बनाउन इन्कार गर्दै संसद नै अन्त्य गरेपछि नेविसंघ सडकमा आएको हो। 

नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएको छ। 

५ बैशाख, २०८१, १९:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।