हिमाल सफाइका लागि नाम्चे पुग्यो सेनाको टोली

हिमाल सफाइका लागि नाम्चे पुग्यो सेनाको टोली

काठमाडौं : नेपाली सेनाको पर्वतारोहण टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र अरु हिमालको सरसफाइका लागि सोलुखुम्बुको नाम्चेबाट प्रभावित क्षेत्रतर्फ बढेको छ।

नेपाली सेनाको टोली सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल सफाइका लागि सफा हिमाल अभियान-२०२४ अन्तर्गत बुधबार नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ।

बाह्र नेपाली सेना र एक शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने आपतकालिन जनशक्तिका लागि नाम्चेमै रहने रणशुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्ड बिक्रम भारतीले बताए।

दुई जना आपतकालिन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा रहने छन् भने अरु ११ जनालाई नाम्चे ब्यारेकले आज बिदाइ गरेको हो।

यही वैशाख २ गते सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे ओर्लिएको सेनानी आदित्य कार्कीको नेतृत्वको टोली दुई दिन नाम्चेको बसाइपछि आज त्यहाँबाट प्रस्थान गरेको हो।

‘एन एन्डेवर टु सेभ द हिमालयज’ भन्ने नारा दिईएको यो अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर सङ्कलनको लक्ष्य लिइएको नेपाली सेनाले जानकारी दिएको छ।

प्रधान सेनापति प्रभुराम शर्माले गत बिहीबार जङ्गी अड्डामा आयोजित एक समारोहमा अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीलाई झण्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका थिए।

नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायतका सङ्घ संस्थाहरूको प्राविधिक सहयोग छ।

सङ्कलित फोहरमध्ये सड्ने फोहरहरू स्थानीय निकायहरूलाई र नसड्ने फोहरहरू रिसाइकल गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना छ।

अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्न नेपाली सेनाको विश्वास छ।

५ बैशाख, २०८१, १३:१०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।