'सहकारी ठगीमा रास्वपाका नेताहरूको नाम जोडिएकाले छानबिन गर्न सत्तापक्ष डराइरहेको छ'

'सहकारी ठगीमा रास्वपाका नेताहरूको नाम जोडिएकाले छानबिन गर्न सत्तापक्ष डराइरहेको छ'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक वर्ष कांग्रेस पूर्ण रुपमा प्रतिपक्षमा बस्ने र सत्ता प्राप्तिको कुनै खेलमा नरहने बताएका छन्। 

आज समुदायमा कांग्रेस अभियान अन्तर्गतको संवाद यात्राका क्रममा कैलालीको टीकापुर पुगेका थापाले सहकारीको ठूलो रकम अपचलनका बारेमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको मुख्य माग कायम रहेको बताए। 

समितिले नै छानबिन गरेर क-कसको संलग्नता छ भन्ने कुरा स्पष्ट पार्नुपर्ने आफूहरूको माग रहेको बताउँदै उनले भने ‘सत्ताधारी दलकै नेताहरू संलग्न रहेको कुरा सार्वजनिक भइरहेको छ। संसदीय समिति बनाऔँ। छानबिन गरौं। जो-जो संलग्न छन्। कारबाही गरौं।’

उनले सहकारीको रकम अपचलनमा रास्वपाका नेताहरुकै नाम जोडिएकाले सत्ता पक्षले समिति गठनमा आलटाल गरिरहेको आरोप लगाएका छन्। आफूहरूको संलग्नता नरहे समिति गठन गर्दैमा रास्वपाका नेताहरू डराउन नपर्ने उनकाे तर्क छ। 

उनले कतिपय भ्रष्टाचारका मुद्दा राज्यका तर्फबाट नीतिगत निर्णयका नाममा लुकाउने प्रयास विगतदेखि नै हुँदै आएको भन्दै सत्ता पक्षले नै नीतिगत निर्णयका नाममा भ्रष्टाचारलाई बढावा दिने काम गर्ने गरेको बताए। 

महामन्त्री थापाले कांग्रेसले २०८१ लाई पार्टी सुदृढीकरण वर्ष मनाउने बताउँदै सबै नेता कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गरेका छन्। 

३ बैशाख, २०८१, १६:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।