राप्रपाकाे प्रदर्शनमा चार हजारभन्दा बढी प्रहरी परिचालन

राप्रपाकाे प्रदर्शनमा चार हजारभन्दा बढी प्रहरी परिचालन
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौं जारी प्रदर्शनमा चार हजार बढी प्रहरी परिचालन गरिएको छ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनले भने, ‘शान्तिसुरक्षा कायम राख्नका लागि सुरक्षा समितिको संयुक्त बैठकले चार हजारभन्दा बढीको सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ, हामीलाई आशा छ प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्ने छैनन र अप्रिय घटना हुने छैन।’

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

अहिले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सहरका विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन भएका छन्। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ।

प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौं आएका बताइएको छ। राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौं केन्द्रित जनप्रदर्शनको आयोजना गरिएको सो पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

२७ चैत, २०८०, १३:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।