'भ्रष्टाचार कांग्रेस, एमाले, माओवादी, नयाँ पार्टी, जसले गरेको भए पनि भ्रष्टाचार नै हुन्छ'

'भ्रष्टाचार कांग्रेस, एमाले, माओवादी, नयाँ पार्टी, जसले गरेको भए पनि भ्रष्टाचार नै हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलले गरेको भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका छन्।    

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधनमा उनले कानुनको शासन भन्दा माथि कोही पनि नहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गरे।  

सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने उनको भनाई छ। 

उनले भने, ‘कानुनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्न भन्दा माथि कोही छैन। प्रश्न भन्दा माथि कोही शक्तिशाली पनि छैन। प्रश्न भन्दा माथि कुनै नेता छैन। प्रश्न भन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन्। कोही पनि कानुन भन्दा माथि छैन। यदि एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो। यदि सर्वसाधारणले गरेको कुनै काम किर्ते किर्ते हुन्छ भने शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुन्छ। भ्रष्टाचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ, नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ।’

महामन्त्री थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै काँग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिस्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए। 

 

२४ चैत, २०८०, १७:४४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।