वाइडबडी भ्रष्टाचारमा अख्तियार प्रमुख राईसहित दुई मन्त्री र दुई सचिव जोगिए, लेखाले देखाएको भ्रष्टाचारमा ३ अर्ब घट्यो

वाइडबडी भ्रष्टाचारमा अख्तियार प्रमुख राईसहित दुई मन्त्री र दुई सचिव जोगिए, लेखाले देखाएको भ्रष्टाचारमा ३ अर्ब घट्यो

काठमाडौँ : सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका लागि खरिद भएको दुईवटा वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै तत्कालिन तीन पर्यटन मन्त्रीसहितलाई कारबाहीको सिफारिस गरेको थियो।

लेखाले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, जितेन्द्रनारायण देव अनि जीवनबहादुर शाहीसहित तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकार,  सचिव प्रेम राई, शंकरप्रसाद अधिकारी र कृष्णप्रसाद देवकोटालाई मुख्य दोषी देखाएको थियो।

समितिले प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाएको थियो। बिहीबार अख्तियारले वाइडबडी भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा दायर गर्दा भने तत्कालीन मन्त्री जीवनबहादुर मात्रै प्रतिवादी बने। सचिवमध्ये शंकरप्रसाद अधिकारी प्रतिवादी बने।

वाइडबडी किन्ने बेलामा प्रेमकुमार राई, शङ्कर अधिकारी, कृष्ण प्रसाद देवकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव लेखा उत्तरदायी अधिकृत तथा वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष थिए। यीमध्ये एक जना प्रतिवादी बन्दा राई र देवकोटा प्रतिवादी बनेनन्। राई अहिले अख्तियारको प्रमुख आयुक्त छन्। उनीहरूमाथि लेखा समितिले समान रूपमा खरिदमा बदनियत राखेको आरोप लगाएको थियो।

युरोपको एयरबस कम्पनीबाट २४ अर्ब रुपैयाँमा दुईवटा वाइडबडी किनिएकोमा लेखा समितिले ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको दाबी गरेको थियो। कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले २०७५ पुस १८ मा प्रतिवेदन बुझाएको थियो।

अख्तियारले भने एक अर्ब ४७ करोड भ्रष्टाचार भएको दाबी गरेको छ। ३२ प्रतिवादीमध्ये शिशिर ढुंगाना पूर्व अर्थसचिव हुन्। अर्का बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन्।

को-को बने प्रतिवादी ?

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवन बहादुर शाही, निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवं सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकार, मन्त्रालयका तत्कालीन सचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन  सञ्चालक समिति अध्यक्ष शङ्कर प्रसाद अधिकारी लगायतलाई प्रतिवादी बनाएको छ।

भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य शिशिर कुमार ढुङ्गाना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने, नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य निमा नुरु शेर्पा, नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य मुक्तिराम पाण्डेलाई समेत प्रतिवादी बनाइएको छ।

यसैगरि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य जीवन प्रकाश सिटौला र नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीलाई समेत प्रतिवादी बनाइएको छ।

वायुसेवा निगमका तत्कालीन कामु निर्देशक रामहरि शर्मा सेढाँई, तत्कालीन कामु निर्देशक तथा हाल नायव महाप्रबन्धक जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभाश कुमार कर्माचा पनि प्रतिवादी बनेका छन्।

निगमका तत्कालीन निर्देशक गणेश बहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्ण बहादुर थापा र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन सुवास रिजाल, निगमका तत्कालीन नायव महाप्रबन्धक रमेश बहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचन, तत्कालीन कामु निर्देशक रवीन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधर पनि प्रतिवादी बनेका छन्।

अख्तियारले विमान आपूर्तिकर्ता/प्रस्तावदाता कम्पनीका प्रमुख र र प्रतिनिधीहरुलाई समेत मुख्य कसुरदार बनाउँदै अभियोग पत्र दर्ता गरेको छ।

२२ चैत, २०८०, १६:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।