शेखर-गगन समूहको अडानले हैरान देउवा, उमेदवार चयन अझै अलपत्र

शेखर-गगन समूहको अडानले हैरान देउवा, उमेदवार चयन अझै अलपत्र

काठमाडौं : नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि अगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सहभागी हुन बझाङ र इलामका लागि उम्मेदवार चयन गर्न सकेन।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ तीन घण्टा लामो छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

धेरै जना आकांक्षी भएका कारण बिहीबार बिहान संसदीय बोर्डको बैठकमा उनीहरूलाई राखेर छलफल गरि दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने उनले बताए।

उनले भने, ‘आज पनि निर्णय हुन सकेन। आजको बैठकले इलाम–२ र बझाङ प्रदेश सभाका निर्वाचनका सबै आकांक्षीहरूलाई राखेर भोलि छलफल गर्ने, त्यसपछि सहमति जुटाउने कुरा भएको छ। भोलि बिहान साढे ९ बजे संसदीय बोर्डको बैठक बस्नेछ। त्यहाँ दुवै क्षेत्रका आकांक्षीहरूलाई बोलाएर छलफल गर्छौँ। त्यसपछि ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गर्नेछ।’

सबै आकांक्षीसँग छलफलपछि जिल्लामा असन्तुष्टि नहुने गरी टिकट दिने प्रयास भएका कारण उम्मेदवार चयनमा ढिलाइ भएको उनको दाबी छ।

खासगरी इलाम २ लाई लिएर सभापति देउवा र नेता डा. शेखर कोइराला पक्षबीच विवाद छ।

इलाम २ का लागि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का २०७९ मा पराजित डम्बर खड्काको पक्षमा छन्।

उता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला भेषराज आचार्यको पक्षमा छन्।

२१ चैत, २०८०, २०:३३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।