'इलामको उमेदवार इलामले नै चयन गर्छ, काठमाडौंको बन्द कोठाले होइन'

'इलामको उमेदवार इलामले नै चयन गर्छ, काठमाडौंको बन्द कोठाले होइन'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन्।

शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तु लबनीमा खुला संवाद कार्यक्रममा बोल्दै इलामको उम्मेदवार काठमाडौंमा चयन गर्नु गलत भएको बताए।

‘इलाममा उम्मेदवार बन्न आकांक्षा राख्ने नेताहरूमा बहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापति लगायत सात जना हुनुहुन्छ। उम्मेदवार छान्ने बेलामा सानेपाको पार्टी कार्यालयमा हामी सीमित व्यक्तिले छान्ने प्रक्रिया नै गलत छ। एक जना छान्दा अरूलाई अन्याय भयो भन्ने लाग्छ। कि भारतीय जनता पार्टीले जस्तो सर्भे विधिमा जानुपर्यो। चुनाव भन्दा अघि एउटा टिम पठाएर सर्भे गर्ने विधि अपनाउनुपर्यो। सर्भेले अलोकप्रिय ठहर्याएको व्यक्ति टिकट नपाउने व्यवस्था हुनुपर्यो। होइन भने जिल्लाकै साथीहरूले निर्णय गर्नुपर्छ। नत्र पार्टीको विधि र विधान अनुसार हुनुपर्छ,’ महामन्त्री थापाले भने।

उनले थपे, ‘भोलि चुनाव जिताउने बेलामा उहाँहरू सबै जुट्नुपर्छ। उहाँहरू नै हो खट्नुपर्ने। त्यसैले उम्मेदवार छनोट गर्न पनि जिल्लाकै क्रियाशील साथीहरूलाई जिम्मेवारी दिनुपर्छ। इलामको उम्मेदवार इलामले नै चयन गरोस् र जिताओस्।’

आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ।

अन्य सबै राजनीतिक दलहरूले उम्मेदवारको छिनोफानो गरेर चुनावी अभियान सुरु गरेपनि कांग्रेसले आधिकारिक उम्मेदवार चयन गर्न सकेको छैन।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो।

गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए।

१७ चैत, २०८०, १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।