बागमतीको सत्ता खेलमा छिर्‍यो 'लौरो दल', मुख्यमन्त्री दाबी गरेर बज्राचार्य बने पर्यटन मन्त्री

बागमतीको सत्ता खेलमा छिर्‍यो 'लौरो दल', मुख्यमन्त्री दाबी गरेर बज्राचार्य बने पर्यटन मन्त्री

मकवानपुर : बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ।

केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै मुख्यमन्त्री सालिकराम जम्मकट्टेल नेतृत्वको सरकार टिकाउन हानेपाको दुई मत निर्णायक बनेपछि हानेपा संसदीय दलको नेता समेत रहेका शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्रीमा दाबी  गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

त्यसको दोस्रो दिनमै बज्राचार्य मन्त्री बन्दै शपथग्रहण समेत गरे। बिहीबार जम्मकट्टेलले मन्त्रीपरिषद् विस्तार गर्दै बज्राचार्यलाई मन्त्री बनाए। बज्राचार्य मन्त्री नियुक्त हुनु अगाडि एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच ५ बुँदे सहमति भएको थियो। 

सहमतिमा बाँकी पुरै कार्यकालका लागि सहकार्य गर्ने, केन्द्रमा बनेको सत्ता समीकरण अनुसार प्रदेशमा पनि सरकारको नेतृत्व कार्यान्वयन गर्ने, समीकरणमा संलग्न दलका प्रतिनिधिसहितको सत्ता सञ्चालन समीकरण बनाएर साझा कार्यक्रम बनाउने लगायतका सर्त थियो।

बालेन र हर्कको क्रेज क्यास गरेर जन्मिएको दल

काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साङपाङले पाएको चुनाव चिन्ह लौरोको क्रेज क्यास गर्न हाम्रो नेपाली पार्टी दर्ता गरेर चुनावमा होमिएको समूहको उपलब्धि बागमती प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरेर दुई सांसद भयो। यसका अध्यक्ष अनन्तराज घिमिरे हुन्।

निर्वाचनमा उनीहरूले दल दर्ता गरेर लौरो चुनाव चिन्ह लिए पनि आफूहरू स्वतन्त्र उम्मेदवार भएको भन्दै गलत प्रचार गरेपछि निर्वाचन आयोगले पटक-पटक सचेत गराएको थियो।

पार्टीका उम्मेदवारहरूले आफूहरू बालेन र हर्कको उम्मेदवारको रूपमा भ्रम छर्न सक्दो प्रयास गरेका थिए। तर प्रतिनिधि सभातर्फ कसैले जितेन। प्रदेशतर्फ प्रत्यक्षमा काठमाडौँ ८ बाट शैलेन्द्रमान बज्राचार्यले प्रदेश सांसद जितेका थिए। समानुपातिकतर्फ ४७ हजार मत पाएसँगै एक सिट पाएको पार्टीले सरिता खड्गीलाई सांसद बनाएको थियो।

१५ चैत, २०८०, १९:५३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।