सुन आयोग, महरा र सहकारी ठगीबारे छलफल गर्न रविलाई राज्य व्यवस्थाले बोलायो

सुन आयोग, महरा र सहकारी ठगीबारे छलफल गर्न रविलाई राज्य व्यवस्थाले बोलायो

काठमाडौँ : सुन तस्करीको अनुसन्धान गरेको आयोगको प्रतिवेदनको कार्यान्वयन र सहकारी ठगीबारे छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ।

गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसहितलाई समितिले बुधवार ११ बजेको बैठकमा उपस्थित हुन बोलाएको हो।

उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन भन्दै गृहको सिफारिसमा सरकारले सिआइबीका प्रमुख किरण बज्राचार्यसहित चार प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा तानेर सिआइबीमा श्यामलाल ज्ञवालीलाई प्रमुख बनाएको थियो।

सुन तस्करीमा अभियुक्त बने लगत्तै फरार रहेका जीवन चलाउनेको सम्बन्ध र सम्पर्क सार्वजनिक भएपछि ज्ञवाली समेत विवादमा तानिएका छन्।

उता पोखराको शुर्यदर्शन सहकारीका पीडितहरूले सहकारी ठगीमा संलग्न देखिएकाहरूमाथि कारबाही र फरार रहेका जीवी राई लगायतको पक्राउको माग गर्दै समितिमा निवेदन दिएका थिए।

सुन तस्करीमा संलग्न देखिएकाले मुद्दा प्रक्रियामा लैजानु भनेर आयोगले सिफारिस गरेको सूचीमा परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरे पनि प्रहरीले सरकारी वकिलको कार्यालयसँग परामर्श गरेर हाजिर जमानीमा रिहा गरेको थियो।

उपचारका लागि अस्पतालमा भर्ना भएर प्रहरी हिरासत छलेका महरालाई राजनीतिक प्रभावका आधारमा हाजिर जमानीमा छाडेको भन्दै आलोचना भएपछि गृहमन्त्री रविले राज्यको पनि करुणा हुने र करुणाका आधारमा छाडेको सार्वजनिक मञ्चमा तर्क गरेका थिए।

१३ चैत, २०८०, २१:२०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।