‘शोभा पाठकको ..फिल्म पार्ट २ आयो’ भन्दै फेसबुकमा अश्लिल पोस्ट गर्ने महेश गिरीविरुद्ध मुद्दा दर्ता

‘शोभा पाठकको ..फिल्म पार्ट २ आयो’ भन्दै फेसबुकमा अश्लिल पोस्ट गर्ने महेश गिरीविरुद्ध मुद्दा दर्ता

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमार्फत शोभा पाठकको चरित्रहत्या गरेको र अश्लील सामग्री सम्प्रेषण गरेको आरोपमा भक्तपुरका ५० वर्षीय महेश गिरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले गिरीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अभियोग पत्र दर्ता गरेको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका-७, गुण्डु स्थायी घर भई हाल काठमाडौंको गौशाला बस्ने महेश गिरीले सामाजिक सञ्जालको दुरुपयोग गरी शोभा पाठकको इज्जत र प्रतिष्ठामा गम्भीर आघात पुऱ्याएको दाबी गरिएको छ।

पीडित शोभा पाठकले साइबर ब्यूरोमा दिएको जाहेरी अनुसार, गिरीले फेसबुकमा उनको नाम उल्लेख गर्दै अश्लील तस्बिर र भ्रामक स्टाटसहरू पोस्ट गरेका थिए।

अभियोग पत्रका अनुसार गिरीले आफ्नो फेसबुक प्रोफाइलबाट ‘शोभा भन्ने चरित्रहीन हनी ट्रयापरको blue Flim Part 2 बजारमा आयो है’ भन्दै अश्लील तस्बिरहरू सार्वजनिक गरेका थिए।

साथै, उनले विभिन्न समयमा अपमानजनक शब्दहरू प्रयोग गरी घृणा र द्वेष फैलाउने सामग्रीहरू समेत पोस्ट गरेको पाइएको छ।

प्रहरी र सरकारी वकीलसमक्ष दिएको बयानमा प्रतिवादी महेश गिरीले कसुर स्वीकार गरेका छन्। उनले एमालेका वरिष्ठ नेताहरू र महेश बस्नेत लगायतको विरुद्धमा शोभा पाठकले नकारात्मक र भ्रामक प्रचार गरेको आरोप लगाउँदै त्यसको चेतावनी स्वरूप आफूले यस्तो कार्य गरेको बताएका छन्।

उनले फेसबुक र टिकटकमा ‘पब्लिक लाइभ’ आएर समेत पाठकको विरुद्धमा बोलेको स्वीकार गरेका छन्।

गिरीले बयानमा भनेका छन्, ‘निजले नेता तथा व्यापारीहरूलाई फसाउँदै हिँडेको र एमालेका कार्यकर्ताहरूलाई गुन्डा भनेर अपमान गरेकाले मैले उनी र अन्य अपरिचित पुरुषको शारीरिक सम्बन्ध रहेको भनिएका तस्बिर र भिडियोहरू पोस्ट गरेको हुँ।’

सरकारी वकील कार्यालयले गिरीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा सजाय माग गरेको छ। उक्त ऐन अनुसार कसुर प्रमाणित भएमा प्रतिवादीलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

साथै, पीडित शोभा पाठकलाई परेको मानसिक तथा सामाजिक क्षतिको उचित मूल्याङ्कन गरी सोही ऐनको दफा ५८ (क) र ७६ बमोजिम प्रतिवादीबाट मनासिब क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा शुल्क जम्मा गराउन समेत माग गरिएको छ।

मुद्दाको प्रमाणका रूपमा गिरीले पोस्ट गरेका फेसबुकका स्क्रिनसटहरू, पेनड्राइभमा राखिएका डिजिटल प्रमाणहरू, डिभिडी र प्राविधिक अनुसन्धान प्रतिवेदनलाई पेस गरिएको छ।

जिल्ला सरकारी वकील कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता रत्नकेशरी महर्जनले वैशाख २८ गते उक्त अभियोग पत्र अदालतमा दर्ता गराउनुभएको हो।

प्रतिवादी महेश गिरी हाल प्रहरी हिरासतमा रहेका छन् र अदालतले अब थुनछेक बहसपछि उनलाई जेल पठाउने वा धरौटीमा छोड्ने निर्णय गर्नेछ।

वैशाख २९, २०८३ मंगलबार १२:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।