इलाम-२ मा रास्वपाको उम्मेदवार कुर्दै कांग्रेस, १८ गते नाम घोषणा हुने

इलाम-२ मा रास्वपाको उम्मेदवार कुर्दै कांग्रेस, १८ गते नाम घोषणा हुने

काठमाडौँ : इलाम–२ र बझाङको प्रदेश सभा (क) को उम्मेदवार चयन गर्न नेपाली कांग्रेस 'जोखना'को भर परेको छ। इलाममा कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार घोषणाको पर्खाइमा छ। बझाङमा माओवादी केन्द्र र एकीकृत समाजवादीको निर्णय कुरिरहेको छ।

गत मंसिर ४ मा प्रदेश सभा सदस्यमा कांग्रेसबाट निर्वाचित भएका थिए। इलाम-२ मा भने एमालेका सुवास नेम्वाङले जितेका थिए।

एमालेले इलाममा सुवासका छोरा सुहाङलाई टिकट दिइसकेको छ। माओवादी केन्द्रसहितका अन्य दलले उम्मेदवारीबारे निर्णय गरिसकेको छैन। रास्वपाले चैत १७ गते उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।

अहिलेसम्म घोषित उम्मेदवारहरू पहिचान पक्षधर र जातीय आधारमा भएका छन्। सुहाङसहित मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

कोशी प्रदेश नाम खारेज गरेर जातीय पहिचानको आधारमा नामाकरण गर्नुपर्ने पक्षमा रहेकाहरूले पनि साझा उम्मेदवार घोषणा गरेका छन्। कोशी पुनः नामांकन संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। उनी समितिका अध्यक्ष हुन्।

लामो समय शिक्षण पेशामा रहेका उनलाई ‘संघर्ष समितिमा आबद्ध रहेका ४१ बढी घटकको समर्थन रहेको दाबी गरिएको छ।

प्रतिपक्षमा रहेको जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनी किराँत–लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन्।

इलाममा जनजाति समूहको मतको प्रभाव छ नै, अन्य वर्गको मत पनि निर्णायक हुने गरेको छ। यस अगाडिको निर्वाचनमा नेम्वाङसँग कांग्रेसका उम्मेदवार  डम्बर खड्का झिनो मतले मात्र पराजित भएका थिए।

अहिले अधिकांश दल पहिचानवादी पक्षधर उम्मेदवारकै पक्षमा उभिएका छन्। रास्वपाबाट समेत पहिचान पक्षधर मिलन उम्मेदवार हुने सम्भावना देखिन्छ। इलामका लागि कांग्रेसबाट भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम केन्द्रमा आइपुगेको छ।

यस्तो अवस्थामा पहिचान पक्षधर तर गैर जनजाति उम्मेदवार उठाउँदा विजयी हुने सम्भावना देखेर कांग्रेस अन्य पार्टीहरूले उम्मेदवार घोषणा गरिसकेपछि जातीय समीकरण हेरेर उम्मेदवार चयन गर्ने रणनीतिमा देखिन्छ। रास्वपा समेत जनजाति समुदायको उम्मेदवारको पक्षमा उभिएमा आचार्य, खड्का र थापामध्ये एक उम्मेदवार हुनसक्ने देखिन्छ।

उता बझाङका लागि कांग्रेसबाट सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ,  ध्रुवराज उपाध्याय, नारायण हमाल र अभिषेक सिंहको नाम सिफारिस भएको छ। बझाङको उम्मेदवार पनि चैत १८ गते नै तय हुने देखिएको छ।

एमालेले बझाङ–१ को प्रदेश सभा उपचुनावका लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। यी दुवै क्षेत्रमा वैशाख १५ गते निर्वाचन हुँदैछ। 

१३ चैत, २०८०, १३:४२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।