सहकारी ठगीमा जोगिन सुन काण्डमा मुछिएका माओवादी नेतालाई गृहमन्त्रीले उन्मुक्ति दिएको शान्ति समाजको दाबी

सहकारी ठगीमा जोगिन सुन काण्डमा मुछिएका माओवादी नेतालाई गृहमन्त्रीले उन्मुक्ति दिएको शान्ति समाजको दाबी

काठमाडौँ : सहकारी घोटाला प्रकरणमा जोडिएकाले आफैँले मार्गप्रशस्त गर्नु उपयुक्त हुने भन्दै मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ।

सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले विज्ञप्ति जारी गरेर सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन माग गर्दै नैतिक रूपमा लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्ने बताएको हो।

शान्ति समाजले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन उपप्रधानमन्त्री लामिछानेले सुन काण्डमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरालाई उन्मुक्ति दिएको तर्क समेत गरेको छ।

कांग्रेसको नेतृत्वको नियत आफ्नो परिवारका सदस्यमाथि कुनै छानबिन नहोस् भन्ने सौदाबाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको शान्ति समाजले जनाएको छ।

 ‘सुशासन र सदाचार विपरीत विभिन्न घोटालाका मूल दोषीहरूलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदाबाजीको घिनलाग्दो राजनीतिको शान्ति समाज निन्दा गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

१२ चैत, २०८०, १३:४२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।