गृहमन्त्री लामिछानेले हाइप्रोफाइललाई समातेर आफूमाथिको आरोप ढाकछोप गर्न खोजे : माले

गृहमन्त्री लामिछानेले हाइप्रोफाइललाई समातेर आफूमाथिको आरोप ढाकछोप गर्न खोजे : माले
तस्बिरमा मालेका महासचिव सीपी मैनाली

काठमाडौं : मालेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर कर्तव्य निर्वाह गर्नुभन्दा आफूमाथिको आरोप ढाकछोप गर्न लागेको आरोप लगाएको छ।

चैत ९ गते बसेको सो पार्टीको स्थायी समिति बैठकले गरेको ५ बुँदे निर्णय सार्वजनिक गर्दै पार्टीले गृहमन्त्री लामिछानेको गतिविधिलाई निन्दनीय भनेको छ।

पार्टीका महासचिव सीपी मैनालीद्वारा जारी बैठकको निर्णयमा भनिएको छ, ‘वर्तमान गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा बढी त्यसबाट प्राप्त वाहीवाहीलाई आफू माथिको आरोप ढाकछोप गर्न दुरुपयोग गर्न थालेको देखिएको छ। यो निन्दनीय छ।’

बैठकले मुलुकमा देखिएका लघुवित्त तथा मिटरब्याज पीडित लगायतका जल्दाबल्दा समस्याहरूलाई तत्कालै सम्बोधन गर्न समेत सरकारसँग जोडदार माग गरेको छ।

११ चैत, २०८०, ११:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।