निराशा फैलाउनेहरूमाथि निगरानी राख्न गृहमन्त्री रविको निर्देशन

निराशा फैलाउनेहरूमाथि निगरानी राख्न गृहमन्त्री रविको निर्देशन

काठमाडौँ : प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखहरूलाई मन्त्रीस्तरीय निर्णयबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने मनसायले गृह मन्त्रालयले २१ बुँदे निर्देशन दिएको छ। निर्देशनमा नागरिकको भरोसा वृद्धि हुनेगरी कार्यसम्पादन गर्ने, गराउने उल्लेख छ।

निर्देशनमा शान्ति सुरक्षा बलियो बनाउने र गृह प्रशासनका संयन्त्र चुस्त बनाउने भनिएको छ। तर निर्णयहरू आम नागरिकको वाक स्वतन्त्रता खुम्च्याउने प्रयोजन देखिन्छ। निर्देशनमा राज्य संयन्त्रप्रति नकारात्मक भावना फैलाई नागरिकमा निराशा फैलाउने कार्य गर्नेहरूबारे समेत सूची बनाएर निगरानी र कारबाही गर्न भनिएको छ।

निर्देशनमा जातीय, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिक सद्भाव खलबलाउने किसिमका गतिविधि गर्ने, कुनै धर्म संस्कृतिप्रति घृणाभाव व्यक्त गर्ने, राजनीतिक आवरणमा संविधान विपरीतका र मौजुदा कानुनले निषेध गरेका गतिविधि गर्ने, राज्य संयन्त्रप्रति नकारात्मक भावना फैलाई नागरिकमा निराशा फैलाउने, बैङ्क तथा वित्तीय संस्थाप्रति नागरिकको भरोसा टुट्ने गरी नकारात्मक अभिव्यक्ति दिने, गुण्डागर्दी, तस्करी, कमिशनखोरी तथा यसै प्रकृतिका अन्य आपराधिक गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा समेत खलल पुर्याउने र गैरकानुनी रूपमा विदेशी सहयोग प्राप्त गर्ने गैरसरकारी संस्थामाथि निगरानी राख्न भनिएको छ।

यस्तो गतिविधिमा संलग्नहरूबारे व्यक्ति तथा समूह र संस्थाहरूको पहिचान गरी क्षेत्रगत, व्यावसायिक, र भौगोलिकरुपमा अलग अलग सूची तयार गरेर त्यस्ता व्यक्ति/समूह/संस्थाका गैर कानुनी गतिविधिहरूलाई निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्य योजना बनाई कार्यान्वयन गर्न भनिएको छ।

८ चैत, २०८०, १९:०३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।