गृहमन्त्री रविको राजीनामा माग्दै संसद्मा कांग्रेसको अवरोध, १५ मिनेट स्थगित

गृहमन्त्री रविको राजीनामा माग्दै संसद्मा कांग्रेसको अवरोध, १५ मिनेट स्थगित

काठमाडौँ : सुन तस्करीसम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनमा कस्सिएका गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको अनुसन्धानमा रहेको भन्दै नेपाली कांग्रेसले संसद्मा राजीनामा माग गर्दै प्रतिनिधि सभाको जारी बैठक अवरुद्ध गरेको छ।

कांग्रेसका सांसदहरूले अनुसन्धानको दायरामा रहेका व्यक्तिहरू सरकारमा रहन नसक्ने भन्ने विषय प्रधानमन्त्रीले समेत स्विकार गरेर’ त्यस्ता मन्त्रीहरूलाई त हटाएर आएको छु’ भनेर संसद्मा भनेको र रविमाथि समेत सहकारी ठगीमा छानबिन भइरहेकाले उनी पनि सरकारमा रहन नसक्ने माग गरेका थिए।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछाने अनुसन्धानको दायरामा रहेकाले उनले पेस गर्ने कार्यसूचीमा संसद् प्रवेश गर्न नसक्ने भन्दै संसद्मा आएर प्रधानमन्त्रीले जवाफ दिने हो कि बेल घेराउ गर्नुपर्ने हो भनेर सोधेका थिए।

सभामुखले विनियोजन विधेयकबारे छलफल गराउने प्रयास गरेपछि कांग्रेसका सांसदहरू संसद्मा उभिएपछि सभामुखले उनीहरूलाई बस्न र छलफल अगाडि बढाउन आग्रह गरेका थिए। तर कांग्रेसका सांसदहरू नबसेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरे।

विशेष समयमा बोल्नेक्रम सकिए लगत्तै सभामुखले सम्पत्ति शुद्धीकरण सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने विधेय टेबल गर्न समय दिएका थिए। त्यसपछि उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल संशोधन सम्बन्धी विधेयक विचार गर्न भनेर प्रस्तुत गर्न समय दिए लगत्तै कांग्रेसका सांसदहरू उठेका थिए।

सभामुखले कांग्रेसका एक जना सांसदलाई आफ्नो भनाई राख्न समय दिए। राजेन्द्रकुमार केसीले चार दिनदेखि सहकारी पीडक गृहमन्त्रीको पदमा रहेको अवस्थासम्म संसद् चल्न नसक्ने बताए। जसले यो मुलुकको गृह मन्त्रालयको नेतृत्व गरेको हो उनी सहकारी ठगीको पीडक रहेको बताए।

सभामुखले विशेष परिस्थितिमा सभा सञ्चालन गरेको र अध्यादेशमार्फत नयाँ विधेयक ल्याएर २०८०-०८१ मा गरेको प्रतिबद्धता अनुसार बजेटको नीति तथा प्रतिबद्धता अनुसार सभा सञ्चालन गरिएको भन्दै आसन ग्रहण गर्न आग्रह गरे। तर कांग्रेसका सांसदहरू बसेनन्।

माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई बोल्न दिएपछि उनले नियमापत्ति गरे। कांग्रेसका सांसदहरूले विरोध गरिरहे। नियमको पालना नभएको भन्दै आपत्ति जनाएका थिए। उनले संसद् रोक्न खोजेको भन्दै आपत्ति जनाइरहे।

सभामुखले संसद् चलाउने प्रयास गरिरहे। उनले सम्झाउने प्रयास गरिरहे। तर कांग्रेसका सांसदहरू बसेनन्। सत्तापक्षले दिनुपर्ने जवाफ सांसदप्रतिको उत्तरदायित्व स्मरण गराउन चाहन्छु भन्दै विशेष अनुरोध गरे। तै पनि कांग्रेसका सांसदहरू बसेनन्।

त्यसपछि सभामुखले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई बोल्न समय दिए। लेखकले सहकारी ठगीको आरोपमा अनुसन्धानमा रहेका व्यक्ति गृहमन्त्री पदमा रहेसम्म संसद् चल्न नसक्ने धारणा राखेपछि कांग्रेसका सांसदहरू उभिइरहे र बैठक १५ मिनेटका लागि स्थगित भयो।

२ चैत, २०८०, १४:१८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।