पूर्वाधार हस्तान्तरणसँगै गेटा मेडिकल सञ्चालनको बाटो खुल्यो

पूर्वाधार हस्तान्तरणसँगै गेटा मेडिकल सञ्चालनको बाटो खुल्यो

काठमाडौँ : गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरू गेटा अस्पताललाई हस्तान्तरण गरेको छ। अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्।

२०७९ असार ४ गते धनगढी पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रूपमा छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए। १५ वर्ष अगाडि घोषणा गरिए पनि गेटा मेडिकल कलेज पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन अस्तान्त्रणपछि अस्पताल सञ्चालनको प्रक्रियाले गति लिने भएको छ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै निर्देशक डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि ठुलो सफलता भएको बताएका थिए। 'अब अस्पतालको सेवा विस्तारको काम तीव्र रूपमा अगाडि बढ्ने छ' उनले भने।

गत कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा आए पनि भवन हस्तान्तरण हुन सकेको थिएन। भवन अस्पताल मातहत आएपछि आवश्यक संरचना निर्माण प्रक्रिया अगाडि बढाउँदै सेवा विस्तारको काम सुरु गरिने डा सापकोटाले उकेरालाई बताए।

समितिले अस्पताललाई अस्पताल भवन, लण्ड्री हाउस भवन, अटोक्लेभ भवन, कुरुवा घर, शव गृह, अक्सिजन प्लान्ट लगायतका संरचना हस्तान्तरण गरेको हो।सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम निकासा गरिसकेको छ। गेटालाई चिकित्सा शिक्षा  विश्वविद्यालय बनाउने घोषणा गरेपछि अन्योल बढेको थियो।

२९ फागुन, २०८०, १५:०९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।