एपीएफलाई ३-० गोलले हराउँदै चर्च ब्वाइजले जित्यो झापा गोल्डकप

एपीएफलाई ३-० गोलले हराउँदै चर्च ब्वाइजले जित्यो झापा गोल्डकप

काठमाडौं : चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ।

सोमबार भएको फाइनल खेलमा नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलप्रेरित चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीलाई ३-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे।

चर्च ब्वाइज पहिलो सहभागितामा अपराजित रहँदै च्याम्पियन बनेको हो।

च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ। एपीएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भएको छ।

खेलको १२ औं मिनेटमा फकुन्लेले पहिलो गोल गरेका थिए। गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन्।

दोस्रो गोल ७२ औं फकुन्लेले नै गरे। मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन्।

तेस्रो गोल ८७ औं मिनेटमा भयो। वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे।

विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन्।

यसअघि खेलमा एपीएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन। १८ औं मिनेटमा एपीएफका फोडे फोफानाको पासमा अनिश महर्जन गोल गर्न चुके। पहिलो हाफको इन्जुरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान दीप कार्कीले पञ्च गरे।

खेलको ८१ औं मिनेटमा एपीएफका विदेशी खेलाडी आन्द्रे थेरी वियिक वियिकको फ्री किक गोलकिपर दीपले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए।

चर्च ब्वाइजले केही अवसर बनाएपछि थप गोल गर्न सकेन।

३१ औं मिनेटमा विकु राईले गरेको प्रहार एपीएफ गोलकिपर एञ्जल श्रेष्ठले बचाए। ७२ औं मिनेटमा विजय भुजेलले गोलकिपर एञ्जल बिट गरेको अवस्थामा पनि गोल गर्न चुकेका थिए।

खेलको म्यान अफ द म्याच विजेता टिम चर्च ब्वाइजका सुरजज्यु ठकुरी भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए।

फागुन १९ गतेदेखि सुरु भएको छैटौँ झापा गोल्डकपमा नेपालका 'ए' डिभिजनसहित १० टिमको सहभागिता थियो।

त्यस्तै, चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपीएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए।

उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए। उदीयमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए।

उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए। गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर सञ्जित राई भए। उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे।

विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, एन्फा अध्यक्ष पंकज नेम्वाङ, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पूर्वअध्यक्षहरु जलकुमार गुरुङ, महेन्द्रकुमार गिरी लगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए।

२८ फागुन, २०८०, २०:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।