‘त्यसपछि कांग्रेससँग छुट्टिनुपर्यो’

‘त्यसपछि कांग्रेससँग छुट्टिनुपर्यो’

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको मुख्य कारण कांग्रेस महासमिति बैठक भएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक सत्ता फेरबदलको कारण राष्ट्रिय सभा सदस्य चयन तथा सदस्य निर्वाचनमा कोशी प्रदेशमा भएको अन्तरघात, कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा र माओवादीले भन्ने गरेको जनयुद्धलाई कांग्रेसले विकृतिकरण गरेको आरोप लगाउँदै त्यसलाई माओवादीले सहन नसकेको बताएका हुन्।

‘कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा गरियो, निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेमौसमको मानमर्दन राजनीतिक मान्न सकिएन,’ प्रधानमन्त्री प्रचण्डले भने।

संविधानमा धर्म निरपेक्ष राज्य भएपनि कांग्रेस महासमिति बैठकमा हिन्दु राज्यको पक्षमा ४० प्रतिशत बढी कांग्रेसी नेताहरूले हस्ताक्षर गरेको विषयमा प्रचण्डले भने, ‘स्टलमै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउने ठाउँ बन्न गयो।’

कांग्रेस महासमिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धलाई विद्रुपीकरण गरिएपछि आफूलाई शंका बढेको र कांग्रेसप्रति अविश्वास भएको प्रधानमन्त्रीको भनाई छ।

‘राजनीतिक प्रतिवेदनमा जसरी माओवादी जनयुद्धलाई न्युनिकरण मात्र होइन विद्रुपीकरण गरियो, २०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन बाँडेर मिलेको विषयमा शंका र अविश्वासको वातावरण बनाइयो त्यसपछि म सोच्न बाध्य भए यसले मलाई थप सशंकित गरायो,’ उनले भने।

केही समयअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष प्रचण्डभित्र माओवादी जनयुद्धको नेतृत्व गरेका कामरेड प्रचण्ड र पुष्पकमल दाहाल गरि एकसाथ दुई प्रवृत्ति जीवित रहेको र कुन बेला उनको कुन राजनीतिक व्यक्तित्व प्रकट हुन्छ भन्ने ठेगान नभएको टिप्पणी गरेका थिए।

सोही टिप्पणीको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘म अघिल्लो गठबन्धनमा पुष्पकमल दाहाल व्यक्तिका रुपमा थिए।’

२४ फागुन, २०८०, १४:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।