फलाना मन्त्रीले काम गर्न दिएन भनेर सिंगो गठबन्धन फेर्न मिल्छ? : कांग्रेस

फलाना मन्त्रीले काम गर्न दिएन भनेर सिंगो गठबन्धन फेर्न मिल्छ? : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काल्पनिक कुरा गरेर गठबन्धनलाई झुक्याएको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री प्रचण्डले गठबन्धनका मूल्य र मान्यतालाई भत्काएर एकतर्फी गठबन्धन तोडेको आरोप लगाएका हुन्।

उनले भने, ‘नेपाली कांग्रेसले गठबन्धनमा भएका निर्णय र सहमतिलाई इमान्दारिता, निष्ठा र मर्यादाका साथ पालना गर्यौँ। तर पछिल्लो समय गठबन्धनमा अविश्वास हुने गरि गतिविधि भए। राजनीतिमा मर्यादा र सम्मानले मात्र पुग्दैन। प्रधानमन्त्रीले गठबन्धनका मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनका सहमतिहरू तोडेर एकतर्फी ढंगले गठबन्धन फेर्नुभयो।’

प्रधानमन्त्रीले कांग्रेस गठबन्धनमा रहेका बेला देशमा सुशासन, विकास र सामाजिक न्याय भएन भन्ने गरेको भन्दै लेखकले भने, ‘पोहोर साल प्रधानमन्त्री हुनुभएको १५ महिना लाग्दैछ। १५ महिनापछि सुशासन, विकास र सामाजिक न्याय भएन भन्नु भएछ त्यसो भए यो १४ महिनामा के चाहि गर्नुभयो तपाईँले, प्रश्न उठ्छ कि उठ्दैन?’

उनले कांग्रेसका एकाध मन्त्रीको टाउकोमा दोषको भारी बोकाएर प्रधानमन्त्री उम्किन नमिल्दै भन्दै मन्त्रीकै कारण सिंगो गठबन्धन बदल्नु कांग्रेसप्रतिको विश्वासघात भएको टिप्पणी गरे।

उनले थपे, ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो। जनमतको अपमान गर्दै कपोलकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं।’

प्रधानमन्त्रीको कदमले राजनीतिक अस्थिरता बढेर गएको लेखकले बताएका छन्।

उनले भने, ‘हामीले गठबन्धनप्रति इमान्दारिता देखाएका थियौं। हामीले इमान्दारिता देखाउँदा पनि गठबन्धन भत्काउने कांग्रेसप्रति विश्वासघात भएको ठहर गरेका छौं।’

२४ फागुन, २०८०, १४:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।