साफ यू-१६ महिला फुटबल : नेपाल र भारत भिड्दै, दुवै टोली जित्नैपर्ने दबाबमा

साफ यू-१६ महिला फुटबल : नेपाल र भारत भिड्दै, दुवै टोली जित्नैपर्ने दबाबमा

काठमाडौं : राजधानीमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ। चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।

आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ। बराबरीले भने भारतलाई नै फाइदा पुग्नेछ।

भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७-० को जित निकालेको थियो। नेपालले भुटानमाथि ३-० को जित निकालेको छ।

यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बंग्लादेशसँग २-० ले पराजित भएको थियो। भारत बंगलादेशसँग ३-१ गोल अन्तरले  पराजित भएको थियो।

यसैगरी, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ। भुटान दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ। फाइनल खेल आइतबार हुनेछ। 

२४ फागुन, २०८०, ०८:१९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।