गायिका रजिना रिमालको प्रसव पीडा र खुसी : अप्रेशन कक्षमा लाने बेलामा ड्याडीलाई देखेँ, एक्कासी रुन पो थालेछु!
रजिना रिमाल नेपाली चलचित्रकी प्रख्यात गायिका। पाश्र्व संगीतमा एकक्षत्र राज गरेकी उनले फिल्म नाइँ नभन्नु ल- १ देखि ५ सम्म आइपुग्दा आफ्नो आवाजको जादु फैलाइन्। कतिपयले त 'गीत सुनेर चलचित्र हेर्ने' श्रेय नै उनलाई दिन्छन्।
त्यस अघिसम्म सम्पूर्ण गीति एल्बमकै गायक/गायिकाको बोलबाला थियो। रजिनाले अहिलेसम्म 'पानीको फोका, पागल म बन्न सक्छु, पल भरमै खुसी, को हौ तिमी, सयौं जुनी ' लगायतका धेरै चर्चित गीत गायिका छिन्।
उनी काठमाडौँकै ब्राह्मण परिवारमा हुर्किइन्। सांगीतिक माहौलमै उनको बाल्यकाल बित्यो। कान्छी छोरी भएकाले उनलाई कुनै अभाव महसुस गर्नु परेन।
आफ्नो फ्यानसँग उनको माया बस्यो। अनि पारिवारिक सहमतिमै बिहे पनि गरिन्। हुन त उनको अन्तर्जातीय विवाह थियो। सुरूमा केही फरकपन महसुस भएपनि बिस्तारै सबै सरल ढंगबाटै अगाडि बढ्यो। अहिले श्रीमानको पारिवारिक बिजनेस श्रेष्ठ टेलरिङको फाइनान्स रजिनाले नै सम्हाल्ने गर्छिन्। त्यसबाहेक छोरालाई समय दिनु र गीत गाउनमै उनी व्यस्त छिन्।
उनले उकेराको प्रसव पीडा र खुसी स्तम्भका लागि साटेकी अनुभूति उनकै शब्दमा :
000
२०७२ को महाभूकम्पको पाँच दिनपछि हाम्रो बिहे भयो। उहाँले मलाई चिन्नुभन्दा अगाडि नै मेरो गीत सुन्दै आउनु भएको रहेछ। चिनजानपछि आत्मीयता बढ्यो, प्रेम बस्यो। अनि परिवारकै सहमतिमा बिहे भयो। अन्तर्जातीय भएपनि त्यति धेरै अफ्ट्यारो त भएन, किनभने मेरो ममी पनि नेवार समुदायकै हुनुहुन्छ।
तै पनि दुइ'टा संस्कार-संस्कृति भएको ठाउँमा फरकपन त हुने नै भयो। बिस्तारै बानी पर्दै जाने रहेछ। केही वर्ष त हामीले सन्तानको योजनानै नबनाउने, घुम्ने, काम गर्ने भनेर रमायौँ। तीन वर्षपछि 'अब चैँ कोही चाहिन्छ' भन्ने लाग्यो। तर, त्यो बेलामा गर्भ बसिरहेको थिएन। हामीले धेरै कोसिस गर्यौँ। डाक्टरसँग परामर्श गर्यौँ। तर पनि भइरहेको थिएन।
म पिसिओएस(पोलिसीस्टिक ओभरी सिन्ड्रोम) बाट प्रभावित भएको कारण पनि अलिकति समस्या जस्तो देखाएको थियो। विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार संसारभर ७० प्रतिशत महिलाहरू यसबाट प्रभावित छन्। जसमध्ये अनुमानित ८ देखि १३ प्रतिशत प्रजनन उमेर समूहका महिलाहरूलाई यसले असर गरिसकेको हुन्छ। कतै म आमा बन्न सक्दिन कि भन्ने मनमा डर त थियो। तर आश मारिसकेको थिइन्। श्रीमानको साथ थियो मलाई।
योजना बनाएको लगभग ६/७ महिनापछि म गर्भवती भएँ। मेरो सबैभन्दा खुसीको क्षणनै त्यही हो भन्दा फरक पर्दैन। गर्भवती भएको थाहा पाएको दिन मेरो अष्ट्रेलियामा कन्सर्ट थियो। डाक्टरसँग परामर्श गरेर औषधि लिएर गएँ। एक महिना उतै बसेँ। गर्भ बसेपछिका दिनहरू एकदम रमाइला लागे।
वाकवाकी चैँ बेस्सरी हुन्थ्यो। दिनमै २२/२३ पटकसम्म वाकवाक गर्थेँ। खाना केही नरुच्ने, केहीको गन्ध मन नपर्ने। पानी खाँदा समेत गाह्रो भएपछि ठूलो ममीले 'सातु खाऊ, राम्रो पनि हुन्छ, गन्ध पनि आउँदैन' भन्नुभयो। गर्भवतीको प्राय: समय त सातु नै खाएर बित्यो।
गर्भ छ महिनाको हुँदा चैं मलाई एकदम थकाली खाना खान इच्छा भयो। पोखरामा मलाई मन पर्ने थकाली खाना पाइन्छ। खाना खानकै लागि मात्र पनि पोखरा गएँ। आठ महिनासम्म त मासु खानै सकिँन। खाए कि गन्हाउने हुन्थ्यो।
बाँकी सबै राम्रो भयो। तौल पनि निकै बढेको थियो। गर्भवती हुनुअघि ४७ केजीकी थिएँ। तर, गर्भवती पछि ६० केजीसम्म भएँ। तौल भनेको त्यो समयमा बढ्ने घट्ने नै हुने रहेछ। धेरै खुसी भएर पनि होला, यतिन्जेलसम्म मानसिक रुपमा सबै ठिकै थियो।
पिसिओएसले गर्दा गर्भधारण हुन समय लागे पनि पछि सहज हुँदै गयो। बाँकी डाक्टरसँग परामर्श त भइ नै रह्यो। यस्तो बेलामा श्रीमानको साथको निकै महत्व हुने रहेछ। मानसिक रुपमा कोही साथमा खोजिरहने रहेछ। श्रीमानले निकै साथ दिनुभयो। मलाई केही आवश्यक पर्ला कि भनेर उहाँ साथमै बस्नुहुन्थ्यो।
हामी नर्मल डेलिभरी हुन्छ भनेर बसेका थियौँ। तर ३७ हप्तामै बाबु पाठेघरको अलि तल गइसकेको भएर अस्पताल बोलाउनु भयो। भोलिपल्ट हामी अस्पताल गयौँ। बिहानको पाँच बजेदेखि मलाई व्यथा लाग्ने औषधि दिनुभयो। लगभग चार घण्टा त व्यथा नै लाग्यो। मलाई जब दुखाइ सुरू हुन थाल्यो बच्चाको धड्कन पनि कम भएछ।
त्यसबेला आमाजू मसँग हुनुहुन्थ्यो। प्रसव बेलाको दुखाइ अर्कै खालको हुने रहेछ। त्यही पनि सहिरहेँ। महिनावारी भएको बेला दुखेको जस्तै-जस्तै तर सहनै नसक्ने दुखाइ थियो त्यो। खै, कस्तो-कस्तो। मैले त त्यो चार घण्टा कसरी बिताए थाहै पाइँन।
डाक्टरले 'अब जोखिम नलिऊँ, अप्रेशनमै जाउ' भन्नुभयो। डाक्टरले नै त्यसो भनेपछि हामीले नाइँ भन्न मिलेन। अप्रेशनमा एनेस्थेसिस्या गरे पनि धेरै कुरा याद हुने रहेछ। डाक्टर बोलेको सबै सुनिरहेकी थिएँ।
ठ्याक्कै अप्रेशन कक्षमा लाने बेलामा मैले मेरो ड्याडीलाई देखेँ। एक्कासी रुन पो थालेछु। मेरो ममी आउन पाउनु भएन। डाक्टरहरूले म नर्भस भएँ भनेर होला, सान्त्वना दिँदै 'केही हुँदैन' भन्नुभएको थियो।
अप्रेशन गरेर बाबु निकालियो। कस्तो 'क्युट बेबी रहेछ' भनेको सुनेँ। पछि बच्चालाई सफा गर्न लैजाँदा रहेछन्। अप्रेशन एकदम राम्रो भयो। त्यो दिन ५२ हो कि ५४ वर्षपछि सोमबार शिवरात्रि परेको थियो। कसैले 'एकदम राम्रो दिनमा बाबु जन्मियो' भनेको सुनेँ। अनि डाक्टरले बाहिर लैजाँदा पनि 'बमबम भोले' भन्दै लानु भएको थियो।
तीन/चार दिन अस्पताल बस्दा सबै ठिक भएको महसुस गरेँ। केही दिनपछि म हिँड्न थालेको देखेर होला, सबैले नर्मल डेलिभरी भएको सोच्दा रहेछन्।
तर बच्चा जन्माउनु अगाडि र जन्माए पछिको चरण चैं अलग्गै हुने रहेछ। स्तनपानदेखि नुहाइदिनेसम्म, रातभर उठ्नुपर्ने। तै पनि अर्कै खालको आनन्द महसुस हुने रहेछ।
कस्तो गोरो थियो बाबु। मातृत्वको अनुभूति हुन मलाई चैँ अलि दिन लाग्यो। पछि उसलाई हेर्दै जाँदा, बोक्दै जाँदा त अर्कै खालको अनुभूति भैगो नि। अर्कै आत्मीयता। स्तनपानमा पनि पीसीओएसले गर्दा अलि गाह्रै भयो। त्यसपछि त अनिद्रा, तनावले पनि गाह्रो भएको थियो। छ दिन हस्पिटल बसेपछि घर फर्कियौँ। श्रीमान र मैले मिलि-मिलि बाबुलाई हेर्यौँ।
अप्रेशन गरेपछि अलिकति चिसो हुँदा च्वास्स घोचेको जस्तो हुने, दुख्ने हुन्छ भनेको सुनेकी थिएँ, मैले पनि महसुस गरेँ। अहिलेसम्म पनि कहिलेकाँही ढाड, कम्मर बेस्सरी दुख्छ। साधारणतया तीस वर्ष काटेपछि पनि त्यस्तो हुन्छ भनेको सुनेकी हुँ। त्यही भएर पनि हो कि!
सुत्केरी स्याहार एकदम राम्रो भयो। घरमा पनि तेल मज्जाले लगाए। नेवार र बाहुनको खानपिन अलि फरक भयो। घरमा चाकु भात खाएँ। माइतीमा मासु भात खाएँ। छ/सात महिना म त सुत्केरी जसरी नै स्याहारमा बसेँ।
बाबु दुई महिनाको भएपछि मात्र काममा लागेको हो। बाबु हुर्कँदै गरेको नजिकबाट हेर्न पाएँ। रमाइलो मान्न पाएँ। अहिले स्कुल जान थालिसक्यो। कहिलेकहीँ झर्को पनि लाग्छ। तर एकछिन उबाट टाढा हुन पर्दा कस्तो खाली-खाली लाग्छ। मेरो जिन्दगी नै उ भएर सम्पूर्ण भएको जस्तो लाग्छ।
म आफैं आमा भएपछि आफ्नो आमाको भावना झन् बढी बुझ्न सकेको अनुभव भयो। ममीले हामीलाई गर्नु भएको स्याहार-सुसार, प्रेम, ममता लगायतको कुरा जोडिएर आउने रहेछ। दुख पाउँदा होस् या सुखको क्षणमा होस्,मलाई हुर्काउँदा आमालाई पनि यस्तै भएको थियो होला है भन्ने लाग्ने रहेछ।
गायन क्षेत्रमा सक्रिय हुन बाबु भएपनि त्यति धेरै अप्ठ्यारो महसुस गर्नु परेको छैन। धेरै कार्यक्रम, कन्सर्टमा त बाबु लिएरै जान्थेँ। अहिले पनि गइरहेकै हुन्छु। कहिले ममीकहाँ छोडेर नि जान्छु। तर जहाँ गए पनि कार्यक्रम सकिएपछि सिधै घरै आउँछु।
सन्तान हुर्कँदाको हरेक क्षण अमूल्य हुने रहेछ। सबै क्षण हेर्न पाउनु सबैभन्दा गजबको अनुभव। त्यो अनुभवबाट म बन्चित हुनु परेन। उसको हरेक गतिविधि नियाल्न पाएँ।
समय कति चाँडै बित्ने रहेछ। आउने शिवरात्रिमा बाबु पाँच वर्षको हुन्छ। उ सानोमा एकदम ज्ञानी थियो। धेरैले बुद्ध भगवान जस्तो भन्नुहुन्थ्यो। त्यसपछि फेरि चकचके स्वभावको भयो। उसको स्वभावको फेरबदल हेर्न पाउँदा रमाइलो लागिरहेको छ। त्यसले गर्दा उसलाई झन् बढी बुझ्न सकेको हो कि जस्तो लाग्छ।
स्कुल जाने उमेर भयो। कसरी पठाउने होला भन्ने लागेको थियो। बाबु त खुसी भएर स्कुल गयो। उ आफै खुसी भएको देखेर मैले धेरै चिन्ता लिनै परेन। उसको स्कुलमा चारदिन चैँ अभिभावकहरू गएर हेर्न पनि पाउँछ। त्यसले गर्दा मलाई सहज नै छ।
पढाईसँगै अरू क्रियाकलापमा पनि म उसलाई सक्रिय बनाउन प्रयत्न गर्छु। पढाइ त छँदै छ अरूतिर पनि उसको रूचि बढोस् भन्ने चाहन्छु। उसको बाबालाई फुटबल एकदम मनपर्छ। म संगीत क्षेत्रमा छु। उसमा खेलकुद र संगीतको पनि केही ज्ञान होस् भन्ने लाग्ने नै भयो।
अहिले त सानै छ। पछि गएर जे गरे पनि राम्रो गरोस्। त्यही भएर अहिले हामीले तत्काल अर्को सन्तानको बारेमा सोचेका पनि छैनौँ। सकेसम्म उसलाई नै अझै समय दिनु छ। अहिले यसो सम्झिँदा आफैंले धेरै कुरा सिके जस्तो लाग्छ। अब त श्रीमान श्रीमती मात्र सीमित भएनौँ। हामी दुवैले आफ्नो समय मिलाएर बाबुलाई समय दिनुपर्ने छ। केही जिम्मेवारी थप भएको महसुस भएको छ।
प्राय: हामी घुम्न जाँदा उसलाई पनि लिएर जान्छौं। आफैंले समय व्यवस्थापन गर्न पनि जान्नुपर्ने रहेछ। अब आमाबुबा पनि भैयोँ, हामीसँग उसको जिम्मेवारी छ भन्ने भइरहने रहेछ। मेरो लागि त मातृत्व अनुभव एउटा आशीर्वादसरह नै भएको छ।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
फागुन २०, २०८० आइतबार १८:४८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।