सालीन घटना अनुसन्धान गिजोल्न कांग्रेसको हतारो, यूट्युवमा बस्नथाल्यो यूट्युवरको इजलास

सालीन घटना अनुसन्धान गिजोल्न कांग्रेसको हतारो, यूट्युवमा बस्नथाल्यो यूट्युवरको इजलास

काठमाडौँ : एक साता अगाडि चितवन-रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा मृत फेला परेकी १४ वर्षिया किशोरी सालीन पोखरेलको घटनालाई दोस्रो 'निर्मला पन्त' भन्दै सामाजिक सञ्जालमा उछाल्नेक्रम तीव्र भइरहेको बेला प्रमुख दलका शीर्ष नेताहरूले समेत घटनाबारे बोलेका छन्।

घटनाबारे प्रहरी अहिले प्रारम्भिक चरणमै रहेको देखिन्छ। घटनास्थल मुचुल्का, जाहेरीमा तोकिएका विद्यालयका तीन जिम्मेवार पदाधिकारी र सिसिटिभी फुटेजको विश्लेषणसँगै विद्यालयमा रहेकाहरूसँग जानकारी लिन प्रहरी केन्द्रित देखियो।

हत्या हो या आत्महत्या, बलात्कार हो या हैन भन्ने प्रमुख प्रमाण पोस्टमार्टम रिपोर्ट हो। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीका अनुसार पोस्टमार्टमका लागि शव काठमाडौँ शिक्षण अस्पतालमा रहेको पोस्टमार्टम गृहमा ल्याइएको छ। पोस्टमार्टमपछिको प्रतिवेदन प्रहरीले पाइसकेको छैन।

तर सामाजिक सञ्जाल विशेष गरी यूट्वरमा यूट्वरहरुको आफ्नै इजलासले खडा गरेर भटाभट निष्कर्ष दिन सक्रिय भइसके। उनीहरू घटनालाई सकेसम्म शङ्कास्पद बनाउन सक्रिय देखिएका छन्।

अनुसन्धान अनि प्रमाणबाट बलात्कारपछि हत्या भएको पुष्टि भएको कञ्चनपुरकी किशोरी निर्मला पन्तको घटनासँग जोडेर सालीन घटनाको चर्चा सुरु भएर हो या अपराधप्रति प्रमुख दलका प्रमुख नेता गम्भीर भएर हो, घटनाको एक सातापछि शनिवार प्रमुख दल र प्रमुख दलका नेताहरूले सालीन घटनाबारे आफ्ना धारणा सामाजिक सञ्जालबाट सार्वजनिक गरे।

एक सातापछि प्रमुख दल र नेताको चासो

शनिबार नेपाली कांग्रेस, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सालीन घटनाबारे आफ्ना धारणा सार्वजनिक गरे। एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको अभिब्यक्ती संयमित देखिन्छ। कांग्रेसको विज्ञप्ती माहोल गिजोल्ने उदेश्य प्रेरित देखिन्छ।

नेपाली कांग्रेसको मुख्य सचिवले जारी गरेको विज्ञप्तिमा सालीन मृत्यु घटनाबारे सार्वजनिक भएको 'शङ्कास्पद विवरणहरू' प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

कांग्रेसले घटनाको शङ्कास्पद विवरणको रूपमा विज्ञप्तिमा झुन्डिएको अवस्थामा मृत भेटिनु, त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति' गम्भीर रहेको उल्लेख गरेको छ।

कांग्रेसले घटनाको गहन अनुसन्धान, छिटो तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको छ।

अन्य पार्टीबाट कांग्रेसले जस्तो विज्ञप्ति वा शङ्काका कारणहरू सार्वजनिक गरेका छैनन्। एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमा लेखेर 'सालीनको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको' उल्लेख गरेका छन्।

उनले यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् भन्दै 'यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुने, हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस्' लेख्दै सबैलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रियादिने शृङ्खलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जोडिए। उनले सामाजिक सञ्जालबाट 'स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका सालीन पोखरेलको मृत्युले गम्भीर र दुखी तुल्याएको' भन्दै 'घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको र घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको लेखे।

प्रहरीले खुलाएको पाँच विवरण

अझैँ अनुसन्धान सफल नभएको निर्मला बलात्कार र हत्याको संवेदनशील घटनासँग सालीन घटना जोडेर चर्चा हुन थालेपछि शनिवारै जिल्ला प्रहरी कार्यालय चितवनले पनि अनुसन्धानको अवस्थाबारे जानकारी दिँदै विज्ञप्ति जारी गर्यो।

प्रवक्ता समेत रहेका डिएसपी श्रीराम भण्डारीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा प्रहरीले घटना र अनुसन्धानको अवस्थाबारे खुलाएका विवरण यस्तो छ।

-२०८०/११/१२ गते बिहान १०:३० बजेको समयमा चितवन रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत वर्ष १४ की छात्रा सोही स्कुलको होस्टेलको अन्य साथीहरू सहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डी मृत्यु भएको घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ सिनियर प्रहरी अधिकृतको कमान्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा गएको।

-घटनास्थल र शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरी हाल घटनाको गम्भीर अनुसन्धान भइरहेको।

-बालबालिकाको मृत्यु जस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भिर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भई रहेको।

-वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने र घटनाको तथ्य परक बस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको।

-अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको।

परिवारको पाँच शङ्का

मृतक किशोरीका बाबु/आमा लगायतका परिवारका सदस्यहरूले घटनाबारे विभिन्न शङ्काहरू सार्वजनिक गरिरहेका छन्। आमा/काका/बाबु लगायतका परिवारका सदस्यहरूले सार्वजनिक गरेको शङ्काहरूमा चार शङ्का भने समान देखिएका छन्।

१. मृतक किशोरी सानै हुँदा नै आमाबुबाको डिभोर्स भइसकेको खुल्यो। आमा वैदेशिक रोजगारीमा रहेको र उनी मामाघरको संरक्षणमा रहेको देखिन्छ। परिवारका सदस्यहरूले विद्यालय नजिकै मामाघर हुँदा पनि प्रहरीलाई खबर गरेको विद्यालयले परिवारका सदस्यलाई किन ढिला जानकारी गराएको भन्ने प्रश्न गरिरहेका छन्।

२. प्रहरीले दिएको र सार्वजनिक भएको घटनाक्रममा शनिवार होस्टलमा सँगै बस्ने साथीहरू खाना खान जान लाग्दा उनी जुत्ता धोइरहेको र पछि खान आउँछु भनेको, उनीहरू कोठामा फर्कँदा ढोका नखुलेको र शिक्षक आएर जोड लगाएर ढोका खोलेको देखिन्छ।

किशोरीको बाबुले परिवारको अनुपस्थितिमा होस्टेलको ढोका फोडिएकाले पनि आफूलाई घटनाबारे शङ्का बढाएको तर्क गरेका छन्।

३. किशोरीको बाबुले नै आत्महत्या गरिएको ठाउँमा पुग्दा सरसफाइ गरिएको भन्दै यसलाई पनि घटना आत्महत्या नभएको तर्कसँग जोडेका छन्।

४. चौथोमा सालीनले लगाएका कपडाहरू सबै भिजाइएको र प्रमाण नष्ट गर्न त्यसो गरिएको विशेष मृतक किशोरीको बाबुको तर्क देखिन्छ।

५. घटनापछि परिवारका सदस्यहरूले विद्यालयका प्रधानाध्यापकसहितको नाम किटेरै जाहेरी दिन प्रयास गरेको सार्वजनिक भइसकेको छ। तर प्रहरीले प्रारम्भमा उजुरी दिन तर नाम किटेरै जाहेरी नदिन भनेको मृतक किशोरीको आमाले बताएकी छिन्।

तर परिवारका सदस्यले किटानीको सट्टा कसैको नाम नकिटी ठाडो उजुरी दिन प्रहरीले गरेको अनुरोधलाई नै घटना शङ्कास्पद भएकोमा लगेर जोडिरहेको देखियो।

परिवारका सदस्यले किटानी जाहेरी नलिएसम्म शव नबुझ्ने अडान लिएपछि मङ्गलवार प्रहरीले किटानी जाहेरी लिएर विद्यालयका तीन जनालाई पक्राउ गरेर अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

सालीन र निर्मलाको घटनाको  केही भिन्नता

सालीनको परिवारले बलात्कारपछि हत्या गरेको आशङ्का गरेको आधारमा अहिले विशेषगरि सामाजिक सञ्जालमा सालीन घटनालाई निर्मला घटनासँग जोडेर चर्चा भइरहेको छ।

परिवारका सदस्यले गरेको दाबीमा बलात्कार र हत्या बाहेक यी दुवै घटनाको अन्य प्रकृति भने भिन्न छन्।

निर्मलाको बलात्कार र हत्या भएको घटनास्थल सुनसान र त्यहाँ भएका घटनाक्रम रेकर्ड हुनसक्ने कुनै प्रविधि नभएको स्थानमा भएको थियो। यही कारणले समेत निर्मला हत्या र बलात्कारको अनुसन्धान निकै जटिल बन्यो।

सालीनको शव विद्यालयको होस्टलमा फेला परेको हो। उनको कोठा बाहिरसम्मको गतिविधिबारे प्रहरीले सिसिटिभी फुटेज समेत बरामद गरिसकेको छ।

निर्मलाको शव पानी जमेको खेतमा फेला परेको थियो जहाँ भौतिक प्रमाण सङ्कलन गर्न निकै कठिन थियो। त्यसले समेत अनुसन्धान प्रभावित पारेको थियो। तर सालीनको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो। पानीको आहालमा डुबेको शवको भन्दा कोठामा झुन्डिएको शवको भौतिक प्रमाण र मुचुल्का सङ्कलन सहज हुने नै भयो।

त्यसैले यी दुवै घटनाको प्रकृति भिन्न छ नै प्रमाण सङ्कलन निर्मलाको घटनामा भन्ला सालीनको घटनामा सहज छ। अहिलेसम्म प्रहरीले के-के प्रमाण सङ्कलन गर्यो पूर्ण विवरण खुलेको छैन। हत्या हो या आत्महत्या त्यो देखाउने मुख्य आधार पोस्टमार्टम रिपोर्ट नै आएको छैन। 

प्रहरी अनुसन्धानबाट परिवारका सदस्यहरुले उठाएका पाँच शंकाको चित्तबुझ्दो निष्कर्ष देखिन्छ या देखिन्न? समय बाँकी नै छ। तर निर्मला पन्तको बलात्कार र हत्या घटनालाई जसरी रहस्यमय बनाउँदै अनुसन्धानलाई दिग्भ्रमित बनाउने काम भएको थियो, सालीन घटनामा पनि त्यो प्रयास सुरु भइसकेको देखिन्छ।

१९ फागुन, २०८०, २२:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।