अपाङ्ग संघको अनियमितता विषय संसदमा पुग्यो, कार्यदल बनाएर व्यवस्थापन नियन्त्रणमा लिन तोसिमाको माग

अपाङ्ग संघको अनियमितता विषय संसदमा पुग्यो, कार्यदल बनाएर व्यवस्थापन नियन्त्रणमा लिन तोसिमाको माग

काठमाडौं : जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रको बेथिति र त्यहाँ रहेका अपाङ्गता भएकाहरूको बिजोगको विषय संसदमा प्रवेश गरेको छ।

नेपाल अपाङ्ग सङ्घका पदाधिकारीहरूले स्रोत र साधनको दुरुपयोग गर्दै केन्द्रमा रहेका अपाङ्गता भएकाहरूका लागि आइरहेका स्रोतमाथि गरेको दोहनबारे उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आइरहेको छ।

उकेरामा प्रकाशित समाचारको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले केन्द्रको अनुगमन गरेकी थिइन्। अनुगमनका क्रममा देखिएका विषयहरूलाई उनले संसदमा उठाएकी हुन्।

संसदमा केन्द्रको अनुगमनका क्रममा देखिएका विषय उठाउँदै उनले भनिन्, ‘एउटै कोठामा ७/८ जनालाई कोचेर राखिएको रहेछ। दिसा-पिसाब गन्हाएर कोठामा बस्न सक्ने अवस्था छैन। केन्द्रको नाममा सरकारी बजेट जान्छ। दर्जनौँ रोपनी जग्गा छन्। दाताहरूबाट सहयोग आउँछ। तर आम्दानी र खर्च पारदर्शी छैन।’

उनले अपाङ्गता भएका व्यक्तिका परिवारसँग अवैध रूपमा ५५ लाखसम्म उठाइएको अनि विद्यार्थीहरूबाट मासिक ६ हजार रुपैयाँ उठाएको भन्दै उनले केन्द्रका पदाधिकारीहरूले त्यहाँ रहेका अपाङ्गता भएकाहरूलाई नवजीवन नभई नर्क जीवन दिइरहेको बताएकी थिइन्।

उनले खगेन्द्र नवजीवन केन्द्रको अवस्था अत्यन्त दयनीय रहेको भन्दै तत्काल कार्यदल बनाएर अनुगमन गरी केन्द्रको व्यवस्थापन नियन्त्रणमा लिन आग्रह गर्दै भनिन्, ‘हामीले पाठ्यक्रममा समेत पढ्ने खगेन्द्र नवजीवन साँच्चिकै नवजीवन जस्तै होस्।’

उकेराले मंसिरदेखि निरन्तर अपाङ्ग संघका पदाधिकारीहरूले खगेन्द्र नवजीवन केन्द्रको जोरपाटीमा रहेको स्रोतको दोहन, क्यान्टिनको आवरणमा किशोर-किशोरीमाथि भएको यौन अपराध, अस्पताल, विद्यालय सञ्चालनको अवस्था, अपाङ्गता भएकाहरूमाथि सञ्चालकहरुले गरेको ब्यबहार, आर्थिक अनियमितता र वर्तमान पदाधिकारीको वैधानिकताबारे समाचार प्रकाशित गरेको छ।

यौन अपराध,  एकै परिवारका अपाङ्गता भएका तीन व्यक्तिलाई केन्द्रमा राख्न संघका पदाधिकारीले अवैध रुपमा ५५ लाख लिएको लगायतका विषय जिल्ला प्रशासन कार्यालय काठमाडौँ अनि प्रहरी वृत्त बौद्धमा समेत पुगिसके पनि विस्तृत अनुसन्धान र कारबाही हुन सकेको छैन।

अपाङ्ग संघमा अपराध श्रृङ्खलाका यसअघिका समाचार:

फागुन १८, २०८० शुक्रबार २०:५१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।