अपाङ्ग संघमा बदमासी-५ : संघको सदस्य नै नभएका व्यक्ति अध्यक्ष!, सहकारी ठगीमा पनि जोडिए साम्देन

अपाङ्ग संघमा बदमासी-५ : संघको सदस्य नै नभएका व्यक्ति अध्यक्ष!, सहकारी ठगीमा पनि जोडिए साम्देन

काठमाडौं : नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा पदाधिकारीहरूको बदमासी सार्वजनिक भइरहँदा अध्यक्ष साम्देन लामा नै अवैधानिक ढङ्गबाट नेतृत्वमा पुगेको बाहिरिएको छ।

उकेराले संघमा भएको बदमासीबारे निरन्तर सामग्री प्रकाशित गर्दै आएको छ। यसअघि अपाङ्गता भएकालाई केन्द्रमा राख्न परिवारका सदस्यसँग ५५ लाख असुलेको, यौन दुर्व्यवहार भएको, अवैध रूपमा क्यान्टिन चलाएकोबारे समाचार प्रकाशित भइसकेको छ।

उकेराको खोजमा वर्तमान अध्यक्ष साम्देनको वैधताबारे शङ्कास्पद विवरणहरू फेला परेका छन्। लामा २०७९ मङ्सिर १९ गते अध्यक्षमा निर्वाचित भएका थिए। तर, जुन बेलामा उनी अध्यक्षको उम्मेदवार बने त्यो बेलामा उनी संघको सदस्य भएको प्रमाण देखिँदैन। जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत यसबारे अध्ययन गरिरहेको छ।

महासङ्घको अवधारणा अनुसार २०४० सालदेखि जनकपुर, झापा, काठमाडौँ, नेपालगन्ज, कैलाली र दाङमा संघको शाखाहरू रहेका छन्।

यी शाखा कार्य समितिद्वारा आजीवन र साधारण सदस्य माग गर्ने व्यक्तित्वहरूलाई केन्द्रको विधानको दफा ८ (१) क र ख अनुसारको शुल्क लिई सदस्यता प्रदान गर्ने विधानमा उल्लेख छ।

सदस्य बनेको २ वर्षसम्म कार्य समितिको उम्मेदवार हुन नपाउने र त्यसपछि जिल्ला कार्य समितिबाट सभापति १ र अपाङ्गता भएका र नभएका १३ जना सदस्यहरूको  मतदानमार्फत नेतृत्व चयन गर्ने संघको विधानमा उल्लेख छ।

यसरी भएको निर्वाचन पश्चात् पहिलो कार्य समितिको बैठकद्वारा उपसभापति, सचिव, कोषाध्यक्ष, उपसचिव र उप-कोषाध्यक्षको पद बाँडफाँड गरी ४ जना मनोनीत एवं अन्तर सभापतिसहित १९ जनाको कार्यसमिति रहने गर्छ।

कार्यसमितिमा सदस्यता प्राप्त गरेकाहरूको जिल्ला कार्य समितिमा निर्वाचितबाट प्रत्येक ३ वर्षमा अधिवेशन हुने गर्छ। यही अधिवेशनबाट केन्द्रीय कार्य समितिको निर्वाचन हुने गर्छ।

सदस्यता नभएका व्यक्ति कसर अध्यक्ष ?

तर, केन्द्रका जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्यहरूद्वारा व्यक्तिगत स्वार्थ पूरा गर्न विधानको दफा ९ (१) ग बमोजिम कुनै पनि शाखामा आजीवन तथा साधारण सदस्यता समेत नभएका अध्यक्ष लामालाई केन्द्रीय कार्य समितिले सदस्यमा मनोनीत गरेको अधिवक्ता समेत रहेका संघका पूर्व विद्यार्थी तथा आजीवन सदस्य विदुर थापाले बताए।

उनका अनुसार तत्कालीन काठमाडौं जिल्ला शाखा सभापति बलराम अर्यालको नेतृत्वमा २०६७ सालमा निर्वाचित कार्य समितिले अन्तिम पटक २०६९ सालमा सदस्यता प्रदान गर्ने निर्णय गरे पश्चात् हालसम्म सदस्यता प्रदान गर्ने अर्को निर्णय भएकै छैन।

‘२०७० असार २८ मा भएको जिल्ला शाखा सभापतिले निर्वाचन अधिकृत जानकी प्रसाद गिरीलाई उपलब्ध गराएको मिति २०७० असार २० गतेको चलानी नम्बर २६/०६९/०७० को ९ पृष्ठको ३ सय ४२ जनाको नामावलीबाट प्रस्ट हुन्छ,’ उनी भन्छन्,  ‘त्यसै क्रममा पठाएको नामावलीमा रहेका ३४२ जना मध्ये प्रा डा अनन्तराज पौडेल, पूर्व अध्यक्ष सुरेन्द्र ब. बस्नेत, डा भोलानाथ चालिसे, डा अनिल ब. श्रेष्ठ लगायतका व्यक्तिहरूको नाम हटाई जिल्ला शाखामा सदस्यता नै नभएका अन्य व्यक्तिहरू थपी ४ सय ६० जना सदस्य कायम गरेको छर्लङ्गै छ।’

उनले जिल्ला कार्य समितिका सभापतिले पठाउनुपर्ने मतदाता नामावली केन्द्रीय अध्यक्ष र महासचिवले विना आधार प्रमाण हचुवाको भरमा सदस्यता नामावली पठाई निर्वाचन गरी निर्वाचित भएको घोषणा गरिएको विगत र हालको मतदाता नामावलीबाट प्रस्ट हुने बताउँछन्।

संघमा केन्द्रीय सदस्यको सदस्यता प्राप्त नगरेका लामालाई विधान विपरीत मनोनीत गरी जनकपुरमा सम्पन्न भएको निर्वाचनमा उम्मेदवार बनाएर अध्यक्षमा निर्वाचित गरेको उनको भनाइ छ।

अहिले तत्कालीन सभापति अर्यालको मृत्यु भइसक्यो। संस्था दर्ता ऐन २०३४  विपरीत हुने गरी जिल्ला कार्य समिति र केन्द्रीय कार्य समितिको मिलिभगतमा सदस्य नै नभएका व्यक्तिलाई अध्यक्ष बनाएको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि निवेदन दिएका थिए।

गएको कार्तिक ३ गते जिल्ला प्रशासन कार्यालयले ‘निर्णय विना सदस्य थप गर्ने र सदस्य नभएका व्यक्तिलाई संस्थाको कार्यसमितिमा राख्ने काम भएको हो/होइन ? निर्णयबाट सदस्य राख्ने र सदस्य भएका व्यक्तिलाई मात्र कार्य समितिमा राखेको भए थप भएका सदस्यहरूको थप गर्ने निर्णय सहितका कागजात, सदस्यताको प्रमाणपत्र समेत प्रमाणित गरी त्यस संस्थाको स्पष्ट प्रतिक्रिया पठाउन’ भनिएको थियो।

शाखाबाट सबै कागजात आए पनि यसबारे अझै अनुसन्धान चलिरहेकाले अध्यक्ष लामा वैधानिक कि अवैधानिक भनेर अहिले भन्न नमिल्ने जिप्रका काठमाडौंका अधिकारी बताउँछन्।

गलत हो भने  सजाय भोग्न तयार छु

यता अध्यक्ष लामा आफू वैधानिक ढंगबाटै निर्वाचित भएको दाबी गर्छन्।

‘सदस्य नभएको भए निर्वाचनमा जान पाउँछ र? यो केन्द्र त हामीले सानैदेखि देखिरहेको हो। सानैदेखि केही न केही रूपमा हाम्रो टोलबाट त्यहाँ सहयोग गर्दै आएका हौँ। त्यसैबेलादेखि साधारण सदस्य त भएकै हो नि!’, उनको दाबी छ।

यसअघि चुनावमा प्रतिद्वन्द्वी भएकाहरूले हार सहन नसकेर स-सानो कुरामा आरोप लगाउँदै आएको उनको भनाइ छ।

‘वैधानिक भएको पुष्टि गर्ने केही प्रमाण देखाउन सक्नुहुन्छ त?’ भन्ने उकेराको प्रश्नमा उनले भने, ‘म सबै प्रमाण देखाउन तयार नै हो नि! कागजात सबै अफिसमा छ। अफिसमा ताला लगाएको कुरा त तपाईंहरूलाई थाहा नै छ। जिल्ला शाखाबाट जिल्ला प्रशासनमा सबै प्रमाण पठाएकै पनि हो। अब उहाँहरूले पनि आफ्नो कुरा सार्वजनिक गर्नु नै होला। केही कागजात त आगलागीमा परेर पनि हो। म गलत हो भने सजाय भोग्न तयार छु।’

जिल्ला शाखाबाट जिल्ला प्रशासनमा पठाएको पत्र उनले उकेरालाई पनि दिने बताएका थिए। तर, यो समाचार तयार परिसक्दा समेत उनले पठाएका छैनन्।

सहकारी ठगीको समेत आरोपी हुन् लामा

स्रोतका अनुसार गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर तथा काठमाडौं ३ का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेलाई लामाले २०७९ को चुनावमा सहयोग गरेका थिए। त्यसैका आधारमा चालिसेले नै लामालाई केन्द्रको सदस्य बनाएको र अध्यक्ष बन्न समेत सहयोग गरेका थिए।

लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। त्यसैले नगरपालिकाको नेतृत्वले समेत उनीमाथि गम्भीर प्रश्न उठ्दा समेत समस्या समाधानमा चासो देखाएको छैन।

लामा गोकर्णेश्वर नगरपालिका-५ को मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रहेको बचतकर्ताहरूको रकम हिनामिनामा समेत जोडिएका व्यक्ति हुन्।

अहिले सहकारीको अध्यक्ष इन्द्र लामा छन्। सहकारीले बचतकर्ताहरूको करिब ११ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने देखिएको थियो।  लामा २०७५ मा सहकारीको अध्यक्ष भएका हुन्। त्यस अगाडि साम्देन सहकारीको अध्यक्ष थिए। उनी २०६३ देखि २०७५ सम्म सहकारीको अध्यक्ष भएका थिए।

 सहकारीको अहिले रहेको सात करोड ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलाको रहेको देखिएको थियो।

अपाङ्ग संघमा अपराध श्रृङ्खलाका यसअघिका समाचार:

२९ मंसिर, २०८०, ०७:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।