अपाङ्ग संघको गम्भीर घटनामा महिला आयोगको भद्दा मजाक! प्रतिवेदन सार्वजनिक भन्दै जनचेतना कार्यक्रम गरेर हिँडे

अपाङ्ग संघको गम्भीर घटनामा महिला आयोगको भद्दा मजाक! प्रतिवेदन सार्वजनिक भन्दै जनचेतना कार्यक्रम गरेर हिँडे

काठमाडौँ : केही दिन अगाडि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र पुगेर अनुगमन गरेको महिला आयोगले' केन्द्रमा यौन दुर्व्यवहारको घटना भएको देखिएको' भन्दै विज्ञप्ति निकाल्यो।

आयोगले शुक्रवार बिहान ११ बजे त्यही केन्द्रमा कार्यक्रम राखेको थियो। कार्यक्रममा निमन्त्रणा गर्दा आयोगका पदाधिकारीले' रिपोर्ट सार्वजनिक गर्ने' बताएका थिए।

आफूहरूमाथि भएको अपराध र अन्याय विरुद्ध आयोगले कार्यक्रम गरेको आसमा केन्द्रका अपाङ्गता भएका व्यक्तिहरू 'खगेन्द्र नवजीवन केन्द्र सामुदायिक हल' मा उपस्थित भएका थिए।

तोकिएको समयभन्दा अगाडि नै आयोगका पदाधिकारीहरू आइपुगे। केही समयमै हल भरिभराउ भयो। मञ्च पनि भरिभराउ भयो।

आयोगका अध्यक्ष कमला पराजुली, प्रवक्ता तथा सदस्य कृष्ण कुमारी पौडेल खतिवडा सहित अन्य पदाधिकारी सहभागी थिए। गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल, उप-मेयर सान्नानी लामा, जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्मा, प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे लगायत वडाको प्रतिनिधि पनि उपस्थित थिए।

केही बेरमै सङ्घका अध्यक्ष अध्यक्ष साम्देन लामा कार्यक्रम हलमा आएर मञ्चमा बसे। केन्द्रमा रहेकाहरू प्रतिवेदन सार्वजनिक हुन्छ, केन्द्रमा के-के भइरहेको छ भनेर सोध्छन् होला भनेर टिपोट पनि गरिरहेका थिए।

तर, कार्यक्रम अघि बढ्दै जाँदा आन्दोलनरत अपाङ्गता भएका व्यक्तिहरूलाई बोल्न दिइएन। उनीहरू रिसाएर सबै अगाडी आउन थाले पछि आयोगका पदाधिकारीहरूले समय थोरै छ भन्दै छोटोमा आफ्नो प्रश्न राख्न भने।

केन्द्रका आजीवन सदस्य विदुर थापाले आफूहरूले न्याय माग्न जाँदा प्रहरीले निवेदन दर्ता गर्न नमानेको देखि सिडिओ अफिसमा गएर रित्तै फर्कन परेको भन्दै केन्द्रमा भएको महिला हिंसा र यौन दुर्व्यवहारको घटना कसले अनुसन्धान गर्ने भनेर प्रश्न गरे।

प्रश्नको कसैले जवाफ दिएनन्। बरु उल्टै व्यक्तिगत आक्षेप नलगाउनु भन्न थाले। कार्यक्रम अगाडी बढिरह्यो। मञ्चमा 'महिला हिंसा विरुद्ध न्यूनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम'को ब्यानर टाँसियो।

अहिले अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ। आयोगले केन्द्रमा रहेका महिलामाथि भएको यौन हिंसाको अनुगमन रिपोर्ट सार्वजनिक वा अनुगमनमा देखिएको विषयबारे सबै सरोकारवाला निकायका प्रतिनिधीहरुसँग छलफल हैन सचेतना कार्यक्रम पो आयोजना गरेको रहेछ।

कार्यक्रम चल्दै गयो, सहभागी निराश हुँदै गए। केन्द्र कि आजीवन सदस्य गायत्री दाहाल आफूमाथि हातपातबारे बोल्न त दिइयो  तर, उनले आफ्नो कुरा राख्न नपाउँदै समय कम छ भन्दै रोकियो।

'अतिथि'हरुले कार्यक्रमको ब्यानर अनुसारै गफ दिन थाले।

मेयर रिसाललाई हतार भयो भन्दै मञ्चमा बोल्न दिइयो। उनलाई सहभागीले केही प्रश्न गरे उनले नगरपालिकाले अहिलेसम्म केन्द्रको लागि कति खर्च गर्यो, कति व्हील चियर बाँड्यो भन्ने सूची सुनाउँदै लैङ्गिक हिंसाको बारे आफू सचेत रहेको बताएर हिँडे ।

उपमेयर लामा पनि 'न्यायिक समितिले छिट्टै बैठक राख्ने' भन्दै निस्किइन्। बिस्तारै पदाधिकारीहरू आफ्नो कुरा राख्दै निस्किन थाले। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले आफू आएको भर्खरै दुई महिना भएको र सबै भन्दा बढी गुनासो यही केन्द्रको हेरेको बताए।

उनले अझै छानबिन बाँकी  रहेकाले प्रमाण पर्याप्त भए पछि कुन निकायले के गर्ने भनेर ठोस निर्णय गर्न मिल्ने बताए। केन्द्रकाहरुले प्रश्न गर्न खोज्दा उनी निस्किहाले।

बौद्धका डिएसपी पाण्डेले केन्द्रको अध्यक्षसँग आफू पनि मिलेको भन्ने आरोप सुनेको तर त्यो सत्य नभएको प्रस्टीकरण दिए। तर उनले संस्थामा व्यक्ति राख्न एकै परिवारसँग ५५ लाख रकम लिएको, केन्द्रमा रहेका महिलामाथि यौन दुर्व्यवहार भएको लगायतका गम्भीर विषयमा त्यति चासो राखेनन्।

साढे तीन घण्टा कार्यक्रम चल्यो। आयोजकले तस्बिर खिच्न सहभागीलाई बोलाए। उनीहरू गएनन्। केन्द्रका केही टोली चौरमा छलफल गर्न बसे। उनीहरू निकै निराश र आक्रोशित देखिए।

'यत्रो ठुलो कार्यक्रम भयो। यति धेरै मान्छे आए। सम्बन्धित सबै जना भएको बेला कसैले पनि अध्यक्षलाई यसबारे के भएको हो, भनेर प्रश्न गरिएन,' उनीहरू भन्दै थिए।

'कसैले नहेरेको, केही सहयोग नगरेकोमा आयोगले हेरेको जस्तो लागेको थियो। तर, उनीहरूले पनि आफ्नो कार्यक्रमको लागि हामीलाई प्रयोग गरेको जस्तो पो लाग्न थाल्यो। बरु पहिला नै तपाईँहरूको सुनुवाइ अहिले हुँदैन, यो हाम्रो कार्यक्रम मात्र हो भनेको भए हामी यति धेरै आस पनि राख्दैन थियौँ नि !,' आन्दोलनरत जेनिसा कडायतले भनिन्।

प्रतिवेदन सार्वजनिक भनेर झुक्क्याए

उकेरालाई पनि आयोगले केन्द्रको अनुगमनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भनेर बोलाइएको थियो। उकेराले केन्द्रका पदाधिकारीले एकै परिवारका तीन जना सदस्य केन्द्रमा राख्दा ५५ लाख असुलेको अनि यहाँ रहेका महिलामाथि यौनदुर्व्यवहारबारे समाचार प्रकाशित गरेको थियो। प्रतिवेदनमा थप तथ्य भेट्ने आसमा कार्यक्रममा सहभागी हुँदा निराश मात्र भइयो।

कार्यक्रम सुरु हुने बेलामा कार्यक्रम सकिएपछि प्रतिवेदन दिन्छु भनेकी आयोगकी प्रवक्ता पौडेलले अझै अनुगमन बाँकी नै रहेको र अहिले नै केही पनि भन्न नमिल्ने पो बताइन्।

सम्बन्धित समाचार

१५ मंसिर, २०८०, ००:०४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।