इलाम- २ को उप-निर्वाचनमा चितवन र तनहुँको नतिजा दोहोर्‍याउँला रास्वपाले !

इलाम- २ को उप-निर्वाचनमा चितवन र तनहुँको नतिजा दोहोर्‍याउँला रास्वपाले !

इलाम : निर्वाचन आयोगले इलाम-२ को उपनिर्वाचन मिति तोके लगत्तै दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्। एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको प्रतिनिधि सभाको सिटमा लागि वैशाख १५ मा उप-निर्वाचन हुँदैछ।

नागरिकता निष्क्रिय रहेको सर्वोच्चको फैसला अनि रामचन्द्र पौडेल राष्ट्रपतिमा र  रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको चितवन-२ र तनहुँ-१ र बारा-२ मा भएको उप-निर्वाचनमा चितवन र तनहुँमा रास्वपाका उम्मेदवार विजयी भएका थिए। बारामा भने उपेन्द्र यादवले जितेका थिए।

इलाम–२ मा उप-निर्वाचनको मिति तय भए लगत्तै नतिजा आफ्नो पक्षमा पार्न एमाले र कांग्रेस, रास्वपासहितका जिल्ला तहका नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन्।

गठबन्धनमा रहेका माओवादी केन्द्रसहितका अन्य दलभित्र पनि आकाङ्क्षी छन्। २०७९ मंसिर ४ को निर्वाचनमा भएको गठबन्धनमा सो क्षेत्र कांग्रेसले पाएको थियो।

कांग्रेसभित्र एक्लै निर्वाचनमा सहभागी हुनुपर्ने आवाज बढेसँगै इलाम-२ मा गठबन्धन कायम हुन्छ या सत्ता गठबन्धनमा रहेका दलहरू एक्लाएक्लै निर्वाचनमा सहभागी हुन्छन् एकिन भइसकेको छैन।

प्रदेशको नामकरणसँगै इलाममा पहिचानको आन्दोलनको राप बढेकाले दलहरू त्यही अनुरूपको उपर्युक्त उम्मेदवारको चयनका लागि आन्तरिक गृहकार्यमा छन्।

कांग्रेसले सुवास नेम्वाङसँग झिनो मतले पराजित भएका डम्बरबहादुर खड्कालाई नै दोहोर्याउने देखिन्छ। उनी इलामका सभापति समेत हुन्। २०७९ को निर्वाचनमा नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए। कांग्रेसबाट खड्का नै उम्मेदवार बन्ने देखिन्छ।

एमालेभित्र उम्मेदवारको रूपमा सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङको चर्चा बढिरहेको छ। तर पार्टीले निर्णय गरिसकेको छैन। उदय राई, रवीन्द्र सुवेदी समेत बलियो आकाङ्क्षी देखिन्छन्।

माओवादी केन्द्र समेत एक्लै इलामको उप-निर्वाचनमा सहभागी हुने रणनीतिमा देखिन्छ। तर निर्णय गरिसकेको छैन। पार्टीभित्र भने इलाम-२ मा पार्टी समेत सहभागी हुनुपर्ने माग बढिरहेको देखिन्छ।

एकीकृत समाजवादीबाट झलनाथ खनाल आकाङ्क्षी देखिएका छन्। पार्टी एक्लै निर्वाचनमा सहभागी भएको अवस्थामा मात्रै उनी उम्मेदवार हुनसक्ने देखिन्छ।

यस अगाडि भएको चितवन-२ र तनहुँको उप-निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको खोजीमा देखिन्छ। रमेश प्रसाईँको नाम चर्चामा रहे पनि रास्वपा इलाममा पहिचानको मुद्दा क्यास गर्न जनजाति समुदायबाट उम्मेदवार उठाउने तयारीमा देखिन्छ।

पार्टी नेतृत्व निरन्तर सहकारीको रकम दुरुपयोग लगायतका प्रकरणमा मुछिँदै आएकाले तनहुँ र चितवनको उप-निर्वाचनको बेलामा जस्तो सकारात्मक माहौल देखिएको छैन रास्वपाको।

इलाममा यस अगाडिको निर्वाचनमा रास्वपाबाट प्रकाश सापकोटा उम्मेदवार बनेका थिए। उनले हजार हाराहारी मत पाएका थिए। इलामको माहौल बुझेर सिफारिस गर्ने जिम्मा रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पाएका छन्।

जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बु रास्वपाबाट उम्मेदवार बन्न इच्छुक देखिएका छन्। तर उनी माओवादी केन्द्रमा आबद्ध छन्। चुनावी अभियान सुरु गरिसकेका उनले पार्टी छाडिसकेका छैनन्।

तनहुँको उपनिर्वाचनमा रास्वपाले कांग्रेसबाट राजनीतिमा सक्रिय रहेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएकाले मिलनको प्रभाव देखिएमा उनी रास्वपाबाट उम्मेदवार हुने सम्भावना कायमै छ। पछिल्लो समय नेपाल पत्रकार महासङ्घको संस्थापक सभापतिबारेको विवादमा प्रकाशित पुस्तक च्यातेर अराजक व्यवहार देखाएका मिलन रास्वपाबाट टिकट नपाएमा उनी पहिचानवादी समूहको समर्थन लिएर स्वतन्त्र उम्मेदवार बन्ने रणनीतिमा समेत देखिन्छन्। 

उप-निर्वाचनमा पहिचानवादी समूह समेत सहभागी हुने तयारीमा देखिन्छन्। कोशी नामकरणको विरोधमा गठन भएको पुनः नामकरण सङ्घर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिमसहित लिम्बुवानका नेता कुमार लिङ्देनसम्मको नाम आकांक्षीको रूपमा चर्चामा छ।

इलाम- को चुनावी अंक गणितमा एमाले हाबी

१ लाख १५ हजार ३ सय ४२ मतदाता रहेको इलाम-२ मा २०७९ को निर्वाचनमा ५९ हजार १ सय ३६ मत खसेको थियो। निर्वाचनमा एमालेको उम्मेदवारले ३० हजार २० मत ल्याएका थिए। एमाले एक्लै निर्वाचनमा सहभागी थियो। एमाले उम्मेदवारको विपक्षमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारले १ हजार ३ सय ६३, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले १ हजार २ सय ६२ र मंगोल नेशनल अर्गनाइजेशनले उम्मेदवारले १ हजार ३ सय ८० मत पाएका थिए।

२०७९ को निर्वाचनको मत परिणाममा एमाले नै हाबी देखिन्छ। तर प्रदेश-१ को नाम कोशी कायम गरेसँगै बढेको पहिचान पक्षधरहरुको सक्रियताले उप-निर्वाचनको मत प्रभावित पार्ने देखिन्छ। एमाले कोशीको पक्षमा छ। पहिचानको मुद्दाको प्रभाव कांग्रेससहितका दलको मतमा पनि पक्कै पर्ने नै छ।

१६ फागुन, २०८०, ११:५८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।