प्रधानमन्त्री हुँदा केपी ओलीले उद्घाटन गरेको बालगृह अवैध, परिषद्ले छापा मारेर बालबालिकाको उद्धार, यौन दुर्व्यवहारको शङ्कामा अनुसन्धान

प्रधानमन्त्री हुँदा केपी ओलीले उद्घाटन गरेको बालगृह अवैध, परिषद्ले छापा मारेर बालबालिकाको उद्धार, यौन दुर्व्यवहारको शङ्कामा अनुसन्धान

काठमाडौँ : राष्ट्रिय बाल अधिकार परिषद्ले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको लव प्रसाद सुधार सङ्घ, लव प्रसाद बालगृह खारेज गरेको छ। त्यो बालगृहकी सञ्चालिका थिइन् उषा वली जो अपाङ्ग सङ्घको बदमासीमा समेत जोडिएकी छिन्।

वलीले पहाडी चेपाङ बालबालिकाहरू बाल गृहमा राख्ने बहानामा उनीहरूलाई अपाङ्ग सङ्घको आफ्नो क्यान्टिनको काम लगाउँदै आएकी थिइन्।  उजुरीपछि परिषद्ले अनुगमन गरेर बालगृह बन्द गराएको परिषद्का अधिकृत रामबहादुर चन्दले जानकारी दिए।

बालगृहमा राखिएका किशोरीहरूमाथि यौन दुर्व्यवहार लगायतका अपराध भएको सूचनाको आधारमा राष्ट्रिय महिला आयोगले अनुगमन गरेको थियो। आयोगले विज्ञप्ति निकाले पनि अनुगमनपछि तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छैन। उकेराले पटक पटक प्रयास गर्दा पनि आयोगले प्रतिवेदन दिएन।

परिषद् र आयोग सहित स्थानीय तहका कर्मचारी गएर सुन्दरीजलमा रहेको उक्त बालगृहमा मङ्सिर ५ मा छापा मारेका थिए। बालबालिकाको तत्काल उद्धार गर्नु पर्ने देखिएपछि परिषद्ले गोकर्णेश्वर नगरपालिकालाई पत्र काटेको थियो।

'स्थानीय तहसँग पनि अधिकार भएकाले सम्बन्धित पालिकाले पनि निगरानी गरिरहेको रहेछ,' अधिकृत चन्द भन्छन्, 'हामीले अध्ययन गर्दा पालिकासँग अनुमति नलिएको, र बालगृहको मापदण्ड समेत पुरा नगरेको पायौँ। त्यसपछि बालबालिकाहरूलाई उद्धार गरेर मापदण्ड अनुसार चलेको र क्षमता भएको बालगृहमा राख्न निर्देशन दियौँ।'

उजुरी आउनुभन्दा अगाडि पनि पटक पटक मापदण्ड अनुसार चल्न र प्रक्रिया पुर्याएर बालगृह सञ्चालन गर्न परिषद्ले निर्देशन दिएको थियो। बालगृहमा रहेका बालबालिका असुरक्षित रहेको र खाना बस्न स्रोत आफैँले जुटाउनु पर्ने अवस्था थियो।

मापदण्ड विपरीत सञ्चालन भएको र बालबालिकाको लागि अनुपयुक्त भएको पुष्टि भए पनि यौन दुर्व्यवहार भने पुष्टि नभएको उनले बताए। परिषद्ले अहिले बालगृहमा रहेका बालबालिकाहरूको मनोपरामर्श प्रक्रिया चलिरहेको देखियो। परामर्शमा उनीहरूमाथि यौन अपराध भएको खुलेमा सञ्चालिकालाई थप कारबाही हुने उनले बताए।

बालबालिका सम्बन्धी कुनै कागजातै फेला परेन !

पालिकाको महिला विकास अधिकृत गोमा प्रसाईँ त्यसबेला बालगृहको अवस्था निकै दयनीय रहेको बताउँछिन्। उनका अनुसार त्यहाँको बालबालिकाहरूलाई पुनर्स्थापना नभएसम्म नयाँ बालगृहमै राख्ने र परिवारसँग सम्पर्क भएमा परिवारलाई नै पठाउने तयारी गरिएको छ। त्यहाँ रहेका बालबालिकाबारे कुनै कागजपत्र फेला नपरेको उनले बताए।

सञ्चालिका वली गोकर्णेश्वर नगरपालिकामै रहेका अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रका सल्लाहकार समेत रही सकेकी व्यक्ति हुन्। विवाद भए पछि उनले राजीनामा दिइन्। उनले त्यहाँ पनि क्यान्टिन गैर कानुनी रूपमा सञ्चालन गरेको, सम्बन्धित वडा र नगरपालिकाको सिफारिस नलिएको खुलेको थियो।

उनको अपाङ्ग सङ्घमा रहेको क्यान्टिनमा चेपाङ बालबालिकाहरूलाई 'वेटर'को रूपमा काम लगाउन र यौन अपराध समेत हुने गरेको देखिएको थियो। बालगृह भने पनि तीन जना १८ वर्ष नाघेका युवती समेत थिए। उजुरीका आधारमा छापा मार्ने सूचना चुहिएपछि तीन जना बालिगलाई सञ्चालिकाले अन्तै पठाइसकेको महिला आयोगका प्रवक्ता कृष्ण कुमारी खतिवडाले बताइन्।

'बालगृह भन्ने अनि बालिगलाई पनि राख्ने गर्नु भएको पायौँ। त्यसमध्ये एक जना हामीले उद्धार गरेर अन्य बालबालिकासँगै अर्को बालगृहमा राख्न लगायौँ,' उनले भनिन्, 'तर अर्को बालिग युवतीहरूलाई लुकाई सक्नु भएको रहेछ। त्यही भएर यौन अपराधमा सामेल गराइएको हो या होइन भन्ने एकिन हुन सकेको छैन।'

अवैध क्यान्टिनमा ताला लगाउँदा १८ जनामाथि मुद्दा

अपाङ्ग सङ्घमा भएको बदमासीमध्ये त्यहाँ रहेको क्यान्टिन र सञ्चालिका वलीको संलग्नता पनि देखियो। उनले अवैध रूपमा क्यान्टिन चलाएको मात्रै हैन, अपाङ्गता भएकालाई सङ्घमा राख्न भनेर परिवारसँग अवैध रूपमा रकम लिएको समेत खुलेको थियो।

क्यान्टिनबारे सङ्घमा रहेका अपाङ्गता भएका व्यक्तिहरू आन्दोलनमा उत्रिएर क्यान्टिनमा ताला लगाइदिएका थिए। तर सङ्घका अध्यक्ष साम्देन लामाले क्यान्टिन बन्द गराउन चासो नदेखाई उल्टै क्यान्टिनको ताला जबर्जस्त खोल्न लगाएका थिए। 

क्यान्टिनको विवाद बढेर अदालतसम्म पुग्यो। अपाङ्गता भएकाहरूले फेरी तालाबन्दी गरे। अहिले पनि यहाँका १६ जना अपाङ्गता भएकाहरूले अदालतको अवहेलना गरेको मुद्दा खेपिरहेका छन्। क्यान्टिन भने सञ्चालनमै छ।

बालगृह रहेको क्षेत्र सुन्दरीजल वृद्धा आश्रमको नाममा छ, जसको अध्यक्ष लामा नै हुन्। उनै लामाले क्यान्टिन सञ्चालिकालाई बालगृह सञ्चालनको लागि जग्गा दिएको खुलेको छ।

उकेरासँग कुरा गर्दै अध्यक्ष लामाले त्यहाँ दुई रोपनी जग्गा रहेको र त्यो जग्गा स्थानीय तेजबहादुर थापामगरले वृद्धाश्रमको लागि दानमा दिएको बताए।

अहिले जग्गादाताको मृत्यु भइसक्यो। तर जग्गामा वृद्धाश्रमको सट्टा अवैधानिक बालगृह सञ्चालनमा आयो। तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बालगृहको उद्घाटन गरेका थिए।

सञ्चालिका भन्छिन्, 'त्यत्रो जग्गा त्यसै किन राख्नु'

वृद्धाश्रम नभएको र बालगृह पनि अवैधानिक रूपमा चलेको खुलेपछि जग्गा सम्बन्धित वडा/पालिकाले प्रयोग गर्ने तयारी गरेको छ। यसको लागि वडा नम्बर एकका अध्यक्ष द्वारिका श्रेष्ठले त्यस क्षेत्रमा कुनै संस्था खोल्न परे वडाको सिफारिस लिन आउनु भनेर पत्र टाँसेको बताए।

'हामीले पत्र पठाउँदा पत्र बुझ्ने मान्छे पनि भएन। त्यसपछि यहाँ केही गर्न परे पहिला वडामा आउनु भनेर पत्र टाँस्न पर्यो,' उनले भने।

यता पालिकाको प्रशासकीय अधिकृत टेकराज पन्थीले भने परिषद्ले सो बालगृह खारेज भएको पत्र पठाउने बित्तिकै सो जग्गा नगरपालिकाले आफ्नै स्वामित्वमा प्रयोग गर्ने बताए।

तर सञ्चालिका वलीले भने स्थानीय तहको प्रक्रियामा जानु पर्ने भन्ने कुरा आफूलाई थाहा नभएको र छिट्टै नै जग्गामा फेरी प्रक्रिया पुर्याएर बालगृह नै सञ्चालन गर्ने बताइन्।

'मैले बालगृह झापामै दर्ता गरेको हो,' उनले उकेरासँग दाबी गरिन्,'काठमाडौँ आउँदा यताको जिल्ला प्रशासन कार्यालयमा दर्ता पनि गरेको हो। तर स्थानीय तहमा पनि दर्ता गर्नुपर्ने थाह भएन। अब छिट्टै स्थानीय तहको अनुमति लिएर फेरी बालगृह नै चलाउनु पर्ला।'

अपाङ्ग संघमा अपराध श्रृङ्खलाका यसअघिका समाचार:

१५ फागुन, २०८०, १६:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।