चौथो अंग : भारतीय मिडियामा अघोषित संकटकाल छ, स्वतन्त्र पत्रकारहरू सुरक्षित छैनन्

चौथो अंग : भारतीय मिडियामा अघोषित संकटकाल छ, स्वतन्त्र पत्रकारहरू सुरक्षित छैनन्

सन् २०२१ को राम नवमीमा रिपोर्टिङका लागि भारत, पटनाको हनुमान मन्दिरमा गएको थिएँ। म आबद्ध मिडियाले त्यहाँको अबस्थाबारे लाइभ गर्ने योजना बनाएको थियो। त्यही अनुसार काम गरिरहेको थिएँ। भिडियो भइरहेको थियो। मन्दिरमा भक्तजनहरूले ‘जय श्री राम’को नारा लगाइरहेका थिए। मैले त्यहाँ पत्रकारको भूमिका निर्वाह गरिरहेको थिएँ।

त्यही बेला एक जना भक्तजनले म्याडम तपाईंले पनि ‘जय श्री राम’ भन्नु भने। मैले वास्तै गरिनँ। लाइभ गरिरहेको स्थानमा आएर फेरि उसले दोहोराएर ‘जय श्री राम’ भन्नु भन्यो। मैले ‘जय श्री राम’ भन्दिएँ। त्यसपछि त्यो व्यक्तिले भन्यो, ‘मैले त सोचेकै थिइनँ तपाईंले जय श्री राम भन्नुहुन्छ भनेर, तपाईं त पत्रकार मान्छे, तै पनि भन्नुभयो त!’ भनेर अलि होच्याएर बोल्यो।

त्यसपछि मैले उसलाई भनेँ, ‘यो मन्दिर हो जय श्री राम भन्नु कुनै ठूलो कुरा होइन। सडकमा नाराको रूपमा जय श्री राम भनिन्छ भने त्यो चाहिँ आतंक हुन जान्छ। कहाँ भन्ने-नभन्ने कुराले फरक पार्छ।’

यो भनिरहँदा म लाइभमा नै थिएँ। सडकमा नाराको रूपमा जय श्री राम भनिन्छ भने त्यो चाहिँ आतंक हुन्छ भनेकै आधारमा  एक हप्ता बडो तनावमा गयो। ‘जय श्री राम भन्नु नै आतंक भन्ने’ भनेर प्रश्न तेर्स्याइयो। हिन्दूवादी संगठनहरूले त्यो भिडियो डिलिट मात्रै होइन, भिडियोमा नै माफी माग्न भन्दै धेरै धम्क्याए। त्यसो नगरेको खण्डमा जे पनि गर्नसक्ने भन्ने धम्की आयो।

सम्पादकले पनि ‘लौ भिडियो डिलिट गरौँ’ भन्नुभयो। मैले ‘गलत बोलेकै छैन किन डिलिट गर्ने?’ भनेँ। मिडिया हाउसको अफिस नै जलाइदिने, मलाई घरबाटै उठाउने जस्ता धम्की आइरहे। फोन तारन्तार बजिरह्यो। मैले माफी नमाग्ने दोहोर्याइरहेँ।

म काम गरेको मिडियाले ‘माफी माग’ भन्यो। तर मैले आफू माफी नमाग्ने बताएँ अनि आफ्नो मिडिया नभएको कारण भिडियो राख्ने र डिलिट गर्ने अधिकार लगानीकर्ताकै भएको बताएँ। त्यसपछि त्यो भिडियो डिलिट गरियो।

भारतमा सरकारको आलोचना गरिएको छ अथवा अतिवादी हिन्दुवादी संगठनको आलोचना गरेर पत्रकारले लेखेको छ भने त्यसपछि आउने परिस्थितिको सामना पत्रकार एक्लैले गर्नुपर्छ। उसको साथमा न त सम्पादक हुन्छन् न त मिडिया हाउस हुन्छन्। यस्तै भयो मलाई।

समाचार कक्षमा नै रिपोर्टरले लेखेका समाचारको जिम्मेवारी रिपोर्टर आफैँ हो। सम्पादक आफैंले सरकारको आलोचना गर्दा ख्याल गर्नु भनेर सचेत गराउँछन्। पत्रकारलाई घटनाको तथ्य के हो भनेर खोतल्नुभन्दा पनि सरकारको विरोध पो हुन्छ की भन्ने संशय छ। यद्यपि भारतमा केही यस्ता पत्रकार छन्, जसले सरकार र तिनका साइबर सेनासँग नडराइकन पत्रकारिता गरिरहेका छन्।

मिडियामा सरकारको ठाडो हस्तक्षेप 
मैले पत्रकारिता गरेको धेरै समय भएको छैन,  पाँच वर्ष लाग्दैछ। यसअघि म राजनीतिक विश्लेषण गरेर लेखहरू लेख्ने गर्थेँ। अहिले अल इण्डियन रेडियो, दुरदर्शन सरकारी रेडियो, केही डिजिटल मिडिया र केही पत्रिकामा फ्रिलान्सिङ गरिरहेको छु।

सामाजिक र राजनीतिक विषयमा कलम चलाउँछु अनि यौन व्यवसायी र लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबिटिआइक्यु) समुदायको विषयमा रिपोर्टिङ गर्छु। लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयमा किताब पनि लेखिरहेको छु।

भारतको मिडियामा सन् २०१४ देखि अघोषित संकटकाल लाग्यो। यसअघि कांग्रेसको सरकार हुँदा पनि अघोषित संकटकाल नलागेको होइन। तर अहिले जस्तो अवस्था भने थिएन। अहिले समाचार कक्षमा सम्पादकीय स्वतन्त्रता छैन। मूलधारका मिडिया सरकारका प्रवक्ताजस्ता भएका छन्। जसलाई गोदी मिडिया पनि भन्ने गरिन्छ।

जुन पत्रकारहरू सरकारसँग सहमत हुन सक्दैनन्, उनीहरू स्वतन्त्र रूपमा पत्रकारिता गरिरहेका छन्, सरकारका ज्यादतीबारे बोलिरहेका छन्। सन् २०१४ देखि हालसम्म तीन सयभन्दा बढी पत्रकारको समाचार लेखेकै आधारमा हत्या भएको छ। पत्रकारले सरकारको आलोचना गरेर समाचार लेख्यो भने एक त नछापिने अवस्था छ, छापिहाले पनि झुटा मुद्दा लगाएर पत्रकारलाई कामै गर्न नदिने र मार्ने सम्मको अवस्था भइसकेको छ।

उत्तर प्रदेशमा सरकारले विद्यालयका छात्रछात्राहरूलाई दिउँसोको खाजा बाँड्छ। खाजाको गुणस्तरीयताको लागि भन्दै अण्डा, चना, खिचडी लगायतको मेनु नै तोकिएको थियो। एक पत्रकारले रिपोर्टिङको क्रममा मेनु अनुसार खाजा नभएको र विद्यार्थीलाई एउटा रोटी मात्रै दिइएको फोटो र भिडियोसहित समाचार प्रकाशित गरे। त्यसपछि ती पत्रकारमाथि यति धेरै झुटा मुद्दा लगाइयो कि उनले अदालत चहार्दैको सास्ती पाए।

भारतमा पत्रकारलाई काम गर्ने वातावरण नै छैन। सम्पादक र लगानीकर्ताहरू सरकारले दुःख नदेओस् भन्ने चाहन्छन्, झन्झटमा फस्न चाहँदैनन्। राजनीतिक समाचारको रिपोर्टिङ गर्न त निकै अप्ठ्यारो छ। राजनीतिक समाचारमा सत्ताको आलोचना भयो भने मिडियामा सिधै छापामार शैलीमा अनुसन्धान गर्छन्।

एउटा उदाहरण दिन्छु, भारतमा केही समयअघि भएको विधान सभाको चुनावमा पाँच राज्यको समाचार कभर गर्ने जिम्मा मैले पनि पाएको थिएँ। चुनावको बेला सरकारको प्रचारप्रसार अधिक हुने गर्छ। एक पटक एक गरिब महिलालाई सरकारले घर बनाइदियो भनेर घरसहित उनको फोटो पत्रिकामा आयो।

हो की होइन भनेर भेरिफाई गर्न म त्यस ठाउँमा पुगेँ। ती महिला घरमा हैन, झुपडीमा थिइन्। मैले पत्रिकामा उनले घर पाएँ भनेको कुरा पढेर सुनाएँ। अनि फोटो पनि देखाएँ। उनी त अलमलमा परिन्। उनलाई कस्ले फोटो खिच्यो? किन खिच्यो? र कहिले खिच्यो? भन्नेबारे केही थाहा थिएन।

यो रिपोर्टिङ गरेर आएपछि सम्पादकलाई भनेँ। सम्पादकले यो समाचार सरकारविरुद्ध हुने भन्दै नछापिने बताए। म आधिकारिक रूपमा काम गरेको मिडियामा यो समाचार छापिएन।

एक पटक म काम गरेको मिडिया हाउसले ‘हिन्दूको पक्षमा रिपोर्टिङ गर’ भन्यो। मैले समाचार कक्षमा ‘म धर्मनिरपेक्षवादी हुँ, न त हिन्दूको पक्ष लाग्छु न त मुस्लिमको। जे देख्छु त्यही लेख्छु’ भनेर रिपोर्टिङमा निस्किएँ। मुस्लिममाथि हिन्दूले अत्याचार गरेको फोटो र भिडियो खिँचे। समाचार लेखेर पोस्ट पनि गरेँ।

समाचार आए पनि भिडियो थियो। उक्त भिडियो पनि होइन भन्दै हिन्दुवादी संगठनहरूले विरोध गरे।

यस्ता समाचार आउँदा मिडिया हाउसले सिधै ‘जोखिम उठाउन सकिन्न’ भन्ने गर्छन्। सम्पादकहरू पनि केही गर्न नसक्ने निरीह अवस्थामा छन्। भारतमा पत्रकारिता गर्दा डर, धम्की, हत्यासम्मको सामना गर्नुपर्ने अवस्था छ।

म सरकारी मिडियामा पनि काम गर्छु। त्यहाँ मेरो काम समाचार पढ्ने मात्रै हो। समाचार पढ्दा सरकारका काम, योजना र सरकारका प्रवक्ता भए जसरी पढ्नुपर्छ। तर अन्य मिडियामा पनि काम गर्न पाइने हुँदा विश्लेषण गर्ने र खोजी पत्रकारिता भने निजी मिडियामा गरिन्छ।

अहिले समाजको कुरा भन्दा पनि सरकारका कुरा बोलिरहेका छन् भारतीय मिडिया। मिडिया प्रतिपक्षी हुनुपर्नेमा सरकारको प्रवक्ता भएको छ।

भारतमा स्वतन्त्र हुनै गाह्रो 
मैले ‘एलजीविटिआइक्यु’को पनि रिपोर्टिङ गरिरहेको छु। नेपालमा सर्वाेच्च अदालतले विवाह गर्ने अधिकार दियो तर भारतमा समलिङ्गी जोडीलाई सँगै बस्ने अधिकार पनि छैन। केही समय अघिसम्म त समलैंगिकतालाई अपराध नै मानिन्थ्यो। अहिले सर्वाेच्च अदालतले अपराधबाट त हटाएको छ तर अधिकार भने शून्य नै छ।

सर्वाेच्च अदालतले पनि कानून बनाउने काम संसदको हो भन्दै कुनै आदेश नदिइ पन्छाइदिएको छ। समलिङ्गीहरू सँगै बस्नु अपराध नमान्दा पनि भारतमा सत्ताधारी हिन्दूवादी संगठन र साइबर सेनाले समलिङ्गीपनलाई नै अपराध ठान्छन्। समलिङ्गी विवाहले सामाजिक मूल्यमान्यता बिग्रने भन्दै विरोध गर्छन् भने तेस्रोलिङ्गीलाई त घृणा नै गर्छन्।

भारतीय मिडियामा सिमान्तकृत समुदायको विषयमा कुरा उठ्नै पाएको छैन। भारतमा मिडिया मात्रै होइन, स्वतन्त्र विचारधारा राख्नेहरू पनि सुरक्षित छैनन्। भाजपाभन्दा अघि कांग्रेस सरकार थियो। भाजपा जस्तो त होइन तर उसले पनि आलोचना गरेको राम्रो मान्दैनथ्यो। तर, अवस्था अहिलेको जस्तो कहालीलाग्दो चाहिँ थिएन। मिडियाकर्मीले बुझ्नुपर्ने कुरा के हो भने, सत्ताको स्वभाव एकै हुन्छ। सत्ता जोसुकैको होस्, आलोचना सुन्नै चाहँदैन।

भारतमा मिडिया स्वतन्त्र भएर काम नगरेका होइनन्। गर्विलो इतिहास छ भारतको। अहिले म यहाँ बोलिरहेको छु, भोलि यदि सरकार पक्षका मान्छेले यो कुरा सुने भने देशद्रोह गर्ने? नेपालमा भारत सरकारविरुद्ध बोल्ने? राष्ट्रियताको कुरा उठाएर दबाउन खोजिनेछ। तर मलाई रत्ति डर छैन, किनभने डराएर पत्रकारिता हुँदैन।

भारतमा स्वतन्त्र पत्रकारितालाई दबाउन दुई अस्त्रको प्रयोग भइरहेको छ। एक कानुन, दोस्रो मिडिया नै किन्ने। भएका नभएका आरोप लगाएर मिडियामा छापा हान्ने, पत्रकारलाई झुटा मुद्दा लगाएर पत्रकारलाई जेल हाल्ने। अर्काे मूलधारका मिडियालाई किन्दिने। भाजपा समर्थित संगठनको एकदमै बलियो सामाजिक सञ्जाल छ। त्यहाँबाट एकदमै धेरै निगरानी भइरहेको हुन्छ। मेरो फोन जुनसुकै बेला ट्याप हुन सक्छ।

यद्यपि, भारतीय केही पत्रकारले आफ्नो युट्युब च्यानलमार्फत सरकारको आलोचना गर्न छाडेका छैनन्। केही राम्रा कम्पनीले विज्ञापन पनि दिइरहेका छन्। युट्युबमा भ्युजका आधारमा पनि पैसा आइरहेको छ। केही मिडियाले चन्दा लिएर पनि चलाइरहेका छन्। प्रत्येक व्यक्तिबाट एक रुपैँया उठाएर।

केही समयपछि साथीहरुसँग मिलेर जन मिडिया भन्ने नयाँ मिडिया सञ्चालनको तयारी गरिरहेको छु। जन मिडिया बिहार केन्द्रीत हुनेछ। किनभने राजनीतिक रूपमा बिहार र युपी भारतको लागि एकदमै महत्वपूर्ण ठाउँ हो। भारतमा को प्रधानमन्त्री बन्ने भन्ने विषय बिहार र युपीको राजनीतिले थाहा हुन्छ। त्यसकारण पनि म यही क्षेत्रमा काम गर्ने भएको छु।

अन्त्यमा, नेपालमा मैले केही युवा पत्रकारहरूलाई भेटेँ। पत्रकारहरूको बुझाइ एकदमै राम्रो लाग्यो। नेपाली मिडिया निकै स्वतन्त्र भएर काम गरिरहेका छन्। आर्थिक रूपमा मिडियालाई गाह्रो रहेछ यहाँ, तर स्वतन्त्र रूपमा काम गरिरहेका छन्। यो राम्रो लाग्यो।

(अल इण्डिया रेडियो, दुरदर्शन रेडियो र विभिन्न च्यानलमा काम गर्ने प्रभासँग भारतीय पत्रकारितामा उनको अनुभवबारे प्रजु पन्तले चौथो अंगका लागि गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

१५ फागुन, २०८०, १२:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।