सूर्यदर्शन सहकारी ठगीमा पुर्पक्षमा रहेकाहरूको निवेदन उच्चबाट अस्वीकार, जिल्लाकै आदेश सदर

सूर्यदर्शन सहकारी ठगीमा पुर्पक्षमा रहेकाहरूको निवेदन उच्चबाट अस्वीकार, जिल्लाकै आदेश सदर

कास्की : पोखराको सूर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको बचत अपचलनको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकाहरूले दायर गरेको पुनरावलोकनमा उच्च अदालत पोखराले जिल्ला अदालतकै आदेश सदर गरेको छ।

सूर्यदर्शनका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) ले जिल्लाको आदेश बदर गर्न माग गर्दै उच्चमा पुनरावलोकनको निवेदन दिएका थिए।

पुनरावलोकनको निवेदनमाथि सुनुवाईगर्दै उच्च अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो।

न्यायाधीश मिलन राई र उमेश कोइरालाको संयुक्त इजलासले आइतबार जिल्लाको आदेश सदर गर्ने फैसला गरेका हुन्।

सहकारी ठगीमा फरार रहेका गितेन्द्र बहादुर राई(जीवी) का मुख्य सहयोगी रम्तेललाई अदालतले असोज २१ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। फरार रहेका दर्लामीलाई १२ पुसमा र भोटेलाई पुस १८ गते पुर्पक्षका लागि थुनामा गएका थिए।

१८ हजार बचतकर्ताको डेढ अर्ब बढी रकम ठगी गरेको अभियोगमा १९ जना प्रतिवादी बनेका थिए। अधिकांश प्रतिवादीहरू अझैँ फरार छन्। पछिल्लो समय सहकारी ठगीबारे बचतकर्ताहरूले दिएको पूरक अभियोग पत्रका आधारमा रवि लामिछानेसहितमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

फागुन १४, २०८० सोमबार १४:११:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।