मतदातालाई ‘रुख’ चिन्हमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ भन्दै गगनको प्रतिवेदन पेश

मतदातालाई ‘रुख’ चिन्हमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ भन्दै गगनको प्रतिवेदन पेश

काठमाडौं : सभापति शेरबहादुर देउवाको असहमतिका बीच महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन्।

मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्दै महामन्त्री थापाले विगतको गठबन्धनले पार्टीलाई घाटा लागेको भन्दै आगामी चुनाव एक्लै लड्न प्रस्ताव राखेका हुन्।

उनले आगामी चुनावमा कांग्रेसका मतदातालाई चुनाव चिन्ह रुखमै मत हाल्न पाउने सुनिश्चितता गराउने समेत बताए।

उनले भनेका छन्, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ।’

चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवाले असहमति जनाएका थिए। तर, महामन्त्री थापा आफ्नो अडानबाट पछि नहटेपछि देउवा उक्त प्रतिवेदन महासमिति बैठकमा छलफल गराउन अन्तिम समयमा तयार भए।

महामन्त्री थापाले गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए।

थापाले प्रस्तावमा भनेका छन्, ‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ। तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ।’

 

८ फागुन, २०८०, १८:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।