चौथो अंग : पत्रकारिता गरेर कुस्त पैसा कमाइँदैन होला, तर जीवन धान्नै गाह्रो हुँदैन

चौथो अंग : पत्रकारिता गरेर कुस्त पैसा कमाइँदैन होला, तर जीवन धान्नै गाह्रो हुँदैन

केही वर्षअघि साक्षरता सम्बन्धी रिर्पोटिङको क्रममा काठमाडौं, भक्तपुर र ललितपुरका ३ सय ३४ जना साक्षर भए भनिएका नागरिकको नागरिकता भिडाएँ।

नागरिकता भिडाउँदै जाँदा त साक्षर भएका भनिएकाहरुमध्ये कसैको दुई वर्षअघि नै मृत्यु भइसकेको, कोही बिरामी भएर अस्पतालमा भएका र कोही विदेशमा रहेको देखियो।

साक्षरताको नाममा राज्यको ६ अर्ब खर्च भइसकेको थियो। नमुना रूपमा केही व्यक्ति भिडाउँदा यस्तो बेथिति देखेपछि समाचार लेखेँ ‘झुटो साक्षरता’ र ‘फर्जी साक्षरता।’ 

यसको निरन्तर फलोअप गरियो। त्यतिबेला सिन्धुपाल्चोक र ललितपुरबीच कुन जिल्ला पहिले पूर्ण साक्षरता भएको भन्ने झगडा परिरहेको थियो। यथार्थमा नागरिकहरू साक्षर भएकै थिएनन्। पछि त यो कार्यक्रमै खारेज भयो। अहिले जीवनपयोगी शिक्षा भन्ने चलाइएको छ।

यसले पत्रकारले खोजी गर्याे र पुष्टि भयो भने त्यहाँ भएका अनियमितताको जालो तोडिन्छ भन्ने देखायो। समाचारको नाममा दिनहुँ टिप्पणी (अप्डेट) उठाउने काम मात्र गर्याैँ भने केही वर्षपछि फर्केर हेर्दा थकथकी लाग्छ। पत्रकारले सम्झन लायक काम गर्ने हो भने खोजी रिर्पोटिङको विकल्प छैन।

मिडियाको प्रभाव अझै छ
मेरो घर दोलखा। पत्रकारिता भन्दा पनि शिक्षक बन्ने योजना थियो मेरो। रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषय पढ्न थालेँ। मेरो भिनाजु पनि पत्रकार नै भएकाले अरनीको यातायातले प्रकाशन गर्ने गरेको पत्रिकामा काम गर्न भन्नुभयो। पछि बुझेँ, अरनीको यातायातको खुब आलोचना हुन्थ्यो त्यो बेला। अरनीको यातायातलाई राम्रो भन्ने केही व्यक्तिसँग कुराकानी गरेर यातायात बुलेटिनमा लेख्नुपर्ने मेरो जिम्मेवारी थियो। यता पढाइ पनि निरन्तर चलिरह्यो।

त्यतिबेला क्याम्पसहरूले मिडियामा इन्टर्न गर्न पठाउँथे। अहिले इन्टर्न गर्ने चलन छैन, यो मिडियाको लागि दुर्भाग्य हो। इन्टर्न गराउँदा नयाँ जनशक्तिको विकास पनि हुन्छ। आफूलाई चाहिएको रिपोर्टर पनि पाउन सकिन्छ। अहिले दक्ष जनशक्तिको अभाव देखिएको इन्टर्न गराउने प्रचलन हराएर पनि हो।

त्यो बेलामा कान्तिपुर दैनिकमा इन्टर्न गर्न पाउनु नै ठूलो कुरा थियो। आरआर कलेजका लागि जम्दुमा ई जनाको कोटा मात्र थियो। स्नातक तह सकिएपछि धन्न ‘इन्टर्न’ गर्ने अवसर पाएँ।

प्रशिक्षार्थी भए पनि मैले अह्राएको मात्रै काममा केन्द्रित भइन, काठमाडौंका काठ क्षेत्रमा मज्जाले हिँडे। काँठ घुम्ने क्रममा गागलफेदी पुगेँ। त्यहाँ त ३ सय वर्ष पुरानो घट्ट रैछ। यो त गजबको विषय फेला पर्यो भनेर रिपोर्टिङ गरेँ।

रिपोर्टिङ सक्किएपछि कार्यालयमा आएर घट्टबारे भनेँ। त्यो बेलामा कोसेलीका प्रमुख दिनेश वाग्लेलाई विषय मन परेछ। उहाँले कोसेलीका लागि स्टोरी लेख्न भन्नुभयो। मैले खुसी हुँदै लेखेँ। त्यो त कोसेलीको कभर स्टोरी भएर पो छापियो। 

त्यो बेलाको कोसेली निकै चर्चित। त्यसमा रिपोर्टरकै बाइलाइन छापिनु पनि निकै ठूलो कुरा मानिन्थ्यो। अब प्रशिक्षार्थी रिपोर्टरको बाइलाइन छापिनु त गजबकै कुरा भइहाल्यो नि।

त्यो बेलामा इन्टर्नमा आएकाहरुलाई सिनियरहरुले समाचार लेख्न सिकाउने संस्कार थियो। कुन समाचार कसरी लेख्ने, समाचार कसरी खोज्ने भन्ने प्रत्यक्ष समाचार कक्षमै सिक्न पाउनु राम्रो हो नि।

इन्टर्नको समय सकियो। कान्तिपुर जाउँ कि नजाउँ भयो। ब्यूरो प्रमुख हरिबहादुर थापा हुनुहुन्थ्यो। भेटेर म काम सिक्न चाहन्छु भनेँ। आठ महिनासम्म प्रशिक्षार्थी भएरै काम गरेँ।

प्रकाशक हेमराज ज्ञवाली विभिन्न धार्मिक कार्यक्रममा जानुहुन्थ्यो। त्यो कार्यक्रममा गएर समाचार बनाउने काम धेरै आउँथ्यो। त्यो ‘जेपी’ जानैपर्ने समाचारमा पर्थ्यो। 

एक पटक भक्तपुरमा बाटै पुरिने गरी गँड्यौला निस्केका थिए। त्यसको असरबारे समाचार लेखेँ। पछि त कान्तिपुरले मलाई भक्तपुरको रिपोर्टर बनाउने भयो। हरि दाइले 'नेवार भाषा आउँछ' भनेर सोध्नुभयो। श्रेष्ठ भए पनि मलाई आउँदैनथ्यो। मैले आउँछ भनेर ढाँटे। मलाई जसरी पनि काम गर्नु थियो। आउँदैन भनेको भए काम पाउन सम्भव थिएन। ढाँटे पनि समस्या भएन।

भक्तपुरमा रिपोर्टर भएपछि बालुवा खानीमा भइरहेको अवैध उत्खननबारे निरन्तर समाचार लेखेँ। चार वर्ष भक्तपुरमा काम गरेपछि केन्द्रीय कार्यालयमै रहने गरी काम गर्न पाएँ। त्यही बेलामा शिक्षा बिट मेरो भागमा पर्याे। जे विषय परे पनि केन्द्रबाट काम गर्न पाउँदा खुसी थिए।

शिक्षाको समाचार मुख्य समाचार बन्न एसएलसीको नतिजा, भर्ना अभियानको अनि दीक्षान्त समारोह आउनुपर्थ्यो। नत्र भित्री पेजमै चित्त बुझाउनु पर्थ्यो। यस्तो पाराले त भएन भनेर विषयहरू खोज्न थालेँ। खोज पत्रकारिता केन्द्रमा स्टोरीहरू प्रस्ताव गरेँ। स्विकार पनि भयो। 

अलि खोजेर समाचार लेख्न थालेपछि प्रमुख समाचार बन्न थाले। त्यो बेलामा रिपोर्टिङ गरेको साक्षरताको समाचार, सीटीईभीटीमा भएको भ्रष्टाचार, त्रिभुवन विश्वविद्यालयको जथाभावी जग्गा वितरणका समाचार प्रथम पृष्ठमै छापिए। 

अलि बढी मिहिनेत गरेर समाचार लेख्ने हो भने प्रभाव पर्ने रहेछ भन्ने थाहा हुँदै गयो। जस्तै- प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) सम्बन्धन बाँड्ने विषयमा रिपोर्टिङ गरिरहेको थिएँ। त्यही क्रममा श्रीमान्-श्रीमती नै पहिले करारबाट जागिर खाने त्यसपछि अस्थायी हुँदै स्थायी हुने गरेको पाइयो।

त्यहाँ ९ सय ३१ कर्मचारी काम गर्थे। मलाई शंका लागेकाहरूको अनुसन्धान शुरु गरेँ। अनुसन्धान गर्दै जाँदा ३१ जोडी श्रीमान्-श्रीमती भएको फेला पर्याे। प्रत्येकलाई फोन गरियो। प्रमाणहरू भेरिफाई गरेँ। अनि स्टोरी तयार भयो। यो स्टोरीले तहल्का नै पिट्यो। त्यो समाचार प्रकाशित भएपछि धाक धम्कीदेखि प्रलोभनसम्म आए। तर यसको पर्वाह गरिएन। पछि सीटीईभीटीमा लोकसेवाबाट कर्मचारी छनोट प्रक्रिया शुरु भयो। एउटा विधि त बस्यो नि! आफ्नो समाचारका कारण एउटा विकृति हटेकोमा आनन्द आयो।

पत्रकारले समाचार लेखेपछि प्रभाव पर्छन्। तर त्यो प्रमाणका आधारमा हुनुपर्यो। खोजी हुनुपर्यो। दाबी गरे, टिप्पणी गरे अनि बताए भन्ने समाचारको के प्रभाव हुन्छ र!

जस्तै- बाँसबारी सार्वजनिक जग्गा, ललिता निवास र भुटानी शरणार्थी प्रकरण पत्रकारको खोजकै नतिजा हुन् नि। मिडियामा समाचार आएकै कारण यसबारे थप अनुसन्धान भयो। दोषी कारबाहीमा पनि परे।

पहिले जस्तो मिडियाको चार्म त छैन। यो सत्य हो। तर, अझै पनि मिहिनेत गरेर लेखिएका स्टोरीको प्रभाव परिरहेका छन्। पत्रकारले गरेको मिहिनेत खेर गएको छैन। 

पत्रकारिताको चार्म कम हुनुका कारण अनेक छन्। पत्रकारकै दृष्टिबाट हेर्दा पत्रकारिता भन्दा पार्टीकारिता गर्ने, संगठन चलाउने तर काम नगर्ने पत्रकारहरूका कारण पत्रकारिता बदनाम भएको हो की जस्तो लाग्छ।

समाचार नलेख्न संगठन
एसएलसीताका यतिले एसएलसी दिए, उतिले एसएलसी दिए भन्ने समाचार आइरहने नै भयो। तर यसले शिक्षा क्षेत्रका विषय सार्वजनिक हुन पर्याप्त हुँदैन। रिपोर्टिङ खोजीमा हुनुपर्छ भन्ने मेरो मान्यता हो। शिक्षामा त्यही मान्यतामा रहेर रिपोर्टिङ गरेँ। झण्डै करोड विद्यार्थी रहेको क्षेत्रबारे जसरी रिपोर्टिङ भइरहेको छ त्यो सन्तुष्ट लायक छैन।

‘१० वर्षअघि कति भर्ना हुन्थे र एसएलसी दिँदा कति पुगे’ भनेर एउटा समाचार लेखेँ। १० वर्षअघि १३ लाख भर्ना भएका बालबालिकामध्ये ४ लाख विद्यार्थीले मात्र एसएलसी दिने गरेको तथ्य देखियो। नौ लाख विद्यार्थी खै त? विद्यालय जानु मात्रै ठूलो कुरा हैन, टिक्नु पनि हो नि। तथ्यसहित समाचार लेख्दा त्यसले एकखालको बहसको प्रारम्भ त गर्यो। समाचार बलियो बनाउन तथ्य र तथ्याङ्क चाहिन्छ। 

पहिले शिक्षाको समाचारमा निजी शैक्षिक संस्थाका एडभोटोरियल त आउँथे नै, त्योसँगै पत्रकारले खोजेको समाचार मात्र प्रमुख बन्थ्यो। अहिले ‘मेल न्युज’को बिगबिगी छ। कर्पोरेट हाउसहरुले विज्ञप्ति होइन समाचार नै पठाउन थाले।

पत्रकारहरूले पनि समाचार लेख्न भन्दा नलेख्न गुटबन्दी गर्न थाले। व्यक्तिपिच्छेका संस्था बनाउने अनि समाचार लेख्न होइन, नलेख्न सहकार्य गर्ने। शिक्षा पत्रकारकै तीनवटा संस्था छन्। स्वार्थ नभए तीन-तीन वटा संस्था किन चाहियो? एउटा बिटको एउटा भए हुन्न?

शिक्षा पत्रकारकै एउटा संस्थाले केही दिनअघि भएको कार्यक्रम बहिष्कार गरेछ। चासो लाग्यो, कार्यक्रम आयोजकलाई सोध्दा 'माग' पूरा नभएर नआएको पो देखियो। यस्तो पनि हुन्छ? पत्रकारले समाचार भन्दा पनि अन्य मागतिर ध्यान दिन थालेपछि समाचार कसरी आओस्।

स्रोतबारे पनि पत्रकारहरू कन्फ्युज भएझैँ लाग्छ। स्रोतहरू समाचार लेख्नलाई हो नि, समाचार नलेख्न होइन। समाचार लेखेर स्रोत भड्किने होइनन्, झन नजिक हुन्छन्।

उदाहरण- संविधान सभा अध्यक्ष सुवास नेम्वाङले घर भएर पनि भाडाको सुविधा संसद सचिवालयबाट लिएको देखिएपछि समाचार लेख्नुअघि उहाँलाई गोप्य कोठामा गएर सोधेँ। उहाँ खङरङ्ग हुनुभयो। तर, नलेख्न भन्नुभएन। त्यसपछि पनि उहाँले मलाई अन्य सूचना दिनुभयो, नराम्रो व्यवहार गर्नुभएन।

रिस उठ्यो भनेर जे पायो त्यही समाचार लेख्यो भने जो पनि रिसाउँछ नि। तर तथ्य र तथ्याङ्कमा आधारित भएर जसको समाचार लेखे पनि रिसाउँदैनन्।

शैक्षिक बहस हुनै सकेन

शिक्षापछि संसदको पनि रिपोर्टिङ गरेँ मैले। ६ वर्ष संसदको रिपोर्टिङ गर्दा सांसदले कसरी विषयवस्तु उठाउँछन् भन्ने नजिकबाट हेर्ने अवसर पाइयो। तै पनि शिक्षा विषयमा चासो राख्न छाडिन।

सांसदहरू जहाँ स्वार्थ छ, त्यही समितिमा बस्ने रहेछन्। जो निजी विद्यालयको सञ्चालक छन्, उनीहरू नै शिक्षा समितिमा बस्ने। उनीहरुको ध्यान नागरिक हितमा हैन आफ्नो स्वार्थमा हुने नै भयो। उनीहरुको उद्देश्य निजी विद्यालयको व्यवसायमा प्रभाव पर्ने कानुन रोक्ने हुने नै भयो।

शिक्षामा यति धेरै समस्या छन्, जस्तो संविधानमा कक्षा १२ सम्म निःशुल्क शिक्षा लेखिए पनि लागू भएको छैन। ११ र १२ कक्षा भएका प्रत्येक विद्यालयमा जम्मा दुई जना अनुदानका शिक्षक छन्।

विश्वविद्यालयमा उस्तै समस्या छ। त्रिविकै कुरा गरौँ न- काम गरौँ भन्दा पनि कसरी लुटौँ भन्नेहरू उपकुलपति हुने भए। त्रिविको ३ हजार ७ सय रोपनी जग्गामा एक हजार दुई सय रोपनी त विभिन्न संघसंस्थालाई बाँडेको देखियो। कक्षाकोठामा बजेट नै छैन। शिक्षाको गुणस्तर सुधार्न जति छलफल बहस हुनुपर्ने हो हुन सकेको छैन। 

जसरी उपकुलपति नियुक्ति भइरहेको छ, यो विवादस्पद देखिन्छ। उपकुलपतिहरू सम्बन्धनमा बदनाम छन् अनि नियुक्तिमा पनि। सम्बन्धन दिँदा आउने कमिसनमा नेतृत्व नै अल्झेपछि कसरी होस् राम्रो काम?

नेपालका मिडियाले अब उठाउनु पर्ने नै शैक्षिक गुणस्तरको मुद्दा हो। विधेयक आउँदैछ, यसमा छलफल हुन जरुरी छ। शिक्षा कस्तो चाहिन्छ भन्नेमा  न नीति निर्माता नै जानकार छन् न त बहस नै भएका छन्।

बहसहरू कर्पोरेट हाउसहरूले चलाउन थालेका छन्। कर्पोरेट हाउसले चलाएको बहसबाट यथार्थ कुरा आउन सक्दैन। आएका छैनन्।

अर्काे कुरा, हाम्रा मिडियाले जसरी काम गर्नुपर्थ्यो त्यसरी काम गर्न सकेको छैनन्। सुधार गर्नुपर्ने पक्षहरू टन्नै छन्। तर मिडियाले पैसै दिदैनन् भन्ने जुन भाष्य बनाइएको छ त्यो चाहिँ गलतै हो। जग्गा बेचेर तलब खुवाउनेहरू पनि छन्। तलब खुवाउन नसकेर भूमिगत हुनेहरू पनि छन्। तर, सबैको अवस्था उस्तो छैन।

पहिले सम्पादकहरूलाई पैसाको समस्या थिएन। स्वतन्त्र भएर काम गर्थे। अहिलेका सम्पादकहरू रिपोर्टरलाई तलब खुवाउन व्यवस्थापकलाई गुहार्दाको हैरान छन्। यसको असर समाचार कक्षमा पर्छ नै। यो समस्या सधैँ त रहँदैन। समग्र अर्थतन्त्रको असर परेको होला।

जे जस्तो भए पनि पत्रकारले मिहिनेत गर्न  छाड्न हुँदैन। कसैले डकुमेन्ट दिए लेख्ने नत्र मिहिनेत नै नगर्ने भन्ने पनि हुँदैन। मिहिनेत गरेर समाचार लेख्ने हो भने नामसँगै जीविकोपार्जन पनि हुन्छ। कुस्त पैसा कमाइँदैन होला तर जीवन धान्नै गाह्रो चाहिँ हुँदैन।

(कान्तिपुर दैनिकमा लामो समय काम गरेका श्रेष्ठ अहिले इडियूखबरका कार्यकारी सम्पादक छन्, उनैसँग शैक्षिक रिर्पोटिङबारे प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

*शीर्षक बदलिएको।

चौथो अंगका पुराना श्रृंखला 

८ फागुन, २०८०, ११:५३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।