ब्युटिसियन जुनाको प्रसव पीडा र खुसी : तीनदिनसम्म व्यथा लागे पनि बाबु निस्किएन, श्रीमान् देख्यो कि रिस उठ्थ्यो

ब्युटिसियन जुनाको प्रसव पीडा र खुसी : तीनदिनसम्म व्यथा लागे पनि बाबु निस्किएन, श्रीमान् देख्यो कि रिस उठ्थ्यो

पेसाले ब्युटिसियन र जिम ट्रेनर जुना भण्डारी लकडाउनको समयमा गर्भवती भइन्। उनी कामको लागि दोलखा गएकी थिइन्। रमाइलो गरेर फर्किएपछि उनी एकदम थकित भइन्। जिउँ पनि दुखिरह्यो। पार्लरमा एकजना दिदीले 'तिम्रो अनुहार कस्तो अँध्यारो ! गर्भवती भयौँ कि क्या हो' भने पनि उनले पत्याइनन्। उनले घरमै परीक्षण गरिन्। पोजेटिभ देखायो।

चित्त नबुझेपछि उनी डाक्टरकोमा गइन्। हो रहेछ। गर्भवती भएको थाहा पाउँदा अधिकांश खुसी हुन्छन्। तर उनी डराइन्।उनी त लुगलुग काम्न थालिन्। त्यही रोइन्। के गर्ने , के नगर्ने? आत्तिइन्

OOO

चितवनमा बाल्यकाल बिताएकी जुनाले कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अगाडि लैजान सकिनन्। अनि कामका लागि खाडीको बाटो रोजिन्। उनी १७ वर्ष थिइन् कुवेत जाँदा। कुवेतपछि साउदी, कतार हुँदै इजिप्टसम्म पुगिन् श्रम गर्न। कतारमा हुँदा उनले पार्लरमा काम गर्न पाइन्। त्यहाँ सिकेपछि नेपाल फर्किइन्। यता केही गर्न सकिन्छ कि भनेर योजना बनाउँदा बनाउँदै भूकम्प आयो। अनि उनी भारततिर लागिन्। भारतमा केही महिना बसेर स्पा र जिम सम्बन्धी काम सिकेर नेपाल फर्किइन्।

उनी विदेश जाने तयारीमै थिइन्। त्यही बेलामा यता जिम ट्रेनरसँग उनको भेट भयो। भेटघाट लम्बिलै जाँदा माया बस्यो अनि विवाह भयो। अहिले उनी एक सन्तानकी आमा  हुन्। जुनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी साटिन् :

OOO

सानै उमेरमा विदेश गएर फर्किएको थिएँ। यता के काम गर्ने मेसो नमिलेपछि म फेरी विदेश जान ठिक्क परेकी थिएँ। जानु भन्दा अगाडि यहाँको जिम पनि हेरौँ न भन्ने कुरा भयो। त्यहिबेला हो मैले पहिलो पटक उहाँ (श्रीमान्)लाई भेटेको। उहाँको ज्यान पनि निकै हट्टाकट्टा देखिन्थ्यो। त्यही जिममा जुम्बा सिक्ने भनेर कुरा गर्न गएका थियौँ। 

उहाँले म पनि जिम ट्रेनर हो भनेर थाहा पाउनुभयो। त्यत्तिकैमा बोलीचाल शुरु भयो। मैले त लभ पर्ला अनि विवाह होला भन्ने सोचेको पनि थिइन। उहाँ जुम्बा गर्न मलाई लिनै आउनु भएछ। पछि उहाँलाई म मन पर्यो रे।

२०७३ सालको नयाँ वर्षमा हामी सँगै थियौँ। त्यसबेला उहाँले मलाई प्रस्ताव गर्नुभयो। अचानक कहाँ हुन्छ भनेर मैले केही जवाफ दिइन। भोलिपल्ट फेरी उहाँले फोन गर्नुभयो। हिजो मात्र भेटेको मान्छे आज बिहे गर्छु भनेपछि म त ट्वाँ परेँ।

त्यसबेला घर जाने वातावरण पनि थिएन। विदेश जान अझै समय थियो। अहिले सोच्दा अचम्म लाग्छ, दश वर्ष  हुन लागिसक्यो। हाम्रो अन्तर्जातीय विवाह भए पनि त्यति धेरै गाह्रो भएन। जात, धर्म भनेको आफ्नो ठाउँमा छ, मिलेर वैवाहिक जीवनलाई राम्रो बनाऊ भनेर घरबाटै भन्नु भएपछि गाह्रो भएन। 

माइतीमा चैँ ममीले भागेर बिहे गरेको भनेर मन दुखाउनु भयो। ममीलाई बुझाउन ५ महिना लाग्यो। हामी दुवै जनाले आफ्नो काममा मिहिनेत गर्यौँ। विदेश पनि गएनौ। मैले आफ्नो पार्लर पनि खोलेँ। अनि उहाँको जिममा पनि सिकाउने, जुम्बा गराउने गरेँ।

बरु उहाँ चैँ दुई वर्षपछि विदेश जानुभयो। त्यसपछि भने आ-आफ्नै काममा व्यस्त छौँ। 

OOO

लकडाउनको समयमा म गर्भवती भएँ। त्यस्तो प्लान पनि होइन। पहिलो पटक यो खबर पाउँदा त एकदम डर लाग्यो। म त रोएको थिएँ। कामको लागि दोलखा गएको थिएँ। त्यहाँ घुमेर, रमाइलो गरेर फर्किएपछि एकदम थकित भएँ। जिउँ पनि दुखिरहेको थियो। पार्लरमा एक जना दिदीले 'तिम्रो अनुहार कस्तो अँध्यारो ! गर्भवती भयौँ कि क्या हो' भन्नुभयो। मैले होइन होला भनेँ।

उहाँकै करले घरमै परीक्षण गर्यौ। त्यसबेला पोजेटिभ देखायो। मैले अझै होइन भनिरहे। चित्त नबुझे पछि डाक्टरकोमा नै गएँ। 

त्यता पनि हो भनेपछि मलाई त डर पो लाग्यो। लुगलुग कामेँ। त्यही रोएँ। के गर्ने , के नगर्ने भएर उहाँलाई कल गरे। उहाँ घरमा हुनुहुन्थ्यो। उहाँ त खुसी हुनुभयो। पछि घरमा पनि सबैलाई थाहा भयो। सब जना एकदम खुसी हुनुभएको थियो। अहिले पनि हिजो जस्तै लाग्छ ती पलहरू। तर साढे तीन वर्ष भइसक्यो।

गर्भवती भएको थाहा नपाउँदा केही भएन ,तर थाहा भएपछि अर्कै खालको महसुस भयो। त्यसबेला केही नरुच्ने, वान्ता धेरै नै हुन्थ्यो। त्यसबेला केरा धेरै खाएर पनि होला अहिले बाबुलाई पनि केरा खुब मन पर्छ। अनि पालक र बेथेको साग, सिस्नु पनि खुब खाएँ। सुत्न निकै गाह्रो हुन थालेपछि म त भुईँमै सुत्थेँ। रुचेको र खान मन लाग्ने सबै खाएँ। मेरो तौल पनि मज्जाले बढेको थियो। म सानो थिएँ, तर पेट ठुलो हुँदा सबले जुम्ल्याहा बच्चा छ कि क्या हो भन्थे।

पाँच महिनाको गर्भवती भएपछि भिडियो एक्स-रे गर्ने रहेछ। डाक्टर श्रीमानकै साथी हुनुहुन्थ्यो। त्यसबेला छोरा छ भनेर थाहा भइसकेको थियो। गर्भवतीको समयमा ७३ केजीको भएको थिएँ। नत्र ५० केजीकै वरपर हुन्थेँ म।

टन्न खाने एकदम फुर्तिलो पनि थिएँ। मेरो बाबु पाँच महिनाको पेटमा हुँदा उसको मुटुमा प्वाल परेको छ भनेर डाक्टरले भन्नुभयो। पछि गएर पुरिन पनि सक्छ भन्नु भए पनि खबर सुनेपछि एकदम नराम्रो लाग्यो। जन्मिएकै छैन के हुने हो भन्ने भयो। बरु आफूलाई होस्, बच्चालाई नहोस् भन्ने हुँदो रहेछ।

म त हिँड्नै पनि सक्दिनथे। खान मन लागेको कुराहरू सब खाएँ तर पानी चैँ कम भएछ। पछि गाह्रो होला भनेर डाक्टरकै सल्लाह अनुसार  धेरै औषधी खाएँ। त्यै भएर हो कि ! अहिले बाबुको एउटा आँखामा समस्या छ। बाबुको  एउटा आँखाको पावर माइनस १४ छ। उसलाई त्यस्तो समस्या भएछ भनेर जन्मिएको छ/सात महिनापछि मात्र थाहा पाएको। अहिले तीन वर्षको भयो। चस्मा लगाइदिन परेको छ। बाँकी सब ठिक छ अहिले।

त्यसबेला मानसिक रूपमा पनि धेरै उथलपुथल भयो। स-सानो कुरामा पनि रुन मन लाग्ने। जो देखे पनि रिस उठ्ने। सबैभन्दा बढी त फेरी श्रीमान् देखेर नै रिस उठ्थ्यो। मलाई यस्तो गाह्रो भइरहेको छ, उ आरामले बसिरहेको छ भन्ने जस्तो लाग्ने रहेछ। साथमा पनि उहाँ नै हुने भएकाले उहाँमै सबै रिस पोख्ने गरेछु। त्यसबेला कुनै पनि गन्ध मलाई मन परेन। यति धेरै कष्ट मलाइ बाहेक अरूलाई भएकै छैन होला जस्तो लाग्थ्यो।

पेटमा बाबुले लात हानेको महसुस त अहिले पनि गर्न सक्छु। एकचोटी बच्चा चलेको महसुस हुँदा त फेरी पनि पटक पटक हुने रहेछ।  त्यसबेला त म पनि भित्रै गएर हेर्न पाए हुन्थ्यो जस्तो भएको थियो। हामीले त बाबु चलेको भिडियो पनि हेरेका थियौँ। त्यो भिडियो अहिले पनि मोबाइलमा छ। कस्तो माया लाग्दो देखेको बाबु त भिडियोमा। बच्चा चलेको आभास भएपछि चलेन भने चैँ के भयो होला जस्तो हुन्थ्यो। यो कुराहरू गर्दा त अहिले पनि बाबु पेटमै छ कि जस्तो लागिरहेको छ।

गर्भवतीको अन्तिम अवस्थासम्म पनि मैले पार्लरमा तालिम दिने काम गरिरहेँ। लकडाउनको समयमा टिकटक बनाएर सब काम सकेर सुत्ने बेलामा पानी बगेको महसुस गरेँ। तर दुखाइ चैँ केही भएको थिएन। दुखाइ नभएको भएर व्यथा लागेको छैन भनेर सोच्यौँ।

हस्पिटलमा खबर गर्दा 'पानी गयो भनेर डराउनु पर्दैन रगत देखियो भने चैँ तुरुन्तै आउनु' भने। अगाडि केही पानी मात्र गएको देखेको थिएँ। फोन राख्ने बित्तिकै रगत पनि देखा पर्यो। त्यसपछि तुरुन्तै हस्पिटल गयौँ।

नौ महिना भएकाले सबै तयारी गरिसकेका थियौँ। हस्पिटलमा गएपछि व्यथा लाग्ने औषधी दिनुभयो, सुई पनि लगाइदिनु भयो। त्यसपछिको दुखाइ म कल्पना समेत गर्न सक्दिन। तीन दिनसम्म व्यथा लागे पनि बाबु निस्किन सकेन। त्यसपछि चोथौँ दिनमा इमर्जेन्सी अप्रेसन गर्ने कुरा भयो। त्यो बेलाको औषधी र सुई लगाएपछि पनि स्लाइन पानीमा दिएको औषधीको व्यथा चक्कुले हात काटेको भन्दा पनि असह्य थियो।

म त फत्रक फत्रक परेको थियो। त्यस्तो हुँदा त मैले खुकुरी ल्याउनु म आफै काटेर बाबु निकाल्छु सम्म भनेको थिएँ। म त जान्छु यहाँबाट भनेर हिँड्न बाटो पनि खोजेको हुँ। मेरो श्रीमान् बोलाइदिनु म जान्छु भने। अझै घर खुलेकै रहेन छ । अनि यति धेरै समय भयो भनेर अप्रेसन गर्न लानु भयो। पछि थाहा भयो बच्चा घुम्न नसकेको रहेछ। म त बेहोस नै हुन लागेको थिएँ। आमा बेहोस भयो भने झन् गाह्रो हुन्छ भनेर डाक्टरले बेहोस हुन दिएनन्। 

बाबु जन्मिए पछि उ रोएको आवाज सुने। मेरो बाबु हो भनेर सोधे। हो, भन्नुभयो। त्यसपछि त म गहिरो निन्द्रामा पुगेको जस्तो भएँ। नारीको सुन्दरता भनेको बच्चा पाए पछि झन् राम्रो हुन्छ जस्तो लाग्छ । अहिले झन् राम्री भएको महसुस हुन्छ । आमा भए पछि झन् राम्री। आफैँलाई स्याहार गर्न पर्ने पनि रहेछ। घर परिवार र सन्तान सँगै आफैँलाई पनि हेरे पछि राम्री लाग्ने नै भयो। अनि म आमा भए पछि मेरो आमा पनि झन् राम्री लागेको हो।

बाबु एकदम गोरो थियो। बिउँझे पछि श्रीमानलाई पनि देखेँ। बाबु तीन केजी, तीन सय ग्रामको थियो। भदौको महिनामा हस्पिटलबाट गएपछि घरमा मेरो त टाँका नै फुस्कियो, घाउ पाकेर, दुखेर कस्तो गाह्रो भएको थियो। अप्रेसन गरेको भएर होला अहिले पनि बेलाबेला दुख्छ।

सुत्केरी स्याहार पनि एकदम राम्रो भयो । चितवन पनि गएँ । माइतमा कुखुरा फर्म थियो । मासुको सुपमा कुनै कमी भएन । अनि घिउ पनि मज्जाले खाएँ। बच्चाको लागि भनेर मैले त खाएको खायै गरेँ। त्यसले गर्दा स्तनपानमा कुनै समस्या भएन। छ महिना सम्म बाबुलाई दूध नै मात्र खुवाएर हुर्काए।

बाबु एकदम ज्ञानी छ। सानो बच्चा जस्तै लाग्दैन। अहिले देखिने कस्तो परिपक्व छ। बोली बचन पनि असाध्यै मिठो छ। भर्खर तीन वर्ष मात्र भएको कारण उसको भविष्यको बारेमा त्यति धेरै सोचिसकेको छैन।

उसको शिक्षामा राम्रो सँग समय दिने, अनि खर्च गरिदिने। बाँकी भनेको उसले आफ्नो लागि आफै गरोस् भन्ने चाहन्छु म त। बाँकी भनेको बाबाको जिम छ। ममीको पार्लर छ। जे चलाउन चाहे पनि उसलाई विकल्प त छदैछ। श्रीमान् र म मात्र यहाँ बसेको हुँदा कहिलेकहीँ उसलाई अरूको भरोसामा छाड्न पर्ने हुन्छ। त्यसबेला चैँ अलि नराम्रो लाग्छ। तर सकेसम्म उ सँग समय बिताइरहेको हुन्छु।

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

फागुन ६, २०८० आइतबार २३:१३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।