चिर्पटले हानेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

चिर्पटले हानेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

काठमाडौं : श्रीमानको हत्या आरोपमा मोरङकी एक महिला पक्राउ परेकी छिन्।

सुन्दरहरैँचा नगरपालिका–१० की ४७ वर्षीया विना दनुवारलाई श्रीमानको हत्या गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार शुक्रबार राति ८ बजेतिर श्रीमान्-श्रीमतीबीच विवाद हुँदा धक्का लागेर लडेपछि श्रीमानको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेका छ।

शुक्रबार राति ५५ वर्षीय गंगेबहादुर दनुवार र उनका श्रीमतीबीच घरायसी विषयमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए।

उनले भने, ‘दुवै जनाले मादक पदार्थ सेवन गरेपछि विवाद भएको देखिन्छ। विवादका क्रममा श्रीमानले काठको चिर्पट जस्ता वस्तुले श्रीमतीलाई प्रहार गर्न खोज्दा श्रीमतीले धकेलेपछि श्रीमान् लडेका थिए।’

मृतकको शरीरमा बाहिर चोटपटक केही पनि नदेखिएको डीएसपी दाहालले बताए।

पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी ट्रमा सेन्टरमा पठाइएको छ। प्रहरीले श्रीमती विनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको छ।

फागुन ५, २०८० शनिबार २०:२४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।