बुटवलको प्लास्टिकको फोहोर तिलोत्तमाका किसानको खेतमा, खेती गर्न सधैँ सास्ती

बुटवलको प्लास्टिकको फोहोर तिलोत्तमाका किसानको खेतमा, खेती गर्न सधैँ सास्ती

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरभित्रका भित्री गाउँमा अहिले गहुँमा सिचाई गर्ने बेला भएको छ। किसानहरू सिचाइका लागि अहिले कुलो सफा गरिरहेका छन्। तिनाउको सोह्र–छत्तीस नहरको पानीले गहुँको सिचाई गर्ने भए पनि नहरमा पानी ल्याउन किसानलाई भने त्यति सजिलो छैन।

नहर प्लास्टिकजन्य फोहोरले ढाकिएको छ। नहरबाट पानीसँगै प्लास्टिकजन्य फोहोर बगेर आउँदा तिलोत्तमा किसानको धान फल्ने खेत प्लास्टिकजन्य फोहोरले ढाकिन्छ। किसान सधैँ आजित हुन्छन्।

सोर्ह–छत्तीस नहरको बाँध कन्ये ढुंगाभन्दा केही तल छ। बुटवलको बस्ती किनाराहुँदै बग्ने नहरमा बुटवलवासीले ढल मिसाइदिएका छन्। प्लाष्ट्रिकका फोहोरका पोका त्यही नहरमा मिल्काउँछन्।नहरमा बग्ने पानीले प्लाटिकजन्य फोहोर बगाउँदै तिलोत्तमा किसानको खेतमा पुर्याउँछ।

सोर्ह–छत्तीस नहरमा डेढ दशक अघिसम्म अहिले जस्तो पानीसँगै प्लास्टिक बग्ने समस्या थिएन। तर नहर किनारमा मानिसको बसोबास बाक्लिएसँगै समस्या बढ्यो।

बुटवलबाट बगेर आउने प्लास्टिकलाई बुटवलको योगिकुटीमा रोक्ने उपाय गरे पनि त्यो प्रभावकारी हुन सकेन। किसानले योगिकुटीमा जाली लगाएर प्लास्टिकलाई रोक्ने प्रयास गरेका थिए। तर प्लास्टिकले पानी नै ब्लक गरेर बजारमा पसेपछि अहिले त्यो प्रयोगविहीन जस्तै छ।

नहरबाट शाखा कुलोमा पानी जाँदा पनि प्लास्टिक फोहोर बगेर खेतमा पुग्ने गरेको छ। कतिपय ठाउँमा त त्यस्ता फोहोर कुलोको मोहडामा थुप्रिँदै जाँदा त्यहाँ पानी थुनिने समस्या समेत छ।

रुपन्देहीको तिलोत्तमा वडा नं. ६ का अर्जुन अर्याल बुटवलबाट बगेर आउने प्लास्टिकजन्य फोहोर नहरमा व्यवस्थापन हुन नसकेको बताउँछन्। उनले नहरबाट फोहोर खेतबारीमा सिधा आउँदा बालीनालीमा समेत असर पुगेको बताए।

 किसानहरू खेत जोत्ने समयमा पनि प्लास्टिकबाट हैरानी खेपेको बताउँछन्। ज्योति शान्ति टोल विकास संस्था तिलोत्तमा ८ का अध्यक्ष एवं मौजा मुख्तियार घनश्याम न्यौपानेले खेतमा पुगेको प्लास्टिकका कारण जोत्न समस्या भएको बताए।

‘ट्याक्टरले जोत्दा प्लास्टिक हलोमा अड्किन्छ। रोक्दै फाल्दै गर्नुपर्छ’ उनले भने।

नहरबाट प्लास्टिकसँगै आउने रासायनिक पदार्थले खेतीमा असर पुगेको उनी बताउँछन्। ‘प्लास्टिक र रासायनिक पदार्थले माटो बिग्रायो। पहिले जस्तो उब्जनी अहिले हुँदैन’ उनले भने।

स्थानीका अनुसार वि.स. २०५१ सालसम्म नहरमा कलकल पानी बग्थ्यो। फाट्टफुट्ट प्लास्टिक बगे पनि त्यसलाई व्यवस्थापन गर्न सकस थिएन। अझ बुटवलको पुरानो बसपार्क नजिकै (सिन्दूर होटेल पछाडि) बाट बुटवल उपमहानगरपालिकाले ०५१ साल तिरै नहरमा ढल मिसाएपछि नहर बिस्तारै फोहोर बन्दै गयो।

सोर्ह–छत्तीस नहरका अध्यक्ष यज्ञ गैरले बुटवलबाट आउने प्लास्टिकजन्य फोहोर रोक्न दर्जन बढी माग लिएर उपमहानगरपालिका पुगे पनि यसको समाधान नभएको बताए।

‘नहर डम्पिङ जस्तै बन्यो। जब सम्म नागरिकमा सचेतना हुँदैन । नहर कहिल्यै सफा हुँदैन’ उनले भने।

अहिले नहरमा प्लास्टिक, रासायनिक पदार्थ, भान्सा र शौचालयको पानी सिधा जाँदा किसानले ठुलो मार खेप्नुपरेको उनको भनाई छ।

सोर्ह–छत्तीस नहरका दुई मुहान छ। कन्या ढुङ्गा मुहान मुख्य हो भने उद्योग वाणिज्य सङ्घ तल इड्डा मोडमा अर्को मुहान छ। बुटवलको होराईजन स्कुलसम्म यी दुई संयुक्त भएर बग्छन्। त्यसपछि पश्चिम र पूर्व गरी दुई नहर छुट्टिन्छन्। पश्चिम नहरलाई १६ मौजा भनिन्छ भने पूर्व नहरलाई ३६ मौजा भनिन्छ।

३६ मौजा सिचाई आयोजनाले तिलोत्तमाको ४ हजार हेक्टर क्षेत्रफलमा सिचाई गर्छ भने १६ मौजाले २५ सय हेक्टरमा सिचाई गर्छ।

यी दुवै नहरबाटै प्लास्टिक किसानको खेतसम्म पुग्छ। त्यहिकारण किसानको उत्पादन समेत घटेको अध्यक्ष गैरेले बताए।

‘प्लास्टिकजन्य फोहोरबाट नहरको माथिल्लो क्षेत्र शंकरनगर आनन्दवन, करहियाका किसान पीडित छन् । तल्लो क्षेत्रमा कम प्लास्टिक पुगे पनि नहरमा बगेर आउने रासायनिक पदार्थ पुग्दा किसानले राम्रो उत्पादन गर्न पाएका छैनन्’ उनले भने।

जंगबहादुर राणाको पालनामा किसान छेदा थारुले वि.स. १९०३ पछि बनाएको स्रोह–छत्तिस नहर अहिले अतिक्रमणको चेपुवामा समेत परेको देखिन्छ। बुटवलको ईट्टाभट्टी पछाडि घरधनीले नहरकै क्षेत्र मिचेका छन्।

‘नहरको आफ्नै पुर्जा छैन। नहरले ओगटेको नक्साको क्षेत्र हेरेर अगाडि बढ्दा नक्सा एकातिर छ, पुर्जा अर्कोतिर छ। नक्सा अनुसार नहरलाई बगाउन सकिँदैन। कतै व्यक्तिको जग्गामा समेत नहर बगेको छ’ अध्यक्ष गैरेले भने।

वि.स. ०४० सालसम्म नहरकै पानी प्रयोग गरेर खान सकिने अवस्था रहे पनि ०५५ सालपछि नहर बढी दूषित हुँदै गएको वातावरणविद् युवराज कँडेल बताउँछन्। अहिले प्लास्टिककै कारण नहरको गहिराई र चौडाइमा ५ प्रतिशत खुम्चिएको उनले बताए।

‘अहिले नहरमा सबै मिसाइन्छ। त्यसको असर किसानलाई परेको छ। पहिले एक-दुई दिनमा नहर सफा गर्ने किसानहरू अहिले सात दिन सम्म पनि नहर सफा गरेर भ्याउँदैनन्’ उनले भने।

स्रोह–छत्तिसको नहरबाट पहिले ३-४ चरणमा सिचाइका लागि किसानले पानी लैजाने गरे पनि अहिले नहर सफा नहुँदा किसानले एक-दुई पटक मात्र नहरको पानी ल्याउने गरेको उनले बताए।

‘नहरको पानी ल्याउन सकस भएपछि केउलानी, समेरा, हरैया, शिवपुर, शंकरपुर, कुञ्जलापुर, मक्रहरका किसान कुलो सफा गर्न त्यति जाँदैन। बरु उनीहरूले पम्पको पानीले काम चलाउन थालेका छन्’ उनले भने।

किसानहरूले पहिले मकै छर्दा, धानको व्याड राख्दा, खेत रोप्दा गहुँका लागि सिचाइका लागि नहरको पानी प्रयोग गरे पनि अहिले धान रोप्दा र गहुँका लागि सिचाई गर्न बढी नहरको पानी प्रयोग गर्ने गरेका छन्।

‘नहरमा प्लास्टिक मात्र आएन। सिसा बग्दै आयो। मरेका जीवजन्तु पनि बग्दै आउन थाले। यसले किसान मारमा छन्। त्यसैले बुटवलले बुटवलवासी र तिलोत्तमाले तिलोत्तमावासीलाई नहरमा फोहोर नगर्न सचेतना जगाउन जरुरी छ। यसो भएमा मात्र नहर सफा हुन्छ’ उनले भने।

यो नहर ठाउँ अनुसार ५० देखि ६० फुट त कतै १५ देखि २० फुटमा मात्र बगेको छ। प्लास्टिककै कारण नहर धेरै ठाउँमा पुरिएको छ।

सुखौरा खोलाको नहर बन्द

बुटवलको धागो कारखाना हुँदै तिलोत्तमा बग्ने सुखौराको खोलाको नहर बन्द भएको १५ वर्ष भयो। बुटवलको फोहोर नहरमा जाँदा किसानले नहर सफा गर्नै सकेनन्। अनि उनीहरूले नहर नै बन्द गरे। तिलोत्तमाको उत्तरी क्षेत्र सिचाई हुने नहर प्लास्टिकले ढाकिन थालेपछि किसानले नहर बन्द गर्नुपरेको वातावरणविद् कँडेलले बताए। सुखौरा खोलाको नहरबाट करहियाको एक सय हेक्टर खेतमा सिँचाइ हुन्थ्यो।

बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल समुदायमा आधारित कार्यक्रम बनाएर सरसफाइ कार्यक्रम गर्ने बताउँछन्।

‘हामीले केही समय राजमार्ग लक्षित सरसफाईका कार्यक्रममा अगाडि बढ्यो। स्रोह–छत्तिस नहरको सन्दर्भमा योजना बनाएर अभियानै रूपमा अगाडि बढाउने योजनामा छौ। टोल विकास संस्थाहरू सँग राय लिएर अघि बढ्नेछौ’ उनले भने।

४ फागुन, २०८०, १८:३६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।