बौद्ध मार्गीको अष्टमहास्थान केही कथ्य केही तथ्य-२ : चमत्कार नदेखाउँदा बुद्धको बुद्धत्वमाथि नै प्रश्न
परम्परागत मूल्य र मान्यतालाई चुनौती दिँदै कडा तपस्या भन्दा पनि चित्त शुद्धिबाट ज्ञान प्राप्त हुने बुद्धको दाबी रहन्थ्यो। शरीरलाई दुःख दिएर जपतपमा लागेकाहरूले बुद्धलाई ढोङ्गीको उपमा दिन्थे।
ध्यानी भएर पनि चमत्कार नदेखाएको भनेर हेयको भावले बोल्थे। अरुले हेयको भावले हेरे पनि, गाली नै गरे पनि बुद्ध कहिल्यै क्रुद्ध हुँदैनथे।
गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि जम्मा ४५ वर्षावास बिताए। त्यसमध्ये २५ वर्षावास कोशन राज्यको श्रावस्तीमा मात्रै बिताएका थिए। त्यही श्रावस्ती वरपर अंगुलीमाल भन्ने एक व्यक्तिले आतंक फैलाएका थिए। अंगुलीमालले जो भेट्यो उसैलाई काट्ने गर्थे।
अंगुलीमालले गुरु दक्षिणाको लागि मान्छे काट्ने गर्थे। अर्थात् अंगुलीमाल एक तीक्ष्ण शिष्य थिए। गुरुले हजार जनालाई काटेर औंलाको माला लगाएपछि मात्रै उसको शिक्षा पूरा हुने बताएपछि अंगुलीमालले दोबाटोमा मान्छे काटेका थिए।
अंगुलीमालको यो आतंक साम्य पार्न बुद्ध त्यही दोबाटो हुँदै हिँडे। अंगुलीमालले गुरु दक्षिणा पाउन अब धेरै मान्छे काट्न बाँकी थिएन। बुद्धलाई देखेर उनी खुशी भए। बुद्ध नडराइकन नजिक गएको देखेर केही बेर त अंगुलीमाल झस्किए पनि। अंगुलीमालले क्रुद्ध हुँदै बुद्धलाई काट्न तम्सिए।
जब उनी बुद्धको नजिक गए, उनले काट्न सक्ने कुरै आएन। बुद्धको अनुयायी पो बने। बुद्धमा जस्तोसुकै क्रुर व्यक्तिलाई पनि सम्झाएर सही बाटोमा हिँडाउन सक्ने ताकत थियो।
लेखक उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’ पुस्तकअनुसार बुद्धले त्यतिबेला अष्टाङ्गिक मार्गमा केन्द्रीत गर्थे।
पहिलो सम्यक् दृष्टि : जीवन र जगत्को यथार्थ स्वभाव तथा दुःख र यसबाट निवृत्तिका विषयमा सही दृष्टिकोण
दोस्रो सम्यक् सङ्कल्प : निष्काम, अहिंसायुक्त तथा द्वेषरहित विचार
तेस्रो सम्यक् वचन : कठोर कर्कश वाणी नबोल्नु, चुग्ली नलगाउनु, व्यर्थका कुरा नबोल्नु
चौथो सम्यक् कर्म : प्राणी हिंसा, चोरी, झुटो वचन र मिथ्याकामाचरण नगर्नु
पाँचौं सम्यक् आजीविका : अरुलाई हानी नपुग्ने कामबाट जीविकोपार्जन नगर्नु
छैटौं सम्यक् प्रयत्न : आफूभित्र दुर्गुण हटाउन, नभएको दुर्गुण प्रवेश हुन नदिन, भएका सद्गुणका संरक्षण गर्न र नभएको सद्गण आफूमा ल्याउन निरन्तर प्रयत्नशील रहनु
सातौं सम्यक् स्मृति ः शरीर र चित्तको अवस्थाप्रति सधैं जागरुक रहनु
र आठौं सम्यक समाधी : मनको सम्य्क एकाग्रता हासिल गर्नु
बुद्धले शरीरलाई दुःख नदिइ ध्यान गर्न र चित्त शुद्ध गर्न लगाएको देखेर अन्य सम्प्रादयलाई चित्त बुझ्दैनथ्यो। त्यतिबेला जैन धर्मका अनुयायीले कपडा समेत नलगाइकन कठोर नियम पालना गर्थे। यसविपरीत बुद्धले शरीरको बाहिरी आवरण शुद्ध पारेर, भित्री चित्त अशुद्ध भए ज्ञान प्राप्त नहुने बताउने गर्थे।
अन्य सम्प्रदायमा जात अनुसार विभेद हुन्थ्यो। बुद्धले जात कर्मले हुने भन्दै अछुत व्यवहार गर्नै नहुने बताउँथे। बुद्धले ध्यानीहरूमा चमत्कार गर्नसक्ने क्षमता भए पनि चमत्कार गरेर अनुयायीलाई भुलाउन नहुने, चमत्कार गरेर बस्दा ज्ञानको सही मार्गमा पुग्न नसकिने जिकिर गर्थे।
श्रावस्तीमा बुद्धलाई यति अप्ठ्यारो पर्याे की उनले चमत्कार नगरी धरै पाएनन्। व्यक्तिगत रूपमा लेखकलाई यो कुरा कथ्य जस्तो लाग्छ। श्रावस्तीमै एक दिन ‘तथागत’ले चमत्कार देखाउने भन्दै सूचना फैलाए। बुद्धले आफूलाई तथागत भन्थे। मान्छेहरू जम्मा भए।
तथागतले आँपको दाना हातमा लिए। त्यो आँप बुद्धले खाए। त्यसमा रहेको बिउ रोप्नेबित्तिकै आँपको रुख देखियो। त्यहाँ लटरम्मै आँप फल्यो पनि। चमत्कार हेर्न आउने जति सबैलाई बुद्धले आँप टिपेर खुवाए।
यो चमत्कार बुद्धकै अनुयायी भिक्षुणी उत्पलवर्णलाई मन परेको थिएन। उनले बुद्धलाई भनिन्- तथागतजस्तो व्यक्तिले किन यस्तो सामान्य चमत्कार देखाउनुभएको?, यो त हामी आफैंले सक्थ्यौं नि!
बुद्धले यो चमत्कार आफूले नै गर्नुपरेको र अब यस्ता चमत्कार गर्न नहुनेमा जोड दिए।
श्रावस्तीका राजा प्रसेन जितले यज्ञबलिको आयोजना गर्दै थिए। त्यतिबेला यज्ञबलि गर्दा ठूलो संख्यामा पशुहरूको बलि दिइन्थ्यो। त्यतिमात्रै होइन, यति धेरै खर्च हुन्थ्यो की गरिबहरूले रहरै भएर पनि यज्ञबलि गर्न सक्दैनथे। यज्ञबलि गर्दा पुण्य कमाइने आम जनविश्वास उस्तै थियो।
राजा प्रसेनजितले बुद्धलाई यज्ञबलि गर्न लागेको जानकारी दिन गएका थिए। बुद्धले यज्ञबलि किन दिन नहुने, यसले कुनै पुण्य लाभ नहुने बताएपछि प्रसेनजितले यज्ञबलि त गरेनन् नै उनी बौद्धमार्गीसमेत भए।
श्रावस्तीमा बुद्ध पुग्दा त्यहाँका सुद्दत्व सेँठ यति प्रभावित भएका थिएकी श्रावस्तीमै जेतवन बिहार बनाइदिए। सुनै सुनको पैसा ओछ्याएर स्वागत गरेका थिए। बुद्धले धेरै समय यहि बिहारमा बिताए।
अन्य धर्मका अनुयायी गहृस्थहरू बौद्ध धर्ममा आएपछि अन्य धर्मका गुरुहरू रिसाउँथे। बौद्धमार्गी भए पनि अन्य धर्मका गुरुलाई दान दिन नछाड्नु भनेर गृहस्थलाई बुद्धले भन्ने गर्थे। तर, त्यसविपरीत अन्य धर्मका गुरुले बुद्धलाई दान नदिनु भन्ने गर्थे।
०००
श्रावस्तीमा बुद्ध २५ वर्ष बसे। तर, यहि क्षेत्रमा अहिले बौद्ध धर्म मान्नेहरू निकै कम छन्। विद्यावती गुरुमा(आनी)का अनुसार अहिले यो क्षेत्रमा सय जना आम नागरिकहरू पनि छैनन् बौद्धमार्गी।
किन त?
नालन्दा विश्वविद्यालयमा लेखिएको शिलापत्र अनुसार नालन्दा विश्वविद्यालय संसारकै पुरानो विश्वविद्यालय थियो। यस विश्वविद्यालयमा तर्कशाष्त्र, दर्शनशाष्त्र, चिकित्साशाष्त्र व्याकरण, खगोलशाष्त्र तत्वज्ञान लगायतका विषयको पढाइ हुन्थ्यो।
यसको अलवा बौद्ध धर्मशाष्त्रको विशेष पढाइ हुन्थ्यो। यो विश्वविद्यालय कुमारगुप्तले बनाएका थिए। यसलाई १२औं शताब्दीमा बख्तियार खिलजीले आक्रमण गरी पूर्णतया ध्वस्त बनाए। नालन्दा विश्वविद्यालय ध्वस्त हुनु र भारतमा कम बौद्धमार्गी हुनुको सम्बन्ध कसरी त?
नालन्दाको चिनियाँ बौद्ध बिहारका भन्तेका अनुसार मुसलमानले आक्रमण गरेपछि त्यहाँका बौद्धमार्गीलाई दुई छनोट दिइयो। कि त हिन्दू हुनुपर्ने कि त मुसलमान। सोहीअनुसार केही हिन्दू भए केही मुसलमान। जो हिन्दू र मुसलमान दुवै भएनन्, ती नेपाल र तिब्बतमा बसाईं गए। बौद्ध ग्रन्थहरू पनि नेपालमै पुग्यो। दक्षिणबाट उदाएका बुद्ध र बौद्ध धर्म उत्तरतिर फैलनुमा धार्मिक द्वन्द्व भएको पुष्टि हुन्छ नै।
भारत उपनिवेश रहेको अवस्थामा नै बुद्ध बसेको जेतवनदेखि पहिलो विश्वविद्यालय दावी गरिएको नालन्दा विश्वविद्यालय उत्खनन भएको देखिन्छ। अझै पनि ठूलो क्षेत्रमा रहेको नालन्दा विश्विद्यालयका अवशेषहरू देख्न सकिन्छ। जेतवन बिहारमा हिँड्दा लाग्छ यो बिहारमा बुद्धसँगै हिँडिरहेको छु। बुद्धले शान्तिको लागि धर्मदेशना दिइरहेका छन्।
०००
जन्मदिने आमा भेट्न बुद्ध देवलोकमा
बुद्धत्व प्राप्त गरेको सातौं वर्षबासमा बुद्धले आफूलाई जन्म दिने आमा मायादेवीलाई भेट्न जाने निधो गरे। त्यतिबेला मायादेवी त्रायंतीश देवलोकमा थिइन्। त्यस देवलोकमा मायादेवीको पुरुषको रूपमा जन्म भएको थियो। उनैलाई भेट्न बुद्ध पृथ्वीबाट अलप भएर देवलोक पुगे।
जन्मेको सातौं दिनमा आमा गुमाएका बुद्धले आमालाई आफूले बुद्धत्व प्राप्त गरेको कुरा सुनाए। मायादेवी बुद्धप्रति अनुग्राहित भइन्। जन्म दिएको छोरा आफूलाई भेट्न आउँदा कुन आमा पो मख्ख पर्दिनन् होला र? देवलोकमा धेरै समय बसेनन् बुद्ध, आमालाई भेटेर फर्किए। आमालाई भेटेर फर्किएका बुद्धले पृथ्वीमा पाइला टेके। त्यो पनि भारतको सांकश्यमा।
यो कथा सुन्दा अपत्यारिलो लाग्छ नै। बौद्ध धर्मका अनुयायीहरू पुनर्जन्ममा विश्वास राख्छन्। बौद्ध धर्मका अनुयायी भारतीय प्राध्यापक समेत रहेका डाक्टर अशोक प्रियदर्शीले यहि विषयमा विद्यावारधी गरेका छन्।
उनी भन्छन्, ‘भगवान गौतम बुद्धले देवलोकमा आमालाई भेटेर यहि स्थानमा अवतरण गर्नुभयो। मैले मेरो विद्यावारधीको सोधपत्र यसैमा गरेको हुँ।’
बुद्ध धेरै ठाउँमा आउजाउ गरिरहन्थे। धेरै समय श्रावस्तीमा रहेपनि धर्मदेशनाको निम्ती उनी धेरै ठाउँ जाने गर्थे। सांकश्य पछि बुद्ध राजगिर गए।
०००
हालसम्म पुर्वजन्म र पुनर्जन्मबारे वैज्ञानिकहरूले पुष्टि गर्न सकेका छैनन्। धेरै धर्मले पूर्वजन्म र पूनर्जन्ममा विश्वास राख्छन्। खैर! सांकश्यमा बौद्ध स्तूप देख्न सकिन्छ।
नजिकै सारिपुत्रले पाँच सय भिक्षु ल्याएको ठाउँ पनि भारतीय पुरातत्व विभागले उल्लेख गरेको छ। तर, सांकश्यको प्रमुख स्तूप भएको स्थानलाई पालीदेवी र सारीपुत्रले भिक्षु ल्याएको स्थानलाई शिव मन्दिर भनेर पूजाआजा गरिने रहेछ।
बौद्ध अनुयायीले बन्दना गर्ने पूजाआजा गर्ने तर देवता भने हिन्दूको राख्ने। अधिकांश बौद्ध धर्म मान्नेले भन्ने गर्छन्- हिन्दूहरूको आक्रमण। तर, हिन्दूका देवीदेवताको मूर्ति पनि फालेको देखिँदैन। हिन्दू धर्मका अनुयायीभन्दा बौद्ध धर्मकै अनुयायीको उपस्थिति बाक्लो देखिन्छ। क्रमशः
(यस लेख अध्येता बसन्त महर्जन, लेखक उमाकान्त पौड्याल र मज्झमनिकाय, दीघनिकायमा उल्लेख भएका केही घटना क्रम लिएर लेखिएका हुन्।)
फागुन २, २०८० बुधबार ०९:५३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।