चौथो अंग : पत्रकारिताले कार्टुनलाई छापामै छाडेर हिँड्यो, अनलाइनहरू खल्ला भए
१० वटा जति नाम चलेका अनलाइन स्क्रोल गर्याैँ भने मुस्किलले एक-दुई वटा अनलाइनमा कार्टुन देखिएला। अनलाइनले कार्टुन बुझ्नै चाहेन। नाम चलेका अनलाइनमा पनि कार्टुनिष्ट छैनन्। अनलाइन नभइन्जेल छापामा एकताका अभिन्न अंग थियो कार्टुन।
अहिले त समय फेरियो। कार्टुनको क्रेज घटेको होइन। तर, मिडियाले बुझ्दै बुझेनन्। यदि कार्टुनको क्रेज घट्थ्यो भने सामाजिक सञ्जालमा राखेका कार्टुनहरू ‘भाइरल’ हुँदैनथे होलान्। कार्टुनिष्टले कार्टुन कथा पनि भन्न सक्छन्। तर, नव मिडियाले कार्टुनिष्टलाई महत्व नै दिएनन्। त्यसैले त नाम चलेका अनलाइनमा पनि नियमित कार्टुन आउँदैनन्।
०००
कार्टुन हास्य व्यङ्ग्य मात्रै होइन
मेरो कार्टुनकारिता २०६३ साल देखि शुरू भएको हो। नुवाकोटमा सकियो मेरो विद्यालय शिक्षा। त्यतिबेला पनि काठमाडौंबाट प्रकाशित हुने पत्रिका गाउँ पुग्थ्यो। दृष्टि, छलफल जस्ता साप्ताहिकमा कार्टुन हेर्थें। रविन सायमी र बासु क्षितिजका कार्टुनहरू हेरेर दङ्ग पर्थेँ। ‘यस्तो कार्टुन बनाउन पाए’ भन्ने लागिरहन्थ्यो तर कार्टुन कसरी बनाइन्छ भन्ने जानकारी चाहिं थिएन।
कार्टुन कम्प्युटर चाहिन्छ भन्ने कतै पढेको थिएँ, झनै कार्टुन बनाउने आश मरेर गयो । किनभने त्यो बेलासम्म मैले कम्प्युटर चलाउन त के छुनसमेत पाएको थिइनँ। पछि भने हातैले कार्टुन बनाउन सकिन्छ भन्ने थाहा पाएँ। आइकम पढ्न थालेको मैले ललितकला क्याम्पस देखेँ एक दिन।
थाहा भयो यो क्याम्पसमा चित्र बनाउने पढाइन्छ। पछि यहि क्याम्पसमा पढेँ पनि। कार्टुन बनाउने हुटहुटीले मलाई छाडेकै थिएन। प्राय त्यतिबेलाका पत्रिका सबैमा कार्टुन आउँथ्यो तर हिमालय टाइम्समा आउँदैनथ्यो। त्यहीँको रिसेप्सनमा कल गरेँ। भेट्न बोलाइयो। मलाई कार्टुन बनाएर ल्याउन भनियो।
मैले रातभरीमा विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा कार्टुन बनाएर लगेँ। उहाँहरूले कार्टुनको विषयवस्तुमा केन्द्रीत भएको तर चित्रमा भने सुधार गर्नुपर्ने बताउनुभयो। केही समय त्यहाँ काम गरेपछि केही साप्ताहिकमा काम गरेँ। साप्ताहिक पनि दुई चार वटा होइन ३० वटा जतिमा गरेँ होला। पहिले साप्ताहिकले ३/४ महिना तलब दिन्थे अनि दिँदैनथे। म अर्काेमा सरि हाल्थेँ। त्यसपछि भने दैनिक पत्रिकातिर लागेँ म।
कसैले जिस्काएको, उडाएको महसुस गर्याे ‘कस्तो कार्टुन बनियो’ भन्ने गरिन्छ। बोलीचालीको भाषा जे भएपनि कार्टुन भनेको हास्यव्यङ्ग्य मात्रै होइन। कार्टुन बनाउँदा राजनीतिक, सामाजिक र आर्थिक कुरा उठाइन्छ। यसका लागि मिहिनेत र अध्ययन उत्तिकै चाहिन्छ।
केही उदाहरण दिन्छु, बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि के-के न गर्ने सुरमा थिए। उनले शुरूमा टुकुचा खोला खोले यता असफल भएपछि फुटपाथ व्यवसायी लेखेटे। यत्तिले नपुगेर सुकुम्बासी बस्ती पुगे, ठेलागाडामा तरकारी बेच्नेको त रुवाबासी नै भयो। अनि कार्टुन बन्यो बालेनको र नगरप्रहरीको तस्बिर सहित ‘को हो त्यो देख्दै गरिब जस्तो?’
थोरै शब्दमा धेरै कुरा बोल्छ कार्टुनले। कलामार्फत सत्ताको विरोध गर्ने हतियार पनि हो कार्टुन।
अर्काे उदाहरण दिन्छु, न्यायालयलाई खासै व्यङ्ग्य हानिँदैन। पूर्वप्रहरी रञ्जन कोइरालालाई सजाय कम गरेपछि मन बेचैन भयो। त्यसपछि कार्टुन बनाएँ। ‘श्रीमान्द्वारा हत्या’ स्लोगन राखी हत्या भएकी महिलाको। मलाई लाग्छ कार्टुन एकैछिन हाँस्नलाई मात्रै होइन घोत्लिनलाई पनि हो। कार्टुनले मनभरी लागेको कुरा चित्र र एक वाक्यमा भन्न सकिन्छ।
सम्पादकले अझै बुझेनन् कार्टुनको शक्ति
मैले बनाएको त्यही रञ्जन कोइरालाको कार्टुनलाई थोरै होइन, धेरै स्पेश दिएर छाप्नुभयो सम्पादकले। सम्पादकले कार्टुन बुझे भने सजिलो हुन्छ। तर, नेपालका सम्पादकहरू सबैले बुझेजस्तो लाग्दैन। बुझेको भए अनलाइनमा पनि कार्टुनिष्ट हुन्थे होलान्। फोटो स्टोरी आएजस्तै कार्टुन स्टोरी आउँथ्यो होला। कलाकार नभएका होइनन्, मिडियाले चाहिँ नचाहेका हुन् की जस्तो देखिन्छ।
राजनीतिक रूपमा खुला भएपछि कार्टुन बनाएँ मैले। प्रत्यक्ष रूपमा कसैले नराम्रो त भन्नुभएको छैन। सबैभन्दा धेरै केपी शर्मा ओली र सबै भन्दा कम शेरबहादुर देउवाको कार्टुन बनाएको रैछु।
रिपोर्टरको समाचारजस्तै कार्टुनिस्टको पनि सबै कार्टुन छापिँदैनन्, हस्तक्षेप हुन्छ। कति कार्टुन मिहिनेत गरेर बनाउँछन् कार्टुनिष्टले तर छापिँदै छापिँदैन। सामाजिक सञ्जालमा सेयर गर्याे भने सम्पादकले ‘किन सामाजिक सञ्जालमा सेयर गरेको? सम्पादकले छापेन भन्दैनन्?’ भन्ने प्रश्नको सामना कार्टुनिष्ट साथीहरूले भोग्दै आएका छन्। कार्टुनिष्टको भेला हुँदा यस्तो कुरा हुन्छन् नै।
अधिकांश मिडियामा सम्पादकलाई ‘बोल्ड पनि देखिनु छ, कसैको चित्त पनि बुझाउनु छ’, यसरी त काम हुँदैन। कार्टुन होस् या समाचार प्रहार नै हुने हो। सम्पादकले लगानीकर्ताको दृष्टिकोण भन्दा पनि पत्रकारको दृष्टिकोणले हेर्नुपर्ने देखिन्छ। अलिकति आलोचनात्मक भयो भने डराउने, छाप्न आत्मविश्वास पनि नहुने अनि आफ्नो क्षमतामाथि प्रश्न उठ्छ की भनेर डराउने पनि।
मिडियाको मात्रै भर परेर हुँदैन
छापाको भविस्य कहिलेसम्म छ थाहा छैन। अधिकांश अनलाइनले कार्टुनिष्ट राख्दैनन्। कार्टुनकारिताको भविष्ट छ भन्नु की छैन भन्नु। यसै भन्न सकिँदैन। यदि कार्टुनकारिता गर्ने हो भने यसलाई साइड बिज्नेस बनाउनुपर्छ जस्तो लाग्छ मलाई।
त्यस्तै अब आउने कार्टुनिष्टले दलित, महिला, जनजाति सामाजिक संरचनाले पिँधमा पारिएका निम्छरो वर्गलाई होच्याउने होइन, उनीहरूको मर्कालाई बुझ्ने र सत्तामा किर्ना जसरी टाँसिएर बस्ने वर्गलाई प्रहार गर्ने चेत बोकेर आउन जरुरी देख्छु।
कार्टुनको नाउँमा कोही कसैलाई होच्याउन हुँदैन। शक्तिशाली सम्पादक परे भने बनेको कार्टुन खेर चाहिँ जाँदैन। कस्तो सम्पादकसँग काम गरिएको छ, यसले ठूलो असर पर्छ। कार्टुनले समाजमा राम्रै तरङ्ग ल्याउँछन्।
कार्टुन यसै बन्दैन, गहिरो अध्ययन, चित्रप्रतिको संवेदनशिलता र सिर्जनात्मक कलाले बन्ने हो। यसको प्रभाव जनमानसमा राम्रै पर्छ। पत्रकारिताले कार्टुन छापामा नै छाडेर हिड्यो तर यसको प्रभाव ढिलो चाँडो नबुझी सुखै छैन।
कार्टुनकै प्रभाव त सदनमा कहिलेकाहीँ भएको देखिन्छ। हुन त समग्र मिडियाको प्रभाव घट्दै गएको हो की जस्तो लाग्छ मलाई पनि। पछिल्लो समय मिडियामाथि प्रश्न पनि उठेका छन्। तर, मिडियाले आम नागरिकलाई उत्तर दिन खोजिरहेको छैन।
मिडियाले प्रश्न उठाउँछ तर मिडियामाथि प्रश्न उठ्यो भने जवाफ दिने चाहिं को हो? मिडियाले आम नागरिकको प्रश्नको जवाफ किन नदिएको? प्रश्न उठेपछि मिडियाले जवाफ दिनुपर्दैन? हाम्रा मिडिया उत्तर दिनबाट भागिरहेका छन्।
(हिमालयटाइम्स, विभिन्न साप्ताहिक पत्रिका, आर्थिक दैनिक, कारोबार दैनिक, बाह्रखरीमा काम गरिसकेका मिश्र अहिले नयाँ पत्रिका दैनिकमा आबद्ध छन्। उनैसँग चौथो अंगका लागि प्रजु पन्तले ‘कार्टुनकारिताको अहिलेको अवस्था’ शिर्षकमा रहेर गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला
फागुन १, २०८० मंगलबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।