लेखक सुलोचनाको प्रसव पीडा र खुसी : पहिलो सन्तान भएपछि पुग्यो भन्ने लागेको थियो, तर पहिलोले नै दोस्रोलाई बोलाउने रहेछ

लेखक सुलोचनाको प्रसव पीडा र खुसी : पहिलो सन्तान भएपछि पुग्यो भन्ने लागेको थियो, तर पहिलोले नै दोस्रोलाई बोलाउने रहेछ

रात गर्भवती आमा हो

नपत्याए पर्खि बस

भोलि  बिहानै सूर्य जन्माउँछे उसले!

कवि सुलोचना मानन्धरको 'रात' कविता संग्रहको एक अंशले नै गर्भावस्थाबारे धेरै बोल्छ।

उमेरले सात दशक टेक्न लाग्दा पनि उत्तिकै सक्रिय छिन् उनी। हरेक आइतबार रेडियो सगरमाथामा जीवनको सकारात्मक पाटोको कुरा गर्छिन्। अनि मंगलबार भने दृष्टि पत्रिकाको स्तम्भ 'सम्पूर्ण आकाश' मा लेख लेख्छिन्। यी दुवै कामलाई दुई दशक भन्दा बढीदेखि उनले निरन्तरता दिइरहेकी छिन्। त्यस बाहेक विभिन्न साहित्यिक कार्यक्रममा उपस्थित भइरहेकी हुन्छिन्।

काठमाडौँको झोछेंमा जन्मिएकी उनी तीन दिदी-बहिनीमध्ये कान्छी हुन्। जन्मिएको आठ महिनामै बा'को छत्र छायाँबाट टाढा हुनुपर्यो। एकल आमाबाट हुर्किएकी उनी सानैदेखि क्रान्तिकारी स्वभावको भएर जिइन्। 

पछि राजनीतिमा पनि खुलेरै लागिन्। हरेक दिन बिहान उठेदेखि नै उनको हातमा कलम हुन्छ। उनी आजसम्म पनि केही न केही लेखिरहन रुचाउँछिन्। उमेरले बुढ्यौली छुँदै गर्दाको कमजोरीहरू राम्रैसँग अनुभव गरेकी रहिछन् उनले। 

उनी विभिन्न साहित्यिक संस्थाका सदस्य हुनुका साथै ‘जेष्ठ नागरिक महासंघ’को समेत आजीवन सदस्य छिन्। १८ वटा कृतिको सिर्जना गरिसकेकी उनका इतिहासका जिउँदा पानाहरू, रात, नेपाल भाषाका नारी हस्ताक्षर गरी १६ वटा पुस्तक प्रकाशित भइसकेका छन्।

उनीसँग बिस्कुट कारखानामा मजदुर भएको, प्राइमरी स्कुलमा पढाएको देखि विश्वभाषा क्याम्पसमा चिनियाँ र नेवारी भाषा  पढाएको अनि चार वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद सदस्य (मातृ भाषा साहित्यको प्रमुख समेत) भएर काम गरेको समेत उनीसँग अनुभव छ। 

तर पनि उनलाई केही कुराहरूको अभाव खड्किरहन्छ। विद्यावारिधिको अन्तिम चरणमा छोड्न परेको, ड्राइभिङ् सिकेर आफ्नै लाइसेन्स निकाल्न नपाएको अनि संगीत सिक्न नपाएकोमा भने उनलाई जीवनमा केही कुरा छुट्यो भन्ने लागिरहन्छ। 

२६ वर्षमै श्रीमान गुमाएकी आमाको बारेमा लेखिएको किताब ’आमा पाठशाला’ लगायतका नयाँ थुप्रै किताबहरू उनको प्रकाशित हुन बाँकी नै रहेको हुँदा अबको बाँकी समय तिनै किताबहरूको लागि छुट्याएको उनी बताउँछिन्। 

उनै सुलोचना दुई सन्तानकी आमा पनि हुन्। सन्तानको लागि भनेर राजनीतिबाट टाढा रहे पनि असल आमा बन्न सफल नभएको भन्दै उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा उनले आफ्नो अनुभव यसरी साटिन् :

000

१६ वर्ष हुँदा नै मेरो वैवाहिक जीवनको कुरा चलिसकेको थियो। खासमा १८ वर्ष हुँदा परिवारले जात मिल्ने, धनी-मानी अनि पढे-लेखेको केटासँग बिहे गरिदिन खोजेका थिए। तर २५ वर्षको उमेरमा मेरो बिहे भयो। धेरैले ढिला बिहे गरेको भन्नुभयो।

म त्यो बेलामा राजनीतिक रुपमा सचेत भइसकेकी थिएँ। कलेज पनि पढिरहेको हुँदा राजनीतिक रुपमा नै अगाडि बढ्ने योजना थियो। त्यसैले विचार नमिल्नेसँग बिहे नगर्ने भनेर १८ वर्षमा हुनै लागेको विवाहलाई रोकेँ।

त्यसबेला म मात्र होइन, मेरो साथी अष्टलक्ष्मी शाक्यले पनि घर र समाजमा संघर्ष गर्न परेको थियो। त्यो बेला समाज एकातिर थियो अनि १८ वर्षकी किशोरी म अर्कोतिर। अन्तर्जातीय विवाह गर्न अहिले त यति गाह्रो छ, झन् त्यसबेला सजिलो हुने कुरै भएन। 

मेरो घर र श्रीमानको घरमा पहिलो अन्तर्जातीय विवाह गर्ने नै हामी भएका थियौँ। धेरै गाह्रो भयो। त्यो घरले मलाई विवाह भएको तीन वर्षपछि मात्र बुहारी स्विकार्यो। तर, हामी लामो समयसम्म पनि घरमा बसेनौँ।

बिहे गरेकै अर्कोवर्ष पहिलो सन्तान जन्मियो। छोरी दुई वर्ष भएपछि मात्र घरमा स्विकारिएको थियो। पहिलादेखि नै सन्तान त चाहिन्छ भन्ने नै लाग्थ्यो। पहिलो सन्तान मैले आफ्नै स्व-इच्छाले जन्माएकी हुँ।

म गर्भवती हुँदा श्रीमान भूमिगत हुनुहुन्थ्यो। त्यो अवधिभर म एक्लै थिएँ। उहाँ राजनीतिक रुपमा एकदम सचेत अनि पेसाले डाक्टर हुनुहुन्छ। असल व्यक्ति हुनुभएकै कारण प्रभावित भएरै मैले उहाँसँग बिहे गरेकी हुँ।

हाम्रो विवाह भूमिगत रुपमै भएको हो। बिहेपछि केटाहरूलाई भन्दा केटीहरूलाई अलि बढी गाह्रो हुने रहेछ। बिहे भएको भनेर केटी मान्छेले त्यतिबेला सिन्दुर अनि पोते लगाएर देखाउनु पर्ने रहेछ। मैले पनि सुरूसुरूमा आफैंले आफैंलाई निधारमा अबिर दलेर देखाउने काम पनि गरेँ।  

भूमिगत विवाह भएको कारण 'मेरो श्रीमान यही हो' भन्ने अवस्था थिएन। म आफैं सिन्दुर लगाएर हिँडिराख्दा र श्रीमान नचिनाउँदा समाजमा धेरैले धेरै थरीका कुराहरू पनि गरे होलान्। मैले भन्दा पनि अझ मेरो आमाले धेरै कुरा सुन्नु पर्यो रे! 

गर्भवती समयमा काठमाण्डौंस्थित नरदेवीको गल्लीमा भएको एउटा कोठामा बस्थेँ। त्यसबेला श्रीमानको धेरै याद आउने रहेछ। त्यस बीचमा एकपल्ट भेटघाट गर्न जनकपुरसम्म पनि गएकी थिएँ। तर, सँगै भएको जस्तो कहाँ हुनु र!

गर्भवती हुँदा म धेरै खुसी थिएँ। यो कुरा श्रीमानलाई थाहा थियो नै। आमा र दिदीहरूले बिस्तारै थाहा पाउनु भयो।

स्वाभाविकै रूपमा गर्भवतीको बेला विशेष खालको खानेकुरा खानु पर्थ्यो। तर, गुन्द्रुकको झोल मात्रै खाएर बसेँ। भात, काउलीको तरकारी खानै मन नलाग्ने। यस्तो कुरा भनौँ भने पनि कसलाई भन्ने! त्यो बेलाको माहोल मेरो लागि सहज थिएन क्या!

तर, त्यो कुरा चैँ जीवनभर याद आइरहने रहेछ। त्यो बेला मन नपरेका र मन परेको कुराहरू अहिले पनि सम्झिरहन्छु। म त्यसबेला एकदम बलियो थिएँ। बलियो भएकै कारण गर्भवतीको समयमा पनि मैले काठमाडौँको स-सानो डाँडाहरू चढेकी थिएँ। राजनीतिक कामहरूमा पनि दौडिएकै थिएँ। 

बच्चा जन्माउने बेलामा हस्पिटल जाँदा पनि श्रीमान साथमा हुनुहुन्थेन। साथीहरूले नै हस्पिटल लगेका हुन्। डाक्टरले दिएको समय भन्दा एक हप्ता ढिला बच्चा जन्मियो।

हस्पिटल जाँदा त्यहाँ बेड खालि नै थिएन। कत्ति सुत्केरीहरू त बाहिरै बसेका  थिए। म त हाँसी-हाँसी गएको। अस्पतालका मान्छेले‘अहिले बेला भएको छैन फर्किनुस्’ भनेका थिए। ‘एक हप्ता ढिला भइसकेको छ, बच्चा जन्मिने लक्षणहरू देखिसकेको छ,’ मैले भनेँ। त्यसपछि मात्र भर्ना लिइयो। 

रातभर मलाई व्यथा लाग्यो। व्यथा भनेको व्यथा नै हो। त्यही भएर नै ‘व्यथा’ भनिएको हुनुपर्छ। लामो व्यथा लाग्यो। बिहान नौ बजे छोरी जन्मिई।

हुन त त्यो भन्दा अलि अगाडि पनि बच्चा जन्मन सक्थ्यो होला। तर, हस्पिटलमा डाक्टर समयमा पुगेनन्। अहिले सम्झँदा सिकारू डाक्टर मात्र हुँदा पनि ढिलो भएको हुनुपर्छ भन्ने लाग्छ।

पहिले-पहिले दस/बाह्र वटा बच्चा जन्माउने आमाहरूलाई कस्तो भयो होला भनेर पनि सम्झिएँ। बच्चा जन्माउनु भनेको महिलाहरूको निम्ति वरदान त हो नै, सँगै सबैभन्दा ठूलो दुःख पनि हो। धेरै त त्यो बेलाको पीडा सहन नसकेर मृत्यु नजिकै पुगेका पनि छन्। धन्न मेरो राम्रोसँग भयो। जति पीडा भएपनि बच्चा देख्दा त त्यो पीडा क्षण भरमै बिर्सिसकिने रहेछ।

डाक्टरको श्रीमती भनेको भए मैले अलि बढी सेवा सुविधा पनि पाउँथे होला। राजनीतिक परिस्थितिका कारण त्यहाँ श्रीमानको परिचय गोप्य राख्नुपर्ने अवस्था थियो। आफ्नो श्रीमानलाई लिएर जान सक्ने अवस्था थिएन। अलि पछि त डाक्टरको पत्नीको रुपमा सुविधा पाएको पनि छु। तर, त्यो बेला भन्न पनि नहुने परिस्थिति थियो। 

छोरी जन्मिएपछि पनि तगडा नै थिएँ। त्यसबेला छोरी पाएर खुसी हुने मध्येमा म पनि एक हुँ। म खुसी भएर धेरै जना जिल्ल समेत पर्नु भएको थियो। 

नर्मल डेलिभरी भएको भए पनि केही दिन मलाई हस्पिटल नै राखियो। निन्द्रा लाग्दैनथ्यो। त्यसबेला सबैको जिन्दगी नजिकबाट हेर्न पाइयो। कतिको छोरी भयो भनेर श्रीमान रिसाएर हेर्नै नआएर दुःखी भएका दिदी बहिनीहरू पनि देखेँ। छोरा भएर हर्षबढाइँ गर्नेहरू पनि देखेंँ।

मेरो स्तनपान पनि राम्रो भयो। दूध बढी भएर हस्पिटलमा अरू शिशुलाई पनि खुवाउन पाएँ। मैले बच्चा भइसकेपछि पनि अरू सहयोगी साथीहरूको डेरामा बस्नुपर्यो। 

सुत्केरी स्याहार त्यस्तो विशेष भएन मेरो। सिमेन्टको कोठा थियो। चिसो, उत्तर तर्फ फर्किएको, घाम कहिल्यै नलाग्ने। मान्छेहरूले सुत्केरी बिग्रियो भन्ने गर्थे। तर, मलाई त्यस्तो लाग्दैन। 

साथीको बहिनीले खाना पकाएर खुवाउँथिन्। ती बहिनीप्रति अझैसम्म कृतज्ञ छु। त्यही डेरामा मेरो श्रीमान केही समयको लागि आउनु भएको थियो। सुत्केरी भएको १५ दिनपछि  माइती गएँ। त्यसबेला आमाले म प्रतिको रिस सबै मेटेर राम्रो स्याहार-सुसार गर्नुभयो। 

आखिरमा आमा भनेको आमा नै रहेछ।

सुत्केरी भएको दुई महिनामा त म फेरि राजनीतिमा सक्रिय भइहालेँ। राजनीति गर्ने भनेर अढाइ महिनाको बच्चा लिएर तराई झरेँ। त्यहाँ धेरै काम गर्नुपर्ने भएपछि बच्चालाई पर्याप्त समय दिनै सकिँन। बच्चा हेर्दै स्कुलमा पढाउनु पर्दा गाह्रो हुने नै भयो। छोरी एकदम राम्रोसँग हुर्किए पनि त्यो बेलाको क्षण अहिले पनि खट्किन्छ। 

तराईमा एक वर्ष बसेपछि अब यो जिन्दगी मैले खोजेको होइन रहेछ भन्ने लाग्यो। आमा भएर राजनीतिमा पूर्णकालीन रुपमा अघि बढ्न गाह्रो हुने रहेछ। मानसिक रुपमा पनि संवेदनशील भएँ। ‘संसारलाई फेर्छु’ भनेर हिँडेको मान्छे आफै यस्तो भएर हुन्छ? भन्दै आफैंलाई सम्झाउँथे।

पहिलो सन्तान भएपछि पुग्यो भन्ने लागेको थियो। तर पहिलोले नै दोस्रोलाई बोलाउने रहेछ। ‘बहिनी चाहियो’ भानिराख्थ्यी। फेरि जन्माउने कि नजन्माउने भनेर दस वर्षपछि योजना बनाउनु पर्यो। दोस्रो सन्तान दश वर्षपछि जन्मियो।

त्यो बेला म चीनमा थिएँ। विदेशमा भएको कारण स्वतन्त्र पनि थिएँ। आफ्नो खुसीले बस्न पाएँ। पहिलो सन्तानमा जस्तो दोस्रोमा खानाको कमी भएन। गुन्द्रुकको झोलमै सीमित हुनु परेन।

दुई/तीन महिनामा फर्किनु पर्ने थियो। हाम्रो अध्ययन सकिसकेको थियो। अनि हामी फर्क्यौँ।

हामी चीनमा हुँदा ठूली छोरीलाई केही महिना घरमा छोड्नु परेको थियो। मेरो श्रीमान र छोरी स्वास्थ्य संस्था बनाउन भनेर ६ महिना अगाडि नेपाल आउनु परेको थियो। तर, छोरीलाई घर परिवारमा छोडेर मेरो श्रीमान फेरि केही महिनाको निम्ति चीनमै फर्किनु पर्यो।

छोरीलाई त्यसरी छोडेको भएर होला, त्यसबेला उडेर आउँ कि गुडेर आउँ जस्तो भइरहन्थ्यो। 

छोरी त्यतिबेला ९ वर्षकी थिइन्। पहिले त कहिल्यै एक रात पनि छोडेकी थिइँन। उसलाई पनि चीनमा आफूसँगै लगेकी थिएँ। तर, म फर्किनु भन्दा ६ महिना अगाडि उसलाई उसको बाबासँगै पठाउनु पर्दा मलाई ज्यादै दुःख लागेको थियो। अहिलेसम्म पनि त्यो कुराले दुखाउँछ मलाई। त्यसले गर्दा जिन्दगीभर नै एक किसिमको खल्लोपन भएको छ। बच्चालाई कम्तीमा दश वर्षसम्म चैं आफ्नो बाबुआमासँगै राख्नुपर्ने रहेछ भन्ने लाग्छ।

नौ वर्षको उमेरमा छोडेको भए पनि छोरी एकदम बेखुसी थिइन्। उसलाई त्यो बेला भएको दु:खको परिपूर्ति त अहिलेसम्म पनि चुकाइरहेकी छु। उसलाई पनि कहिल्यै निको नहुने घाउ जस्तो भयो। मलाई पनि त्यस्तै भयो। यसरी हेर्दा अहिलेको नयाँ पुस्ता धेरै संवेदनशील हुँदै गएको जस्तो लाग्छ।  

कान्छी छोरी भएपछि ठूलीलाई झन् समय दिन सकिँन। हुन त उसले भनेर नै अर्को सन्तान जन्माउन राजी भएकी थिएँ। तर, बच्चाहरूलाई फेरि 'मलाई भन्दा बढी उसलाई माया गर्छ' भन्ने पनि लाग्दो रहेछ। त्यसबेला त सँगै भएर पनि उसलाई समय दिन नसकेको अनुभव हुन्छ। 

अहिले ठूली आफै डाक्टर भइसकेकी छिन्। उसको बिहे पनि भइसक्यो। कान्छी चैं यतै काम गर्छिन्। अहिले सोच्दा, म सफल आमा चैं होइन भन्ने लाग्छ। सन्तानको लागि राजनीतिबाट टाढा भए पनि एकजना सफल आमा चैं हुन सकिन’ भन्ने लाग्छ। जानेर वा नजानेर बच्चाहरूलाई मैले राम्रोसँग माया, स्याहार र समय दिन सकिन कि भन्ने लाग्छ।

तर अरू आमाहरूलाई कस्तो लाग्छ थाहा छैन।

सानोमा मेरो जिन्दगी पनि कठिन नै थियो। बुवा नभएको घरमा आर्थिक अभाव र अन्य अभाव हुने नै भयो। म आफैले साधारण जिन्दगी जिउन पाइँन भने सन्तानलाई कसरी दिनसक्छु जस्तो लाग्छ। तर, आफू आमा भएर हेर्दा  बच्चाहरूलाई अलि बढी समय दिन पाएको भए सबै कुरा राम्रो हुन्थ्यो कि भन्ने लागिरहन्छ। 

अब त त्यो समयमा फर्केर जान पनि मिल्दैन। सक्षम र विवेकी सन्तानका ‘आमा’ हुन पाएकोमा गर्व भन्ने लाग्दो रहेछ।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

२८ माघ, २०८०, २०:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।