संसदको महासचिवमा नियुक्त भए पद्यप्रसाद पाण्डेय

संसदको महासचिवमा नियुक्त भए पद्यप्रसाद पाण्डेय

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद सचिवालयको महासचिवमा पद्यप्रसाद पाण्डेय नियुक्त गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलले पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गर्दै महासचिवमा नियुक्त गरेका हुन्।

पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत मंसिर २५ गते महासचिवमा सिफारिस गरेका थिए।

अध्यक्ष तिमिल्सिनाको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिने हुँदा एमालेको चाहनाअनुसार तत्कालीन महासचिव भरतराज गौतमलाई राजीनामा गराएर पाण्डेयलाई सिफारिस गरिएको थियो। एमालेको रुची अनुसार सिफारिस गरिएको भन्दै राष्ट्रपति पौडेलले दुई महिना सिफारिस होल्ड गरेका थिए।

यसअघि एमालेले राष्ट्रपतिद्वारा संसदको महासचिव नियुक्तिमा चलखेल गरेको आरोप लगाउँदै आएको थियो।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा १० बमोजिम रिव्दिकोट गाउँपालिका – १, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको छ।’

२३ माघ, २०८०, १७:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।