‘गणतन्त्रमा छोरीचेली सुरक्षित हुन पाए, राजसंस्था भएको बेला त दरबार र सेनाबाटै असुरक्षित थिए’

‘गणतन्त्रमा छोरीचेली सुरक्षित हुन पाए, राजसंस्था भएको बेला त दरबार र सेनाबाटै असुरक्षित थिए’

काठमाडौं : ललितपुरका स्थानीय बद्री महर्जन भनिमण्डलमा बस्थे। साझँपख चोकतिर निस्किए। सधैँ हल्लाखल्ला हुने चोक सुनसान थियो। तरकारी र चिया बेच्ने व्यापारी, चिया गफसँगै भेटघाट गर्ने बटुवाहरू कोही थिएनन्। चोकमा पुगेका मात्र के थिए सेनाले बन्दुक तेर्साइहाल्यो। उनलाई झनक्क रिस उठ्यो कराएर भने, ‘आइज गोली हान’। यति भनेर उनी फरक्क आफ्नो बाटो फर्किए।

भोलिपल्ट पो चोक नजिकैको भट्टि पसलका साहुजीले भनेर थाहा पाए, उनको पछि-पछि सेना बन्दुक तेर्स्याउँदै आएको थियो। उनी फर्केर नगएको भए उनलाई सेनाले के गर्थ्यो यसै भन्न सकिन्नथ्यो। महर्जन भन्छन्, ‘सायद मार्थ्यो कि!’

२०५९ साल माघ १९ गते। तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक ‘कु’ गरेर निरंकुश शासनको शुरुवात गरे। मुलुकमा जारी सशस्त्र संर्घषलाई देखाएर उनले जनताका मौलिक अधिकार निलम्बन मात्रै गरेका थिएनन्, सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई राजनीतिक दलले बनाएको सरकारलाई अपदस्थ गरेका थिए। टोल-टोलमा नागरिक भन्दा सेना/प्रहरी बढी देखिन थाले।

राजाले कु गरेको एक दुई-दिन मात्रै भएको थियो महर्जन चोकतिर आएको। त्यहि बेला सेनाले बन्दुक तेर्स्याएको थियो उनलाई।

‘राजा हुँदा त कुन बेला कु गर्छन् र अधिकार खोस्छन् भन्ने पत्तै हुँदैनथ्यो,’ महर्जन सम्झन्छन्, ‘धन्न राजा गएर छिटो कु गर्न सक्ने शक्ति अहिले छैन।’

क्रिश्चियन धर्म, मूर्ति चोर र लागूऔषधको कुलतमा दरबार
पुल्चोकमा जन्मेका हुन् बद्री महर्जन। ललितपुरमै जन्मे, हुर्के अनि काम पनि त्यतै गरे उनले। अहिले हात्तीवनमा बस्छन्।  ज्यामी कामदेखि ठेक्कापट्टासम्म गरेका उनी अहिले भने जावालाखेल चोक र पाटन ढोका जानेतर्फ सानोतिनो क्याफे चलाइरहेका छन्। उनले पञ्चायतदेखि गणतन्त्र कालसम्म भोगे।

२०३६ सालमा विद्यार्थी आन्दोलन चर्कँदा उनी पनि विद्यार्थी नै थिए। खेती किसानी गर्ने परिवार भएका कारण उनको अधिकांश समय विद्यालयभन्दा खेतमै बित्थ्यो। ३६ सालमा उनी १३ वर्ष पुगेका थिए। विद्यार्थीको आन्दोलनले उनलाई पनि छोयो। कांग्रेसभन्दा कम्युनिष्टले आकर्षित गर्यो।

हालसम्म कुनै पनि दलको सदस्य समेत नभएका उनलाई कम्युनिष्टहरूले भन्ने गरेको ‘जनता र राष्ट्रप्रमुखको हैसियत बराबर हुन्छ’ भन्ने भनाइले छोयो अनि बहुदलवादी भए। ३६ सालमा उनले बहुदलको पक्षमा हिँडेनन् मात्र, ३७ सालमा भएको चुनावमा बहुदललाई नै मत दिए। बहुदलले हारे पनि उनी बहुदलवादी नै भइरहे।

पञ्चायतकालमा सेना र राजपरिवारको ज्यादती प्रत्यक्ष देखे उनले। एकपटक जावालाखेल चोकमै पूजा थियो। त्यो कार्यक्रमा राजपरिवारका सदस्यहरू पनि आएका थिए। त्यहाँ खुलेआम बाइबल बाँडिएको उनले प्रत्यक्ष देखे।

‘त्यतिबेला बहुदलवादी पत्रिकादेखि कम्युनिष्टका किताबसमेत खुलेआम बेच्न पाइँदैनथ्यो, प्रहरीले समात्थ्यो। बाइबल भने पाइन्थ्यो,’ उनले भने, ‘त्यतिबेला मलाई लाग्यो राजाले नै क्रिश्चियन धर्म फैलाउन सहयोग गरिरहेका छन्।’

उनी यत्तिकैमा रोकिएनन्, ‘नेपालमा सबैभन्दा धेरै मूर्ति चोरी कहिले भयो? तथ्याङ्क निकाल्नुभयो भने पञ्चायतकालमा देखिन्छ। अहिले त हराएका मूर्ति फिर्ता आएका छन्, राजाका पालमा धेरै मूर्ति हराएका थिए। के राजपरिवारको सहयोगविना करोडौं पर्ने मूर्ति चोरिन्छन्? घरमा भएको प्रतिबन्धित किताबसमेत खोज्दै जलाउने त्यतिबेलाको सरकारले मूर्ति चोर्न सहजै दिन्थ्यो होला र? जनताले आफ्नो देउता बेच्थे होलान् र?’

उनलाई लाग्छ, राजा चाहने मुर्खले हो। पञ्चायत नभोगेकाले हो। किनभने पञ्चायतमा होस् या राजाकालमा दिउँसै महिलाहरू हिँड्न सक्दैनथे। अधिराजकुमारहरूलाई बाटोमा हिँडिरहेका कोही महिला वा युवती मनपर्याे भने जबरजस्ती उनीहरूको अगाडि पुर्याउनैपर्थ्यो।

२०४८ सालको एउटा घटना सम्झिए महर्जनले। पुल्चोकको स्तूपमा अपरान्ह चार बजेतिर एक महिला हिँडिरहेकी थिइन्। एक सेनाले उनलाई दुर्व्यवहार गरे। स्थानीय युवाले देखेपछि सेनालाई त्यहिँ घेरेर प्रहरीमा बुझाए। तर, एसपीले ‘मास कम भएपछि सेनालाई छाडिदिनु’ भन्ने आदेश दिए। त्यो सुनेपछि स्थानीयले प्रहरी चौकीमै तोडफोड गरे।

उनले सम्झिए, ‘छोरीचेली त हिँड्नै हुँदैनथ्यो। दरबारको संरक्षण पाएका सेनाहरू दिउँसै छोरीचेलीमाथि हातपाथ गर्थे।’

सेनाले मात्रै होइन अधिराजकुमार धिरेन्द्र पाटन आएपछि युवतीहरू भित्र पस्थे। धिरेन्द्रलाई कोही युवती र महिला राम्री लाग्यो भने उनलाई जसरी पनि चाहिन्थ्यो।

ज्यामी काम गर्ने महर्जन स्वयम्भूतिर घर बनाउने काम गरिरहेका थिए। त्यो घरमा धिरेन्द्र आए। घरमा दुई छोरी थिए। घिरेन्द्र भित्र पसेपछि छोरीका बाउ उनलाई खुवाउनका लागि कुखुरा किन्न बाहिर बाहिर निस्कन्थे।

महर्जन भन्छन्, ‘माओवादीलाई एउटा कुरामा चाहिँ धन्यवाद दिनैपर्छ। गणतन्त्रमा छोरीचेली धेरै सुरक्षित भए। नत्र न अभिभावक भनिएकै दरबार र सुरक्षा दिने सैनिकबाटै असुरक्षित थिए छोरीहरू।’

मोजमस्तीमा भुल्दा शासनै गुम्यो
महर्जनका अनुसार नेवारी संस्कारमा राजाको ठूलो मान हुन्छ। राजालाई नै पूजा गर्नैपर्ने कतिपय पर्व हुन्छ। नेवारहरूले भगवान नारायणको अवतार मानेर राजालाई पूजा गरेका पनि हुन्, तर राजाले नेवारलाई धेरै दुःख दिए। पञ्चायतकालमा कम्युनिष्ट नेताहरू धेरै नेवारको घरमा लुक्थे। त्यही आशंकमा धेरै नेवार समुदायको घर जलाइएको महर्जनको भनाइ छ।

‘भक्तपुरको एक घरमा मनमोहन अधिकारी लुकेर बस्नुभएको भनि सरकारले जलायो,’ उनले भने, ‘त्यो घरमा उहाँ बस्नुभएकै थिएन, त्यस्तो घटना त कति घट्यो कति।’

त्यो बेला जावालाखेल क्षेत्रमा तत्कालीन युवराज दिपेन्द्र र शाहज्यादा पारस शाहनिकट ‘किस ग्याङ’ थियो। जसमा पूर्व सैनिकका छोराहरू हुन्थे। उनीहरू स्केटिङ्ग खेल्ने, चर्को हर्न बजाएर गाडी कुदाउने अनि कहिलेकाहिँ चोकमा भेला भएका युवाहरूलाई छुरासमेत हान्थे। त्यति गर्दा पनि उनीहरूलाई कारवाही हुँदैनथ्यो।

दिपेन्द्र त दिनको दुई पटक ललितपुर पुग्थे, सेन्ट म्यारिज र अर्काे एक स्कुलको विद्यार्थी जिस्काउन। महर्जनलाई राजसंस्था अरुको कारणले नभइ राजपरिवारकै मान्छेले गर्दा समाप्त भएको भन्ने लाग्छ।

उनी भन्छन्, ‘लागूऔषध फसेका उनीहरू यौनपिपासु पनि थिए। मूर्ति चोर्नेमा पनि उनीहरू संलग्न भए। आफ्नो संस्कृतिको संरक्षण उनीहरूबाट कहिल्यै भएन। मोजमस्तीमा भुले उनीहरू अनि कसरी टिकोस् त राजसंस्था।’

नेता राजा बन्न खोजे
गणतन्त्रमा नागरिकले सुरक्षित महसुस गरे पनि नेताको प्रवृत्ति राजाकै जस्तो भएकोमा महर्जनको चित्त दुखाइ छ। सुन तस्करी पञ्चायतमा पनि भएको उनी बताउँछन्।

महर्जनका अनुसार भरत गुरुङ, डीबी लामाको ग्याङले यो काम गर्थ्यो। गुरुङले पहिले दरबारको लागि सुन तस्करी गर्थे। पछि आफ्नो लागि पनि गर्न थालेपछि कुरा बाहिर आएको उनी बताउँछन्।

सुन तस्करी जस्ता कामलाई अहिले पनि नेताले गर्ने गरेकोमा उनलाई हिजो र आज नागरिकले फरक महसुस हुने गरी कामै नभएको बताउँछन्। गम्भीर अपराधीलाई आम माफी दिने, भ्रष्टाचारका कारण जेल सजाय काटेर जेलबाट निस्केकालाई फूलमाला लगाएर स्वागत गर्ने, आफ्ना कार्यकर्ताले अपराध गरेपनि जोगाउने प्रवृत्ति गलत भएको बताउँछन्।

उनी भन्छन्, ‘चोकमा निस्कन डराउनुपर्दैन। विदेश जान पासपोर्ट बनाउन कसैको सिफारिस चाहिँदैन, छोरी चेली सुरक्षित छन्, यद्यपि अझै पनि राजावादी र हैकमवादी चिन्तन भने हटेको छैन। गणतन्त्रमा जति पारदर्शी हुनुपर्ने हो त्यति छैन। राजसंस्था हटेपनि हैकमबाद हटेन। यो त गणतन्त्रलाई सुहाउँदैन नि!’

१९ माघ, २०८०, १०:५८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।