शीत भण्डारमै कुहियो ६३ मेट्रिक टन सुन्तला

शीत भण्डारमै कुहियो ६३ मेट्रिक टन सुन्तला

बुटवल : अर्घाखाँचीको पाणिनीमा बिक्री गर्नका लागि शीत भण्डारमा राखिएको सुन्तला कुहिएको छ। पाणिनी–२ पोखराथोकको शीत भण्डारमा राखिएको ६३ मेट्रिक टन सुन्तला कुहिएको हो।

त्यहाँका किसानले फागुनमा बिक्री गर्न भन्दै पोखराथोकमा रहेको शिवशक्त शीत भण्डारमा ९० मेट्रिकटन सुन्तला राखेका थिए। किसानहरू रेवतीराज पौडेल, मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल र खगेन्द्र पौडेलको गरी ९० मेट्रिकटन सुन्तला शीतभण्डारमा राखेकोमा ६३ मेट्रिक टन सुन्तला कुहिएको रेवतीराज पौडेलले बताए।

उनले शीत भण्डारमा राखेको १ महिनामै सुन्तलामा नीलो र हरियो ढुसी लागेको बताए।

उनका अनुसार मानबहादुर श्रेष्ठको साढे ४७ टन, चिरञ्जीवीको १६ टन, खगेन्द्रको साढे ७ टन, र आफ्नो साढे १८ टन सुन्तला ढुसी लागेर कुहिएको छ।

३ सय मेट्रिक टन क्षमताको शीत भण्डारमा उक्त सुन्तला राख्नुअघि किसानले आलु राख्दै आएका थिए। किसानको सुन्तला कुहिएर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कृषि विज्ञ सहितको टोलीले शीत भण्डारको स्थलगत अवलोकन गरी अनुसन्धान थालेको छ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले अहिले यस बारेमा अनुसन्धान भइरहेको बताए। प्रारम्भिक अनुगमनका क्रममा यसअघि शीत भण्डारमा रहेको ढुसी पूर्ण रुपमा सफाइ नगरी सुन्तला राख्दा सुन्तलामा ढुसी लागेर कुहिएको उनको भनाइ छ।

उनले सुन्तला कुहिएर नष्ट हुँदा किसानलाई आर्थिक मर्का परेको भन्दै प्रदेश सरकारलाई सिफारिस गर्न लागिएको बताए।

अनुसन्धानमा खटिएका नार्कका वरिष्ठ वैज्ञानिक उमेशचन्द्र आचार्यले पनि पुरानो ढुसी सफा नगरी सुन्तला शीत भण्डारमा राख्दा सुन्तला कुहिएको बताए।

‘शीत भण्डारमा हरियो र नीलो दुई प्रकारको ढुसी फैलिएको समेत देखियो। यसलाई पहिले नै सफा गरेर राखेको भए यो समस्या आउने थिएन’ उनले भने।

शिवशक्ति मिश्रित किसान समूहका अध्यक्ष समेत रहेका रेवतीराज पौडेलले यसअघि पनि शीत भण्डारमा राखिएको सुन्तलामा ढुसी लागेको बताए।

‘यसअघि पनि यस्तै भएपछि हामीले विज्ञलाई लिएर भण्डारण गर्ने तरिका सिकेका थियौँ। अहिले पनि त्यही अनुसार नै भण्डारण गरिएको हो। तर, कुहियो’ उनले भने।

पाणिनी गाउँपालिकाबाट हरेक बर्ष ३० बढीको सुन्तलाको कारोबार हुँदै आएको छ। पाणिनी गाउँपालिकाको पणेना क्षेत्र र वडा नम्बर १ सिम्लेमा मात्र सुन्तला खेती गर्ने ४९ जना किसान छन्। त्यस बाहेक पोखराथोक, पटौटी, मैदान लगायतका गाउँहरूमा पनि सुन्तला खेती हुँदै आएको छ।

१६ माघ, २०८०, १५:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।