बुटवलका सात विद्यार्थीले २० दिनमै बनाए ‘गार्वेज मेसिन’, मूल्य भारतीय मेसिनको भन्दा आधा

बुटवलका सात विद्यार्थीले २० दिनमै बनाए ‘गार्वेज मेसिन’, मूल्य भारतीय मेसिनको भन्दा आधा

बुटवल : रूपन्देहीको बुटवल उपमहानरपालिका-१२ मा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले ‘गार्वेज मेसिन’ बनाएका छन्। ‘गार्वेज मेसिन’ले प्लाष्ट्रिकका बोत्तल, ड्रम, टिनका बट्टालाई कम्प्रेस गरेर त्यसको आयतन घटाउँछ।

विद्यार्थीहरूले बनाएको यो हेवी मेसिन यस क्षेत्रमै पहिलो भएको शिक्षालयको दाबी छ। यसअघि प्रोजेक्ट वर्कको क्रममा विद्यार्थीहरूले टपरी बनाउने मेसिन बनाएका थिए।

अहिले विद्यार्थीहरू विनोद पौडेल, सम्राट बस्याल, शसिल चौधरी, सुवास पुरी, अमुल भट्टराई, मनिष थारु र अनुप घिमिरेको टिमले ‘गार्वेज मेसिन’ बनाएका हुन्।

शिक्षालयका शिक्षालय प्रमुख नविन किशोर गैरेले आफ्ना विद्यार्थीहरूले अध्ययनकै क्रममा गर्ने प्रोजेक्टअनुसार गार्वेज मेसिन बनाएको र यसमा स्कुलकै सामानहरू प्रयोग भएको बताए।

‘यो मेसिन बनाउन सबै विभागका विद्यार्थीहरू सामेल भएका छन्। उनीहरूको लगनशिलता, क्षमताले नै यो २० दिनमा तयार भएको हो’, उनले भने।

गार्वेज मेसिनले १५० टनको बलमा बस्तुलाई च्याप्छ र त्यसको आयतनलाई सानो बनाउँछ। खासगरी यो मेसिन फोहोर प्रशोधन केन्द्रमा बढी प्रयोग हुन्छ। शिक्षालय प्रमुख गैरेले विद्यार्थीहरूले बनाएको यो मेसिन सन्धिखर्क नगरपालिकामा जाने बताए।

स्थानीय तहहरूले फोहोर प्रशोधनमा प्रयोग गर्ने यो मेसिन भारतबाट आउने गर्दथ्यो। भारतीय बजारमा यो मेसिनको मूल्य २० देखि २५ लाख रुपैयाँसम्म पर्छ। विद्यार्थीहरूले बनाएको यो मेसिनमा भने साढे ११ लाख मात्र लगानी भएको शिक्षालय प्रमुख गैरेले बताए।

‘यदि कुनै पनि पालिकालाई यो मेसिनको आवश्यकता छ भने हामीले बनाएर दिन सक्छौँ। भारतबाट खरिद गर्नुपर्ने भन्दा करिव आधा सस्तो पनि पर्न जान्छ। नेपाली विद्यार्थीहरूको आत्मबल पनि बढ्छ’, उनले भने।

मेसिन निर्माणकर्ता मध्येका एक अनुप घिमिरेले यसअघि टपरी बनाउने मेसिन बनाएपछि आफूहरू उत्साहित भएको र त्यहि उत्साहले अहिलेको मेसिन बनाएको बताए। अर्का विद्यार्थी विजय पौडेलले यो मेसिन निर्माणमा शिक्षकहरूको निर्देशनका साथै विद्यार्थीहरूको मेहनत, दुःख र श्रम प्रयोग भएको बताए।

आफूहरूले गरेको प्राजेक्ट सफल रूपमा परीक्षण गर्न पाउँदा गौरव महशुस भएको भन्दै उनले अब यो मेसिन बनाउँदा अहिलेजस्तो धेरै समय नलाग्ने बताए।

शिक्षालयका रोजगार शाखा प्रमुख निरज तिवारीले कार्यालयमा यस्ता मेसिन बनाउन स्पेसिकेशन बनाउन निवेदनहरू आउने र त्यहि क्रममा सन्धिखर्कबाट समेत यो मेसिनका लागि निवेदन आएपछि विद्यार्थीहरूलाई बनाउन लगाइएको बताए।

उनले फाइनल परीक्षाका प्रोजेक्टका रूपमा यो उत्पादन तयार गरेको बताए।

शिक्षालयका मेकानिलक डिपार्ट प्रमुख जनक भण्डारीले विद्यार्थीले यसअघि बनाएको टपरी बनाउने मेसिन पाल्पाको माथगढी गाउँपालिकाले खरिद गरेको बताए। माथगढीले तीनवटा र देवदह नगरपालिकाले तीनवटा मेसिन लगेका छन्।

विभिन्न साईजका डाई प्रयोग गरेर निर्माण गरिने टपरी बनाउने मेसिन अर्डर आउनेबित्तिकै विद्यार्थीहरूले निर्माण गरी बिक्री गर्दै आएको उनले बताए।

‘हामीले अब गार्वेज मेसिनको अर्डर आएमा पनि बनाएर दिन्छौँ। यो सफल परीक्षण भएको छ। केही समयमै यो सन्धिखर्कमा इस्टोलेशन हुन्छ’, उनले भने।

त्यस्तै नेपालमा प्रयोग भैरहेको ट्राफिक बत्तीमा इलेक्ट्रोनिक्स कम्पोनेन्टको प्रयोग बढी भैरहेको अवस्थामा सोही शिक्षालयका विद्यार्थीहरूले इलेक्ट्रिकल कम्पोनेन्टको प्रयोग गरेर नेपालमा पहिलो सडक बत्ती निर्माण गर्दैछन्। विद्यार्थीहरू श्रीजन खत्री र सुशिल आचार्यको सक्रियतामा यो प्रोजेक्ट तयार हुँदैछ।

शिक्षालय वि.सं.२०६९ सालदेखि ३ वर्षीय डिप्लोमा तह बहुप्राविधिक तालिम सञ्चालन गर्दै आएको छ। प्राविधिक शिक्षामा उत्कृष्ट बनेको शिक्षालयमा ९०० विद्यार्थी अध्ययनरत छन्। शिक्षालय केही समयअघि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा प्राविधिक विद्यालय तर्फ नेपालमै प्रथम भएर पुरस्कृत समेत गरिसकेको छ।

प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजासहित १ लाख रूपैयाँ नगद सहित पुरस्कृत भएको थियो।

शिक्षालयमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स, मेकानिकल, अटो मोबाइल, रेफ्रिजेरेसन एण्ड एयरकन्डीसन र आईटी अध्ययन हुने गर्दछ।

१३ माघ, २०८०, १२:२१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।